+
+
Shares

कांग्रेस महाधिवेशन : चुनावअघि भ्याइन्छ कि भ्याइन्न भन्ने गलफतीमै बित्यो डेढ महिना

संस्थापन पक्ष भने चुनाव अघि महाधिवेशन गर्न भ्याइन्न भन्दै जिद्दी गरिरहेको छ । यदी नभ्याइने हो भने विशेष महाधिवेशन गरेर भएपनि नेतृत्वबारे निर्णय गरौं भन्ने धारणा संस्थापनइतर पक्षको छ ।

केशव सावद केशव सावद
२०८२ कात्तिक २० गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको महाधिवेशन फागुन २१ को चुनावअघि गर्न सकिने वा नपर्ने विषयमा विवाद चर्किएको छ।
  • संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान राख्दा गगनकुमार थापानिकट पक्षले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने बताएको छ।
  • ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका छन् र पार्टीले यसलाई न्यायोचित सम्बोधन गर्नुपर्ने दबाब छ।

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग चर्किएको कांग्रेसमा महाधिवेशन  फागुन २१ को चुनाव अघि भ्याइन्छ कि भ्याइन्न भन्ने गलफतीमै करिब डेढ महिना बितेको छ । संस्थापनइतर पक्ष अहिलेको नेतृत्वको पंक्ति नै कायम राखेर चुनावमा जान सकिन्न भनिरहेको छ ।

संस्थापन पक्ष भने चुनाव अघि महाधिवेशन गर्न भ्याइन्न भन्दै जिद्दी गरिरहेको छ । यदी नभ्याइने हो भने विशेष महाधिवेशन गरेर भएपनि नेतृत्वबारे निर्णय गरौं भन्ने धारणा संस्थापनइतर पक्षको छ । यसको दबाबका लागि उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर समेत बुझाइसकेका छन् । तर टुंगो लागेको छैन ।

कांग्रेसका नेताहरूको जारी महाधिवेशनसम्बन्धी बहसले यतिबेर जारी केन्द्रीय कार्यसमितिको बैठक  तात्तिइरहेको छ । बिहीबार पनि कार्यसमिति बैठकमा अघिल्ला बैठकहरूमा नेताहरुले राखेका धारणाहरू जस्तै फरक–फरक अभिव्यक्ति दिएका छन् ।

पछिल्लो समय पार्टीमा चुलिएको विवादको मिलनविन्दु पहिल्याउने भन्दा पनि नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा आफूनिकट रहेको विचार समूहको ‘लाइन’ अनुसार महाधिवेशनसम्बन्धी धारणा राखिरहेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म धारणा राखिसकेका अधिकांश नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि आगामी निर्वाचनमा नयाँ नेतृत्वसहित जाने विषयले कांग्रेस एकमत हुन सकेको छैन ।

कांग्रेसको संस्थापन पक्षीय नेताहरू प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेर आगामी वैशाखमा १५ औँ महाधिवेशन आयोजना गर्नुपर्ने अडान राखिरहेका छन् भने महामन्त्री गगनकुमार थापानिकट नेताहरू नयाँ नेतृत्व चयन गरेरमात्रै चुनावी मैदानमा होमिनुपर्ने बताइरहेका छन् ।

संस्थापन पक्षीय नेताहरू समय अभावको कारण देखाउँदै वैशाखमा महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बिहीबारको बैठकमा छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिने धारणा राखे ।

उनले केन्द्रीय कार्यससमितिलाई विगतमा पार्टीले ४० दिनकै तयारीमा महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको उदाहरण नै पेश गरे । नियमित अधिवेशनको माग गर्दै नेता केसीले भने, ‘११ औं महाधिवेशन, मात्रै ४० दिनको तयारीमा सम्पन्न भएको उदाहरण छ । असाधारण परिस्थितिमा महाधिवेशन हुन सक्दैन भन्ने बहाना निरर्थक छ ।’

