Comments Add Comment

नेपालले भारतबाट तत्काल खोप पाउन असम्भव

५ जेठ, काठमाडौं । नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ ।

भारतले यो वर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर आइरहेका बेला त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले एक विज्ञप्ति जारी गरी अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने प्रष्ट पारेको छ ।

‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं,’ सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले मंगलबार बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।’

सिरम इन्सटिच्युटको विज्ञप्ति

नेपालको खोप अभियान मूलतः भारतीय खोपमा निर्भर थियो । नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्ड भ्याक्सिन खरिदका लागि अग्रिम रकम भुक्तानी गरे पनि भारतमा दोस्रो लहर सुरु भएपछि तालिकाअनुसार खोप पाउन सकेको थिएन । खोप खरिदका लागि नेपालले भारतसमक्ष कूटनीतिक पहल जारी राखेको भए पनि अझै केही महिना भारतले निर्यात गर्न असमर्थ हुने प्रष्ट भएको छ ।

योसँगै नेपालले आफ्नो खोप अभियानलाई तीव्रता दिने हो भने भारतीय खोपको विकल्पमा तत्कालै काम गर्नुपर्ने छ । तर, स्वास्थ्य मन्त्रालयले चीन र रुसबाट खोप खरिद गर्ने प्रकृया अहिलेसम्म सुरु गरेको छैन । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लगाउन सुरु भइसके पनि थप डोज खरिदका विषयमा प्रकृया अगाडि बढ्न सकेको छैन । रुसी खोप स्पुतनिकलाई नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिइसके पनि खोप खरिद प्रकृया भने अगाडि बढ्न सकेको छैन ।

भारतले निर्यात बन्द गरेकै कारण कोभ्याक्स अन्तर्गत अनुदानमा पाउन सकिने खोप पनि तत्काल नेपालले पाउने सम्भावना छैन ।

सरकारका अधिकारी के भन्छन् ?

कोरोना भाइरसको संक्रमणबाट जोगिने एकमात्र उपाय भनेको खोप नै हो भनेर विज्ञहरुले भनिरहेको बेला नेपालको ठूलो जनसंख्या खोपबाट बन्चित छ । खोपबारे अन्योल हुँदा पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकहरुले दोस्रो डोज कहिले पाउने भन्ने पनि निश्चित छैन ।

भारतले नेपाल लगायतका देशलाई तत्काल खोपको आशा नगर्नू भन्दै अनौपचारिक जानकारी गराइसकेको बताइन्छ । तर, अहिलेसम्म नेपाल सरकारले यसबारे केही बोलेको छैन ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिंह तिंकरी भने खोपका लागि पहल भइरहेको बताउँछन् । उनले भने, ‘खोपका लागि हामीले पहल गरिरहेका छौं । परराष्ट्र मन्त्रालय र राजदूतावासमार्फत् कुराकानी भइरहेको जानकारीमा आएको छ ।’

सिरम इन्सटिच्युटको खोप अन्य कम्पनीको भन्दा सस्तो भएकाले सकेसम्म त्यसकै खोप ल्याउन जोड गरिरहेको उनको भनाइ छ । यद्यपि विकल्पको रुपमा नेपालमा अनुमति प्राप्त खोप उत्पादक चार वटै कम्पनीलाई पत्र लेखेर विस्तृत विवरण माग गरिएको तर प्रत्युत्तर नआएको उनले जानकारी दिए ।

‘भारतबाहेकका देशबाट खोप खरिदको प्रयास’

परराष्ट्र मन्त्रालय स्रोतले पनि चीन र अन्य मुलुकबाट खोप खरिदका लागि पहल भइरहेको जनाएको छ । परराष्ट्र स्रोतले भन्यो, ‘हामीले खोपका लागि विभिन्न मुलुकलाई पत्राचार गरिरहेका छौं । विदेशमा गरेका हाम्रा नियोगहरुलाई पनि पहल गर्न सर्कुलर गरेका छौं । भारतबाहेक चीन र अन्य मुलुकबाट खोप खरिदको लागि कुराकानी भइरहेको छ ।’

स्रोतका अनुसार चीनबाट २० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइएको छ । रसियासँग पनि कुराकानी भइरहेको छ तर रसियाले तत्कालै कति खोप उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा स्पष्ट जवाफ दिएको छैन । त्यसैले रसियाबाट तत्काल खोप आउने सम्भावना देखिएको छैन ।

सरकारी अधिकारीहरुले विभिन्न च्यानल मार्फत अमेरिकी अधिकारीहरुसँग पनि कुराकानी भइरहेको बताउँछन् । अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी अधिकारीहरुसँग र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग कुराकानी गरिरहेको स्रोतले बतायो ।

अमेरिकाले आगामी ६ सातामा विभिन्न मुलुकहरुलाई आठ करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । यद्यपि कुन–कुन मुलुकलाई दिने भन्ने विषय स्पष्ट भइसकेको छैन ।

भारत सरकारबाट अनुदानमा आएको १० लाख, सीरम इन्स्टिच्युटसँग किनेको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान ‘कोभ्याक्स’ सुविधाबाट उपलब्ध भएको तीन लाख ४८ हजार गरी नेपालमा हालसम्म २३ लाख ४८ हजार कोभिशील्ड खोप नेपाल भित्रिएको छ । त्यसमध्ये १६ लाख मात्रा प्रयोग भएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख तिंकरी बताउँछन् । नेपालले सिरमसँग खरिद सम्झौता गरिसकेको थप १० लाख डोज खोप नआए गाह्रो पर्ने तिंकरीले बताए ।

नेपालमा २०७७ माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । हाल चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज भेरोसेल खोपको दोस्रो डोज दिने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment