Comments Add Comment

एमालेले कांग्रेसलाई भन्यो-तत्काल सरकार छाड्दैनौं

१९ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारबाट हट्ने धम्कीबारे एमाले शीर्ष नेतृत्वसँग प्रश्न गरेको छ । तर, एमालेले भने सरकारबाट हट्ने कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ ।

फाइल फोटो
फाइल फोटो

मंगलबार साँझ सत्तारुढ कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले सरकारबाट हट्ने चेतावनीबारे जिज्ञासा राखेका थिए ।

जवाफमा एमाले नेताहरुले सरकारबाट हटिहाल्ने कुनै निर्णय नगरेको बताएका छन् । ‘हामी सरकारमा आएको संविधान बनाउने हो । संविधान निर्माणको काम अघि बढ्दैन भने सरकारमा बसिरहनु के औचित्य भन्ने दृष्टिकोण मात्र बनाएका हौं’ एमाले उपाध्यक्ष भीम रावलले अनलाइनखबरसँग भने-‘सरकारबाट हट्ने निर्णय नै गरेको होइनौं भनेका छौं ।’

एमाले स्थायी कमिटीको सोमबारको बैठकमा कांग्रेससँगको सहकार्यबारे प्रश्न उठेको थियो । बैठकले संविधान निर्माण प्रक्रिया अघि अघि नबढाए सरकारबाट हट्नेसम्मको चेतावनी दिएको थियो ।

लगतै मंगलबार विहान बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले भने सरकारबाट हट्ने धम्कीबारे एमाले नेतृत्वसँग सोध्ने निर्णय गरेको थियो ।

वार्तामा आउन विपक्षी मोर्चालाई आहृवान

सत्तारुढ कांग्रेस र एमालेले विपक्षी एमाओवादी मोर्चालाई वार्तामा आउन पुनः आहृवान गरेको छ । बैठकले विपक्षी मोर्चासँगको वार्तालाई तिब्रता दिने निर्णय समेत गरेको छ । ‘छिटोभन्दा छिटो वार्ता प्रक्रियामा आउन र संविधान निर्माण अघि बढाउन विपक्षी दलहरुलाई आहृवान गरेका छौं’ एमाले उपाध्यक्ष रावलले भने ।

बैठकले संविधानसभाको बैठक चाँडै बोलाउन संविधानसभा अध्यक्षलाई आग्रह समेत गरेको छ । सत्तारुढ दलहरुले बढीमा चैत १ गतेसम्म मात्र विपक्षी मोर्चासँग सहमतिको प्रयास गर्ने रणनीति बनाएको छ ।

माघ ११ गते प्रश्नावली समिति बनेपछि सत्तारुढ र प्रतिपक्षी दलहरुबीच औपचारिक रुपमा सम्वाद भएको छैन । सहमतिको प्रयासमा संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थागित भएपनि प्रमुख दलहरबीच औपचारिक सम्वाद सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment