+
+
Shares

कांग्रेस र एमालेवीच आपसी सहकार्य गर्ने ३ बुँदे सहमति (पूर्णपाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २२ गते १९:४५

२२ मंसिर, काठमाडौं । संविधानसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले आपसमा मिलेर अघि बढ्ने सहमति गरेका छन् । साथै एमाओवादी लगायतका अन्य राजनीतिक दलहरुसँग पनि सहमतिका लागि तत्काल वार्ता गर्ने दुईदलीय सहमति भएको छ ।

sushil-and-jhalanathराजधानीमा शनिबार साँझ सम्पन्न कांग्रेस र एमालेका शीर्ष नेताहरुको वार्ताले वर्तमान राजनीतिक अभिभारा पूरा गर्न मिलेर अघि बढ्ने सहमति भएको हो । वार्तापछि कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालद्वारा हस्ताक्षरित ३ बुँदे सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ-‘संविधानसभाको निर्वाचनमा प्राप्त परिणामलाई सम्मान गर्दै नेपाली कांग्रेस र नेकपा एमाले वर्तमान राजनीतिक अभिभारालाई सरलताका साथ पूरा गर्न आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भयो ।’

राष्ट्रपतिको नयाँ निर्वाचनलगायतका शक्ति बाँडफाँडमा के कुरा भयो ? भन्ने प्रश्नमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले त्यसबारे अहिले छलफल नभएको जानकारी दिनुभयो । एमालेका महासचिव ईश्वर पोखरेलले पनि सत्ता गठबन्धनबारे अहिले कुनै निर्णय नभएपनि दुई ठूला दल सँगसँगै अघि बढ्न औपचारिक सहमतिमा पुगेको बताउनुभयो ।

कांग्रेस र एमालेले एमाओवादीसँग छलफल गर्ने

दुई दलले राजनीतिक समस्या समाधान गरी अघि बढ्नका लागि एमाओवादी लगायतका दलसँग तत्काल वार्ता गर्ने निर्णय गरेका छन् । ३ बुँदे सहमतिपत्रको तेस्रो बँदामा भनिएको छ- ‘एकीकृत नेकपा माओवादीलगायतका सबै राजनीतिक दलहरुसँग सहमतिका लागि वार्ता र सम्वाद तत्काल प्रारम्भ गर्ने निर्णय गरियो ।’ नेताहरुका अनुसार भोलि आइतबार कांग्रेस र एमालेले छुट्टा छुट्टै एमाओवादीसँग छलफल गर्नेछ । विहान ८:३० बजे कांग्रेस नेताहरुले र १० बजे एमाले नेताहरुले प्रचण्डसँग छलफल गर्ने कार्यक्रम छ ।

एमाओवादीले चुनावमा धाँधली भएको भन्दै स्वतन्त्र छानविनको माग गरेको छ । छानविन आयोग गठन र सहमतिबाटै संविधान जारी गर्ने गरी संविधान संशोधन नभएसम्म संविधानसभामा नजाने भन्दै एमाओवादीले साना दलहरुसँग मिलेर मोर्चा समेत बनाउँदैछ ।

चुनाव निश्पक्ष भएको ठहर

एकीकृत नेकपा माओवादीलगायतका दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला नेपाली कांग्रेस र एमालेले भने निर्वाचन निश्पक्ष, शान्तिपूर्ण र स्वतन्त्ररुपमा सम्पन्न भएको निश्कर्ष निकालेका छन् । ‘२०७० साल मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचन आमरुपमा स्वतन्त्र, शान्तिपूर्ण र निश्पक्ष रुपले सम्पन्न भएकोमा सबैपक्षलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।’ वार्तापछि कोइराला र खनालद्वारा हस्ताक्षरित ३ बुँदे निर्णयमा भनिएको छ ।

को-को थिए वार्तामा ?

निर्वाचन सकिएपछि राष्ट्रपतिका विषयमा मत बाझाबाझ गर्दै आएका दुई प्रमुख दलवीच थप असमझदारी बढ्न लागेका बेला शनिबार अकस्मात् वार्ता भएको हो । शान्ति कोषको सचिवालयमा आयोजित वार्तामा कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा कोषाध्यक्ष चित्रलेखा यादव सहभागी हुनुहुन्थ्यो ।

एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी तथा महासचिव ईश्वर पोखरेल वार्तामा सहभागी हुनहुन्थ्यो । एमाले वार्ता टोलीका सदस्य केपी ओली भने वार्तामा सहभागी हुनुहुन्थेन ।

यस्तो छ सहमतिको पूर्ण विवरण

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षस्थ नेतावीच २०७० मंसिर २२ गते सम्पन्न भएको वार्तामा निम्न निर्णयहरु गरियो

१. २०७० साल मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचन आमरुपमा स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्णरुपले सम्पन्न भएकोमा सबैपक्षलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।

२. संविधानसभाको निर्वाचनमा प्राप्त परिणामलाई सम्मान गर्दै नेपाली कांग्रेस र नेकपा एमाले वर्तमान राजनीतिक अभिभारालाई सरलताका साथ पूरा गर्न आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भयो ।

३. यसैक्रममा एकीकृत नेकपा माओवादीलगायतका सबै राजनीतिक दलहरुसँग सहमतिका लागि वार्ता र सम्वाद तत्काल प्रारम्भ गर्ने निर्णय गरियो ।

सुशील कोइराला

सभापति, नेपाली कांग्रेस

झलनाथ खनाल

अध्यक्ष, नेकपा एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?