पुष्प दुलाल
१९ पुस, काठमाडौं । उद्योगपति एवं पूर्वसभासद राजेन्द्रकुमार खेतानले एभरेष्ट इन्स्योरेन्सबाट ६ करोड रुपैयाँको उधारो बीमा गराई त्यसको दाबी भुक्तानी लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुष्टि गरेपछि विहीबार चारजना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला महान्यायाधिवक्ताको कार्यालय काठमाडौंले एभरेष्ट इन्स्योरेन्सको ठगी काण्डमा संलग्न ४ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सीआईबीले प्रमाणसहित सरकारी वकीलको कार्यालयमा पेस गरेपछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका महान्यायाधिवक्ता रमेश पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
बीमा समितिले हस्तक्षेप गरी पठाएको नयाँ व्यवस्थापनले तत्कालीन अध्यक्ष खेतानले उधारो बीमा गराई दाबी भुक्तानी लिएर ठगी गरेको भन्दै सीआइबीमा खेतानविरुद्ध यसअघि नै उजुरी परेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधबार अढाइ करोड रुपैयाँ ठगी गरेको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठसहित ४ जनाविरुद्ध मुद्दा दायर गर्न सरकारी वकिलकहाँ पठाएको थियो ।
श्रेष्ठसहित वित्त महाप्रबन्धक अनिल ढुंगेल, लेखा परीक्षकद्वय जगदीश अग्रवाल र अशोक अग्रवाल विरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो । अभियुक्तहरुले व्यवसाय प्रवर्द्धन गर्ने नाममा खर्च भएको भन्दै फर्जी बिल बनाई अढाइ करोड रुपैयाँ भुक्तानी लिएको आरोप छ ।
पटक-पटकका निर्देशन पालना नगरेपछि बीमा समितिले तत्कालीन अध्यक्ष खेतान र प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई २०६९ मा पनि कारवाही गरेको थियो । तर, त्यसपछि पनि व्यवहारमा सुधार नभएको भन्दै समितिले विगत डेढ महिनादेखि हस्तक्षेप गरी कम्पनीको व्यवस्थापन सम्हालेको छ ।
खेतानले कसरी ठगे ?
हिमालयन स्न्याक्समा भएको आगलागीमा बीमा नै नगराई ४ करोड रुपैयाँ दाबी भुक्तानी लिनुभएका खेतानले त्यसबाहेक विभिन्न मितिमा १ करोड ९७ लाख रुपैयाँ ठगी गरेको भेटिएको बताइएको छ । ‘खेतानले एभरेष्ट इन्स्योरेन्सबाट सन् २००६ देखि ०१२ सम्ममा हिमालयन स्न्याक्सबाहेक अन्यमा पनि बीमालेखको पैसा नतिरी १ करोड ९७ लाख रुपैयाँ गैरकानूनीरुपमा लिएको देखिन्छ ।’ सीआइबीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । खेतानले बीमालेखबापत तिर्नुपर्ने ३६ लाख ३७ हजार ५ सय ३५ रुपैयाँ नतिरी भुक्तानी लिएको भेटिएको हो ।
३ हजार सर्वसाधारणको भुक्तानी पेन्डिङमा रहेको बेला खेतानले भने बीमा शुल्क नै नतिरी लिएको बीमालेखमा दाबी गरेको भोलिपल्टै भुक्तानी लिनुभएको थियो । बीमा समितिको अनुमति नलिई सर्भेयर नियुक्ति गरिएको र सर्भेयर गर्दा विदेशी र स्वदेशी सर्भेयरले संयुक्तरुपमा सर्भे गर्नुपने भए पनि विदेशिलाई मात्रै सर्भे गराई जुलाई २८मा २ एकैपटक दुई करोड र अगष्ट ८ र १८ मा १/१ करोड रुपैयाँ भुक्तानी लिनुभएको थियो । उता सर्भेयरले जुलाई ३० गतेमात्रै सर्भे रिपोर्ट तयार पारेको थियो । सर्भे रिपोर्ट तयार हुनुभन्दा दुई दिन अघि नै खेतानले भुक्तानी लिएको भेटिएको हो ।
उम्किँदैनन् खेतान
एभरेष्ट इन्स्योरेन्सका तत्कालीन अध्यक्षसमेत रहनुभएका उद्योगपति राजेन्द्रकुमार खेतानले ठगी गरेको भेटिएकाले कुनै पनि हालतमा उम्किन नसक्ने सीआईबी स्रोतको दाबी छ । ‘अनुसन्धानका क्रममा खेतानले ठगी गरेका प्रमाणहरु भेटिएका छन्, उनी उम्कने चान्स नै छैन’ सीआइबी स्रोतले भन्यो ।
खेतान विरुद्ध किटानी जाहेरी परिसकेको हुनाले प्रहरीमा बयान दिन नआए उनीविरुद्ध स्वतः मुद्दा चल्ने छ । ‘किटानी जाहेरी परिसकेपछि उपस्थित भएर बयान दिनै पर्छ ।’ सीआईबी स्रोतले भन्यो -‘खेतान उपस्थित भएनन् भने उनीविरुद्ध स्वतः मुद्दा चल्छ ।’
उजुरीको ब्यहोरा :
प्रतिक्रिया 4