त्यसबेलाको समय स्मरण गर्दै नेता केसीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुक गरिए पनि तत्कालीन शाही सत्ताले उक्तस्थल उपलब्ध नगराएको बताए । शाही सत्ताले सम्मेलन केन्द्र उपलब्ध नगराएपछि उद्घाटन जावलाखेलस्थित चिडियाखाना अगाडिको मैदानमा र बन्द सत्रहरू केन्द्रीय कार्यालय (सानेपा) को प्रांगणमा भएको उनले स्मरण गरे ।

नेता केसीले पार्टी यथास्थितिमा राखेर निर्वाचनमा जानु घातक हुने जिकिर गरे । महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रस्तावअनुसार नियमित महाधिवेशन नगरिए विशेषमा जानुपर्ने उनको भनाइ थियो ।

१४ औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूको विशेष महाधिवेशनको सामूहिक मागलाई न्यायोचित सम्बोधन गर्नु केन्द्रीय कार्यसमितिको अनिवार्य वैधानिक दायित्व भएको केसीले प्रष्ट्याए ।

‘महाधिवेशनको समयावधि सिद्धियो भन्ने कुरा पनि सुनिन्छ । त्यसबाट निर्वाचित यो केन्द्रीय कार्यसमिति कुन आधारमा जीवित छ ? अर्को महाधिवेशन नहुञ्जेलसम्म यो जीवित रहन्छ भन्ने हेक्का राख्नु जरूरी छ,’ केसीले भने,  ‘आगामी चुनावको बारेमा र मुलुकको पेचिलो परिस्थितिमा कांग्रेसको अबको मार्गचित्र सार्वजनिक गर्न पार्टीको नियमित वा विशेष महाधिवेशनको अनिवार्य आवश्यकता छ ।’

केन्द्रीय सदस्य एनपी साउदले आगामी फागुनमा चुनाव हुने सुनिश्चित भए अर्को वर्षको वैशाखमा नै १५ औँ महाधिवेशन गर्न उपयुक्त हुने बताए । चुनावको मिति सरेर वैशाखमा हुने अवस्था बन्दा फागुनमै महाधिवेशन गर्न सकिने विकल्प पनि उनले बैठकमा राखे ।

‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दापनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ नेता साउदले बैठकमा भने ।

महाधिवेशन जहिले भएपनि चुनाव र महाधिवेशन दुवै विषयमा पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्ने उनले बताए । मंसिरको समयसीमा भित्र अधिवेशन गर्न सक्ने तयारी र अवस्था नभएको उनको भनाइ थियो ।

‘फागुन २१ गते निर्वाचन तोकिएको छ । हाम्रो पार्टीले निर्वाचनमा जान्छौँ भन्ने मौखिक प्रतिबद्धता गरे पनि केन्द्रीय समितिले आजको दिनसम्म ठोस निर्णयको रुपमा त्यसलाई अंगिकार गरिसकेको छैन,’ साउदले भने ।

साउदले साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार गर्दै अगाडि बढ्नुपर्ने विचार राखे ।

नेता साउदले जेनजी आन्दोलन भएका विश्वका उदाहरण समेत बैठकमा जानकारी गराएका थिए । जेनजी आन्दोलन भएर सरकार परिवर्तन भएको तर संस्थागत हुन नसकेको उनले बताए ।

जेनजी आन्दोलनले कांग्रेसलाई युवासम्म जाने, उनीहरूको मुद्दाहरू सम्बोधन गर्ने र सहभागितालाई पार्टीका तह र तप्कामा  सुनिश्चित गर्ने अवसर प्रदान गरेको बताए ।

केन्द्रीय सदस्य मोहन आचार्यले पनि नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेरमात्रै प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने धारणा राखे । १५ औँ महाधिवशेन गरेर नयाँ नेतृत्व र नयाँ नीतिका साथ चुनावमा जानुपर्ने उनको भनाइ थियो ।

