Comments Add Comment

स्वास्थ्य मन्त्रालयले नै दियो बेड खालीको गलत सूचना

बिरामीका आफन्त र अस्पताललाई हैरानी

४ जेठ, काठमाडौं । कोरोना संक्रमितहरुले काठमाडौं उपत्यकाका अस्पतालहरुमा आईसीयू वा भेन्टिलेटर होइन, अक्सिजन बेडसमेत पाउन मुश्किल छ । भेन्टिलेटरकै खोजीमा कतिपय बिरामी हेलिकप्टरमार्फत पोखरा र झापासम्म पुगेका छन् ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा मात्र कोभिड–१९ का बिरामीका लागि बेड खाली रहेको सूचना निकाल्यो । अस्पतालको क्षमता र बिरामीको संख्याको सूची नै दिएको छ, जसअनुसार उपत्यकाका १९ वटा अस्पतालमा गरी ७५० आइसोलेसन बेड, २२१ आईसीयू बेड र ६९ भेन्टिलेटर खाली छन् ।

मन्त्रालयकै सूचनाका आधारमा, बेडको खोजीमा भौंतारिरहेका संक्रमितका आफन्तले अस्पतालमा फोन गरेर बेड खोजेका छन् । तर पाउन सकेका छैनन् ।

किन यस्तो भयो त ? अस्पतालका अधिकारीहरु भन्छन्, मन्त्रालयको सूचना गलत छ ।’

जस्तो, मन्त्रालयको तथ्यांकअनुसार भक्तपुर अस्पतालमा ८३ आइसोलेसन बेड, ६ आईसीयू र ८ भेन्टिलेटर छ । आइसोलेसनमा ४८, आईसीयूमा ६ र भेन्टिलेटरमा एक जना बिरामी छन् । यो सूचनाले के भन्छ भने भक्तपुर अस्पतालमा ३५ आइसोलेसन बेड र ७ भेन्टिलेटर खाली छ ।

७ वटा भेन्टिलेटर खाली छ भनेपछि संक्रमितका आफन्तहरुले अस्पतालमा फोन गरे । तर अस्पतालका अधिकारीहरु एक जना पनि भर्ना गर्न नसक्ने बताउँछन् । अस्पतालका सम्पर्क व्यक्ति डा. सुमित्रा गौतमका अनुसार अस्पतालमा ६ बेडको आईसीयू छ । भेन्टिलेटर त्यही छ बेडभित्रमा प्रयोग गर्ने मेसिन मात्र हो ।

भेन्टिलेटरको संख्या पनि ८ होइन, ६ वटा हो । आईसीयूमा रहेका ६ मध्ये ३ जना संक्रमित भेन्टिलेटर सपोर्टमा छन् । तीन वटा भेन्टिलेटर मेसिन त छ, तर आईसीयू बेड थप नभएकाले अरु बिरामी भर्ना लिन सक्ने अवस्था छैन । ‘कसरी गलत तथ्यांक सार्वजनिक भयो त्यो त मन्त्रालयलाई नै थाहा होला’ डा. गौतम भन्छिन्, ‘तर यसले हामीलाई मात्र होइन, आईसीयू–भेन्टिलेटरको अभावमा छटपटाइरहेका संक्रमितका आफन्तलाई थप पीडा दिएको छ ।’

निजामती कर्मचारी अस्पतालको अवस्था पनि उस्तै छ ।

मन्त्रालयका अनुसार यो अस्पतालमा ७० आइसोलेसन बेड, २४ आईसीयू र ३ भेन्टिलेटर छन् । आईसोलेसनमा ६८, आईसीयूमा १४ र भेन्टिलेटरमा एक जना कोरोना संक्रमित उपचाररत छन् । यस आधारमा आइसोलेसनमा २, आईसीयूमा १० र भेन्टिलेटरमा २ बेड खाली भन्ने बुझे । संक्रमितका आफन्तले फोन गरे । अस्पतालले भने एक जना पनि भर्ना लिन नसक्ने बताएको छ ।

अस्पतालका सम्पर्क व्यक्ति डा. सुमनबाबु मरहट्टा मन्त्रालयको गलत तथ्यांक भएको बताउँछन् । ‘बेड छ रे भनेर फोन आइरहेको छ । खै कसरी मन्त्रालयले यस्तो गलत तथ्यांक सार्वजनिक गर्‍यो थाहा भएन’ डा. मरहट्टाले भने । उनका अनुसार अस्पतालमा ३ भेन्टिलेटरसहित १५ आईसीयू बेड र २१ एचडीयू छ । र सबैमा अहिले बिरामी छन् ।

कसरी लिइन्छ अपडेट ?

