+
+

माथिल्लो तामाकोशीले थेग्न सकेन उद्घाटनको दबाब, ‘म्यानहोल’बाट चुहियो पानी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ जेठ ४ गते २१:४८

४ जेठ, काठमाडौं । परीक्षणका क्रममा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङभित्र राखिएको पेनस्टक पाइपमा चुहावटको समस्या देखिएको छ । तीव्र सरकारी दबाबका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुणस्तर नपुगेकाले अहिले पेनस्टक पाइपकै भागमा समस्या देखिएको आयोजनाका प्राविधिकहरुको निष्कर्ष छ ।

प्राविधिकहरुका अनुसार उद्घाटनका लागि छिटो काम सक्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र ऊर्जा मन्त्रालयबाट तीव्र दबाब थियो । त्यसअनुसार हतार-हतार काम सक्नेतर्फ जोड दिंदा आयोजनाको सबैभन्दा संवेदनशील र जटिल भागमै समस्या निम्तिएको हो ।

गत वैशाख १६मा सुरुङमा पानी हालेर परीक्षण शुरु गर्नासाथ पेनस्टकको ‘म्यानहोल’मा चुहावट हुने समस्या देखिएको थियो । ६०० मिटरको हेडसम्म पानी हालेर प्रेसर दिंदा चुहावट देखिएपछि आयोजनाले मर्मत नगरी सुरुङ भर्न नहुने निष्कर्ष निकालेको थियो । समस्या परेको जानकारी हुँदाहुँदै पनि परीक्षण उत्पादन थालिहाल्न आयोजनामाथि दबाब कायमै थियो । तर, समस्या जटिल हुने देखेपछि आयोजनाका अधिकारीले नकारेका थिए ।

यो आयोजनामा गत माघमा भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले आवश्यक उपकरण ल्याउन ढिलाइ हुने बताएपछि डिजाइन नै फेरेर चैतभित्रै परीक्षण उत्पादनको योजना बनाइएको थियो ।

‘डिजाइन परिवर्तनका कारण समस्या देखिएको चाहिं हैन, उद्घाटनका लागि छिटो काम सक्ने दबाब दिइएका कारण ध्यानपूर्वक भन्दा बढी बलपूर्वक काम भयो,’आयोजनाका एक अधिकारी भन्छन्,’हतारको कामले वर्क म्यानसिप कमजोर हुँदा लिकेज देखिएको हो ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनाको सुरुङ र पेनस्टक पाइपमा सामान्य समस्या देखिएको बताउँछन् । समस्या समाधानका लागि काम भइरहेको उनले बताए ।

दुई ठाडो सुरुङ जोड्ने पेनस्टक पाइपको ‘म्यानहोल’मा चुहावट देखिए पनि मर्मतको काम धमाधम भइरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । ‘शुक्रबारसम्म मर्मत सिध्याउने लक्ष्य छ’, उनले भने ।

भारतीय ठेकेदारको भर परेको भए आवश्यक उपकरण ल्याउन नै तीन महिना समय लाग्ने देखिएपछि डिजाइन परिवर्तन गर्नुपरेको उनले स्पष्ट गरे ।

आयोजनाका एक वरिष्ठ प्राविधिक भने बनिनसक्दै समस्या देखिनुले आयोजनामा भविष्यमा जुनसुकै बेला समस्या पर्नसक्ने जोखिम देखिएको बताउँछन् । ‘स्वदेशी लगानीमा बनेको यति ठूलो आयोजनामा यसैपनि धेरै ढिलाइ भएको थियो, अन्तिम केही महिनामा दबाबविहीन ढंगले काम गर्न दिएको भए हुने थियो’ उनले भने,’मेलम्चीको सुरुङमा भएको दुर्घटनालाई बिर्सिएर उद्घाटनका लागि दबाव बढाउँदा भविष्यमा यो आयोजनामा समेत जतिबेला पनि दुर्घटना हुनसक्ने डर रह्यो ।’

वर्षौंसम्म चल्ने प्लान्टमा हुने हरेक काम गुणस्तरीय हुनुपर्ने भन्दै ती प्राविधिकले सरकारले दिएको दबाबले अन्तिम समयमा भएको कामको विश्वसनीयताबारे आयोजना आफैं विश्वस्त हुन नसकिरहेको बताए ।

काम नै नसकिएपछि चैत मसान्तमा उद्घाटन गर्ने सरकारी योजना तुहिएको थियो । वैशाख २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति सार्वजनकि रुपमै असन्तुष्टि पोखेका थिए ।

नापी विभागको अनलाइन सेवा तथा ‘मेरो कित्ता’ एप सार्वजनिक गर्दै उनले अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोशीको काममा ढिलाइ गरिएको बताएका थिए ।

‘मैले यसप्रति चासो, रुचि बढाउनुपर्ने देखेको छु । त्यो ढिलासुस्ती अस्वाभाविक छ’ ओलीले भनेका थिए, ‘तीन वर्षदेखि म एउटै कुरा सुनेको छु, एउटा सानो मेसिन जडान गर्न छ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड नोक्सान भइराखेको छ, परोक्ष भन्दा दैनिक १३ करोड नोक्सान भइरहेको छ । यो ढिलासुस्ती हो वा अरु केही हो हेर्न पर्ने भएको छ । यस्तो ढिलासुस्ती अब मान्य हुँदैन ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि प्राधिकरण र आयोजना थप दबाबमा आएको थियो ।

गत वैशाख १६ गतेबाट आयोजनाको सुरुङमा पानी भर्न थालिएको थियो ।  सुरूङमा पानी भर्न थालेको अवसरमा स्विच थिच्न दुई जना विभागीय मन्त्री दोलखाको लामाबगर पुगेका थिए । तर, आयोजनाको पावरहाउससँगै रहने पेनस्टक पाइपमै समस्या देखिएपछि सुरुङमा अझै पानी भर्न सकिएको छैन ।

आयोजनाका अनुसार समस्या नआएको भए जेठको १५ गतेबाट आयोजनाले परीक्षण थाल्न सक्थ्यो । ‘अब समस्याहरु समाधान गर्दै परीक्षण अघि बढाउँछौं’ ती प्राविधिक भन्छन्,’दबाबमा परेर आयोजनालाई थप जोखिममा धकेल्न हुन्न भन्नेमा हाम्रो जोड छ । सुरूङको हाइड्राेमेकानिकल गेटहरू जडानमा पनि हतारमा काम भएकाले के हुन्छ भन्न सकिन्न । ‘

पाँच वर्षपछि धकेलिएको आयोजना

निर्माण शुरु गर्दाताकाको लक्ष्यअनुसार काम भएको भए ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०७३ असार मसान्तमै बनिसक्नुपर्ने हो । तर समयमै काम नभएपछि स्वदेशी लगानीमा बनिरहेको आयोजनाको म्याद पटक-पटक थपियो । तर अझै आयोजना बनिसकेको छैन ।

आयोजनाका अधिकारीहरुको दाबी पत्याउने हो भने जेठ मसान्तसम्म आयोजनाको एउटा युनिटबाट परीक्षण उत्पादन शुरु हुनेछ र असारसम्ममा सबै युनिटबाट व्यावसायिक उत्पादन सुरु हुनेछ । तामाकोशीमा उत्पादित बिजुली रामेछापमा बनाइँदै गरेको नयाँ सबस्टेसनमा जोड्ने योजना छ । बन्दै गरेको सबस्टेसनमा जोड्न सम्भव नभएमा खिम्तीमा लैजाने विकल्प छ ।

यो आयोजना निर्माणमा जति लम्बियो, त्यति नै लागत पनि बढ्यो । २०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान थियो । तर, निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५३ अर्ब नाघ्ने अनुमान छ । अहिले पछिल्लो समयमा अनुमानित लागत आकाशिएर करिब ८० अर्ब पुग्ने अनुमान गरिएको छ । निर्माण अवधि करिब ५ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेको आयोजनाको दाबी छ ।

ठेकेदारहरुले भुक्तानीमा पाउने डलर र युरोको मूल्य बढ्दा पनि आयोजनाको लागत थपियो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आकलन गरिएको थियो, अहिले १२० भन्दा माथि छ । भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण ढिला बनेको आयोजनाले अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि र डलरको मूल्य बढेर नेपाली मुद्रामा भएको अवमूल्यनले पनि मार खेपेको छ ।

हाइड्रोमेकानिकलतर्फ भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमा काम नसक्दा लागत भारी वृद्धि भएको हो । भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपरेको थियो । बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।

रुग्ण बनिसकेको यो आयोजनालाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ब्युँताएका थिए । आयोजनामा ढिलाइ हुन नदिन घिसिङ महिनाको एक पटक आयोजनास्थल दोलखाको लामाबगर जाने गरेका थिए । यो बीचमा मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो ।

विद्युत प्राधिकरणले तामाकोशीलाई गेमचेन्जर आयोजना भन्दै आएको छ । यो आयोजनाबाट वर्षमा करिब २ अर्ब ४५ करोड युनिटसम्म बिजुली उत्पादन हुनेछ ।

२२ मेगावाटको रोल्बालिङ खोला मिसाएपछि त्यस्तो क्षमता २ अर्ब ६२ करोड युनिटसम्म पुग्नेछ । त्यसका लागि रोल्बालिङलाई तामाकोशीमा मिसाउन निर्माण प्रक्रिया शुरु भइसकेको छ । तामाकोशी बनेपछि पिक आवर – धेरै बिजुली माग हुने बिहान (बेलुकीको समय) मा यो आयोजनाबाट ४५६ मेगावाट उत्पादन गर्न सकिन्छ । सुख्खायाममा साँझको समयमा तामाकोशीमा ४ घण्टासम्म पानी थुनेर चलाउने (पिकिङ) योजना छ ।

विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार माथिल्लो तामाकोशी साँझमा चलाए हिउँद महिनाका पिक आवरमा समेत भारतबाट ल्याउनुपर्ने बिजुलीको परिमाण घट्नेछ भने अरु बेला नेपालले राम्रै परिमाणमा बिजुली बेच्न सक्छ । त्यो परिमाण हिउँदमा नेपालले भारतसँग किन्नेभन्दा बढी हुने प्राधिकरणको अनुमान छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?