आचार्यले आठ लाख ७० हजार क्रियाशील सदस्यहरूको भावनाअनुसारको निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट हुने विश्वास पनि व्यक्त गरे । नेता आचार्यले विशेष महाधिवेशनको पक्षमा गरिएका हस्ताक्षरहरूको माग सम्बोधनबारे नेतृत्वले सोच्नुपर्ने बताए ।

‘नेपाली कांग्रेस विशिष्ट समयमा विशेष महाधिवेशनमा गएको थियो,’ उनले विशेष महाधिवशेनको माग बारे भने, ‘तर, यो यसले राम्रो परिणाम दिन्छ जस्तो मलाई लाग्दैन ।’

आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताए । ‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भने ।

नेता खड्काले नेपाल सनातन वैदिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्छ भनेर विधानमै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्ने धारणा राखे ।

नेता खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने, नागरिक असुरक्षित हुने र लोकतन्त्रनै समाप्त हुने हुँदा सबै कुरा बिर्सिएर पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए ।

उनले सबै केन्द्रीय पदाधिकारीसमेत बुथबाट प्रतिनिधि भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानुकूल बनाउन विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने राय प्रस्तुत गरे ।

नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीमा देखिएको पछिल्लो विवाद मात्र आगामी निर्वाचनमा टिकट बाँड्ने विषयको भएको टिप्पणी गरेका छन् ।

सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनबारे देखिएको पछिल्लो विवाद केवल आगामी चुनावमा टिकट कसले बाँड्ने भन्ने विषयमात्रै भएको टिप्पणी गरेका हुन् ।

‘टिकट कसले बाँड्ने भन्ने कुराको लडाईं न हो यो । घुमरे, छिरेर । प्रश्न टिकट कसले बाँड्ने भन्ने होइन, आउने दिनहरूमा टिकट कस्तालाई दिने हो भोलिको दिनमा ? पार्टीलाई जित्ने कसरी बनाउने हो भोलिको दिनमा ?’

जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सबैभन्दा बढी छलफल पनि त्यही विषयमा हुनुपर्ने नेता चौधरीको भनाइ थियो । ‘यो केन्द्रीय कार्यसमिति बैठकको सबैभन्दा संवाद र चिन्ताको विषय त्यो हुनुपर्ने हो,’ उनले भने ।

चौधरीले कांग्रेस अब तीन ठूला दललाई बहिष्कारको मानसिकता बोकेकाहरूसँग चुनाव लड्न गइरहेको तर्फ पनि सचेत गराए । ‘अब हामी कोसँग चुनाव लड्न गइरहेका छौँ ? हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ, जसले तीनटै दललाई रिजेक्ट गरिसक्यो,’ उनले भने ।

केन्द्रीय सदस्य अमृत अर्यालले नेतृत्वलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई पेलेर वेवास्ता नगर्न सुझाव दिए । उनले विशेष महाधिवेशनको पक्षमा भएको हस्ताक्षरप्रति नेता कृष्णप्रसाद सिटौलाले राखेको विचारप्रति आपत्ति जनाए ।

नेता सिटौलाले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरलाई गलत कार्य भएको उल्लेख गरेका थिए । उनको बोलीप्रति केन्द्रीय सदस्य अर्यालले बिहीबार पार्टी बैठकमा आपत्ति जनाएका हुन् ।

‘विशेष अधिवेशनको लागि जुन सिग्नेचर क्याम्पेनिङ पनि भइरहेको छ । त्यो गलत हो, हुनुहुँदैन । त्यो हस्ताक्षर कसरी गरेर ल्याएका छन् बोल्नुभयो,’ अर्यालले भने, ‘कृष्ण दाइ तपार्इं बोलेकोमा दुःख लागेको छ । तपाईं जस्तो मान्छेले यस्तो किसिमले बोल्नु हुँदैन ।’

६० प्रतिशत मत दिएर सभापतिलाई जिताउने प्रतिनिधि आफूहरू नै भएको अर्यालले बताए । १४ औँ महाधिवेशनबाट जितेर आएका प्रतिनिधिको वैधता कायम रहेको उनले बताए ।

‘यो ५४ प्रतिशतले गरेको हस्ताक्षरलाई स्वीकार गर्न भन्न पाइन्छ ? यसको समाधान, निकास र उपाय खोज्नुपर्छ,’ नेता अर्यालले भने । नेता सिटौलाकै क्षेत्रबाट समेत बहुमत प्रतिनिधिले विशेषका लागि हस्ताक्षर गरेको उनले दाबी गरे ।

‘कृष्ण दाइको क्षेत्रबाट ५४ प्रतिशतले हस्ताक्षर गरेर आइसकेको त्यो आँधी त रोकिएन नि । हाम्रो मोरङमा आउँदा खेरि त्यो ५४ प्रतिशतबाट ६४ प्रतिशत पुग्यो । ज्ञानेन्द्र र विजय गच्छदार दाइको क्षेत्रमा ७५ प्रतिशतमा पुग्यो । कोशी प्रदेशमा समग्रमा ७४ प्रतिशत पुग्यो,’ अर्यालले बैठकमा आंकडा प्रस्तुत गर्दै भने ।

केन्द्रीय सदस्य सरस्वती अर्यालले आगामी फागुनमा निर्वाचन भए वैशाखमा महाधिवशेन गर्नुपर्ने पक्षमा उभिइन् । तर, निर्धारित मितिअनुसार २१ फागुनमा निर्वाचन नभए त्यसअगावै महाधिवेशन गर्न सकिने उनको धारणा थियो ।

‘निर्वाचन हुन्छ भने वैशाखमा महाधिवेशन गर्ने, निर्वाचन फागनुमा हुँदैन भने अगाडि गर्न सकिने धारणा राख्नुभयो,’ नेतृ अर्यालले बैठकमा राखेको धारणाबारे एक नेताले भने ।

ती नेताका अनुसार अर्की केन्द्रीय सदस्य मिनाक्षी झाले पनि नियमित महाधिवेशन हुनुपर्ने धारणा राखिन् । उनले महामन्त्रीहरूमाथि प्रश्नसमेत उठाइन् । ‘तपाईंहरू अहिले पनि महामन्त्री हुनुहुन्छ । महामन्त्री हुँदा तपाईंहरूले के गर्नुभयो ?,’ नेतृ झाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘महामन्त्री पनि जिम्मेवार पद हो, अब सभापति भएर के गर्नुहुन्छ ?’

केन्द्रीय सदस्य कल्याणी रिजालले पार्टीमा नेतृत्वको खाँचो भएको बताइन् । सहमहामन्त्री महेन्द्र यादवले प्रस्ताव गरेको मिति महाधिवेशनका लागि उपयुक्त रहेको उनको भनाइ थियो । केन्द्रीय सदस्य धना खतिवडाले समग्रमा कुरा राखेको बताइएको छ ।

केन्द्रीय सदस्य आनन्द ढुंगानाले महामन्त्री थापाले जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमार्फत् जारी गरेको भिडियो सन्देशप्रति असन्तोष प्रकट गरे । ‘जेनजीको समर्थनमा छु भनेर जारी गरेको भिडियो सन्देश ठीक भएन । त्यो गर्न नहुने थियो । महामन्त्री भनेको व्यक्ति होइन, पार्टी हो,’ ढुंगानाले भने, ‘पार्टीले गरेको कुरा हो, यो राम्रो भएन । पार्टीको उच्च तहमा बस्ने तपाईं, तर तपाईंले छलफल गरेर गर्नुपर्‍थ्यो । सेन्टिमेन्ट लिने खालको कुरा तपाईंले गर्नु हुँदैन ।’

अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संसदीय चुनावमा जानु पर्नेमा जोड दिए । संसदीय चुनावपछि मात्रै पार्टीको १५ औँ महाधिवशेन हुनुपर्ने उनको भनाइ थियो । नेता गिरीले हिन्दु राष्ट्रको विषयमा महासमिति सदस्यहरूले गोदावरी बैठकमा राखेका कुराबारे के भयो भनेर प्रश्न पनि राखे ।

बैठकमा नेता अनिल रूङ्गटा र मञ्जुकुमारी यादवले पनि संसदीय चुनावपछिमात्रै महाधिवेशन गर्नुपर्ने बताए । ‘अनिल रूङ्गटाजीले नियमित अधिवेशनको कुरा गर्नुभयो, एकतावद्ध भएर जानुपर्छ भन्नुभयो, एक केन्द्रीय सदस्यले भने, ‘मञ्जुकुमारी यादवजीले संसदीय चुनावपछि अधिवेशन गर्नुपर्ने कुरा राख्नुभयो ।’

केन्द्रीय सदस्य अजयकुमार चौरसियाले पार्टीमा आफूमात्रै अशल अरू सबै खराब भन्ने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाए । ‘म राम्रो, अरू खराव भन्ने प्रवृति छ,’ उनले भने, ‘जेनजी आन्दोलनमा भएको घुसपैठबारे छानबिन समिति पार्टीको गराउनुपर्‍थ्यो, यस्तो अवस्थामा कसरी सभापति बन्ने भन्ने तिर लाग्ने ?’

रूङ्गटाले पार्टीका पदाधिकारीहरूमाथि व्यक्तिकेन्द्रित भएर काम गरेको आरोपसमेत लगाए । ‘पूर्ण दाई सिनियर उपसभापति भएकोले सभापतिज्यूले कावा सभापति दिनुभएको हो । सहयोग गर्नुपर्दछ, सबै मिलेर जानुपर्दछ,’ उनले भने, ‘आफू सेन्टर्ड कार्य गर्नुभएको छ पदाधिकारी ज्यूहरूले ।’

केन्द्रीय सदस्य रूपा विकले पार्टीको मुख्य लक्ष्य आगामी प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताइन् । ‘मेन टार्गेट निर्वाचन हुनुपर्छ । निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्छ,’ उनले बैठकमा भनिन् ।

केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले नियमित अधिवेशनमा जोड दिए । उनले कार्यवाहक सभापति खड्काले पार्टीम देखिएको विवादको समाधान न्यायपूर्वक गर्ने विश्वास पनि व्यक्त गरे ।

केन्द्रीय सदस्य नैनसिंह महरले युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने बताए ।

पछिल्लो समय युवामाझ पार्टीप्रतिको आकर्षण घट्दै गएको र नेतृत्व पंक्तिमा पुस्तान्तरणको बहस चलिरहेका बेला नेता महरको प्रस्ताव आएको हो ।

‘पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,’ महरले भने ।

केन्द्रीय सदस्य उर्मिला केसी नेपालले युवाका जायज मागहरूलाई सम्बोधन गरेर उनीहरूको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउन पार्टीले विशेष पहल गर्नुपर्ने बताइन् । उनले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

‘युवा वर्गका जायज मागहरूलाई सम्बोधन गर्न र उनीहरूको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउन पार्टीले विशेष पहल गर्नुपर्छ,’नेपालले भनिन्, ‘आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । यसका लागि सबै राजनीतिक दलहरूसँग कांग्रेसकै अग्रसरतामा सार्थक संवाद गर्नुपर्छ ।’

तोडफोड र आगजनीबाट भत्केका केन्द्रीय कार्यालय लगायत मुलुकभरका विभिन्न कार्यालयहरूको तत्काल पुनः निर्माण गरी पार्टीको उपस्थिति र मनोबल उच्च राख्नुपर्ने नेपालको भनाइ थियो । ‘यसका लागि कांग्रेसका प्रत्येक सदस्यलाई सहभागी हुने अवसर दिनुपर्छ,’ उनले भनिन् ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, एनपी साउद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदिपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, ई. मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रुपा विक, धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा राखेका थिए ।

कांग्रेस कार्यसमितिको अर्को बैठक शुक्रबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?