अस्पतालहरुका अनुसार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको सफ्टवेयरमा हरेक दिन बिहान ११ बजेभित्र अस्पतालको क्षमता र बिरामी संख्या अपडेट गरिन्छ ।

मन्त्रालयले अपरान्ह ४/५ बजे मात्र सार्वजनिक गर्छ । त्यसै पनि यो ५/६ घन्टामा बेड अकुपेन्सीमा फेरबदल आइसकेको हुन्छ । जस्तो, सोमबार वीर अस्पतालले विहान तथ्यांक पठाउँदा केही आइसोलेसन बेड खाली थिए । तर केहीबेरमा सबै भरिएको अस्पतालका सम्पर्क व्यक्ति डा.अच्युत कार्की बताउँछन् ।

त्यसमाथि मन्त्रालयले आईसीयू र भेन्टिलेटरलाई छुट्टाछुट्टै बेडका रुपमा सार्वजनिक गरेपछि हिसाब बिग्रिएको छ । जस्तो, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १७० आइसोलेसन बेड, २० आईसीयू र ९ भेन्टिलेटर र आइसोलेसनमा १६१, आईसीयूमा ११ र भेन्टिलेटरमा ९ जना बिरामी रहेको मन्त्रालयले जनाएको छ । यसले अस्पतालमा ९ आईसीयूमा बेड खाली छ भन्ने बुझायो ।

जबकि अस्पतालको आईसीयू युनिटमा जम्मा २० वटा बेड छन् । जसमध्ये ११ वटा आईसीयू बेड र ९ वटा भेन्टिलेटरसहितका बेड हुन् । र, सबै प्याक छन् ।

अस्पतालका सम्पर्क व्यत्ति डा. प्रवीण नेपाल तथ्यांक संकलन गर्ने व्यक्तिले नबुझ्दा गलत सूचना प्रवाह भएको बताउँछन् । ‘यस्तो संवेदनशील विषयमा सरकारी संयन्त्रबाट गलत तथ्यांक सार्वजनिक हुनुहुँदैनथ्यो’ उनी भन्छन्, ‘तथ्यांक संकलन गर्ने व्यक्तिको गलत बुझाइले गर्दा पनि समस्या हुनगयो ।’

वीर अस्पतालको अवस्था पनि त्यही हो । मन्त्रालयको सूचनामा अस्पतालमा १० आईसीयू र १० भेन्टिलेटर छ । आईसीयूमा ७ जना र भेन्टिलेटरमा ६ जना बिरामी छन् । यसले पनि आईसीयू र भेन्टिलेटरमा बेड खाली भएको बुझायो ।

तर डा. कार्कीका अनुसार अस्पतालमा भएको आईसीयू युनिटमा १० वटा बेड छन् र सबैमा भेन्टिलेटर सुविधा छ । ८ वटा बेडमा कोभिड संक्रमित छन् भने एउटामा हेमो डाइलोसिस गर्नुपर्ने बिरामी अर्को अस्पतालमा कार्यरत कर्मचारीका लागि प्रयोग भइरहेको छ । डा. कार्की भन्छन्, ‘आईसीयू प्याक भएको अवस्थामा भेन्टिलेटर खाली भन्न मिल्दैन । त्यहाँ अर्को नयाँ बिरामी भर्ना गर्न सकिंदैन । कुनै पनि बेला आईसीयूको बिरामी भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालले सफ्टवेयर अपडेट गर्न राखेको व्यक्ति र मन्त्रालयले सफ्टवेयरबाट तथ्यांक लिने व्यक्ति अल्मलिंदा समस्या भएको बताउँछन् ।

मन्त्रालयका अनुसार टेकु अस्पतालमा २३ आईसीयू र १५ भेन्टिलेटर छन् । भेन्टिलेटरमा ७ र आईसीयूमा १५ बिरामी छन् । यसअनुसार बेड खाली भन्ने बुभिन्छ । जबकि आईसीयूमा २३ बेड छन्, जसमध्ये १५ वटा भेन्टिलेटर सुविधा पनि छ ।

अस्पतालहरुले भुईंमा, कुर्सीमा राखेर उपचार गरिरहेको अवस्थामा सरकारले बेड, आईसीयू खाली छ भनेर सूचना सार्वजनिक गर्नु गलत भएको उनी बताउँछन् । अस्पतालका निर्देशक डा. राजभण्डारी भन्छन्, ‘तथ्यांक लिने मान्छे अलमलिएको देखियो । धेरै वटा सफ्टवेयर बनाउँदा मन्त्रालय आफैं हराइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयको सूचनाका आधारमा आईसीयू र भेन्टिलेटर खोजी गर्दै धेरै फोन आइरहेको भन्दै उनले भने, ‘हामीले यथार्थ भनेर बुझाउने कोशिश गरिरहेका छौं । कतिपयलाई त बुझाउनै सकिरहेको छैन ।’

यो समस्या समाधान गर्न तत्कालका लागि मन्त्रालयले सम्पर्क व्यक्ति राख्नुपर्ने डा. राजभण्डारीको सुझाव छ । ‘फोकल पर्सन राख्ने र उसले लिएको तथ्यांकअनुसार नागरिकलाई अस्पताल जान सुझाउने वा सूचना दिने गरे बढी प्रभावकारी होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment