+
+
Shares

न्यायपालिकामाथि भरोसा कायम राख्नु हाम्रो दायित्व हो : प्रधानन्यायाधीश राउत

रासस रासस
२०८२ कात्तिक २० गते १८:४१

२० कात्तिक, पाटन (ललितपुर) । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताएका छन् ।

ललितपुर बार एशोसिएसनको सभाहलमा भएको पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी कार्यविधि कानुन ‘सिद्धान्त र व्यवहार’ नामक तेस्रो कृतिको सार्वजनिकीकरण समारोहमा मन्तव्य राख्नुहुँदै प्रधानन्यायाधीश राउतले भने, ‘आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालनमा आउनेछ, अदालतप्रतिको जनआस्था वृद्धि गराउन फैसलामा विधिशास्त्र हुनुपर्छ मात्रै हैन, यसलाई छिटो र सहज रुपमा दिने व्यवस्था पनि कार्यान्वयनमा आउनुपर्छ ।’

प्रधानन्यायाधीश राउतले पुस्तक लेख्ने र अनुभवलाई समेट्ने अवसर सबैलाई रहेकाले त्यसलाई समात्न सक्नुपर्नेमा जोड दिए । ‘विद्धान लेखकको गहन अध्ययन, अनुसन्धानबाट महत्वपूर्ण पुस्तक प्राप्त भएको छ, निष्ठा र अनुभवले खारिएको व्यक्तिले लेखेको पुस्तक अत्यन्तै गहकिलो छ, पुस्तक पढ्न जति सजिलो हुन्छ, लेख्न त्यति सजिलो छैन,’ उनले भने ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले देवानी न्यायसम्पादन प्रणालीलाई यस पुस्तकले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै न्याय क्षेत्र र प्रणालीको सुधारका लागि उत्कृष्ट कृति हुने विश्वास व्यक्त गरे ।

मुख्यन्यायाधीश कुँवरले न्यायालयप्रति जनआस्था बढाउन र न्यायसम्पादनका प्रक्रियालाई सम्बोधन गर्न यस पुस्तकले सहयोग गर्ने धारणा राखे ।

नेपाल बार एशोसियसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायप्रणालीबाट देवानी प्रकृतिका न्यायसम्पादन छिटोछिटो हुने अवस्था नरहेको अवस्था सुधारका लागि र छिटो मुद्दाको किनारा लगाउनका लागि जटिलतालाई सहजीकरण गर्न यस पुस्तकले योगदान पुर्‍याउने बताए ।

पुस्तकका लेखक एवं उच्च अदालतका पूर्वन्यायाधीश द्वारिकामान जोशीले देवानी मुद्दामा धेरै मुद्दाहरु असफल भएका, धेरै मुद्दामा प्रमाण नपुग्ने अवस्थामा गलत व्यक्तिले पनि न्याय प्राप्त गरेको कतिपय अवस्था रहेका सन्दर्भमा कानुनी सहजताका लागि विद्वतवर्गको मागअनुसार पुस्तकको प्रकाशन गरिएको जानकारी गराए ।

उनले पुस्तकमा धेरै विषयवस्तु समावेश भएको बताउँदै बजारको आवश्यकताअनुसार यो पुस्तक उपयोगी र फलदायी हुने विश्वास व्यक्त गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले र पूर्वन्यायाधीशद्वारा लिखित यस पुस्तक सहज र स्पष्ट रुपमा लेखिएको बताउँदै यसमा गहन विषयवस्तु समेटिएको धारणा राखे ।

उनले सरल र मिठासपूर्ण शैलीमा लेखिएको यस पुस्तकबाट नवप्रवेशी कानुन व्यवसायीलगायत दिग्गज पुराना कानुन व्यवसायी, कानुनका विद्यार्थीलगायतलाई महत्त्वपूर्ण लाभ मिल्ने जानकारी गराए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?