Comments Add Comment

छहरेको जस्ता काण्ड : सुशील, रामशरण र वामदेवमाथि प्रश्न

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यस अघि भनेका थिए, राहतमा भ्रष्टाचार गर्नेलाई जेल हाल्छु । तर, इन्भेष्टमेन्ट बैंकले नुवाकोटमा विद्यालयहरुलाई दिएको ३०० बण्डल जस्तापाता अर्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस कार्यकर्ता रमेश महतले बेच्न लैजाँदै गरेको अवस्थामा शुक्रबार नुवाकोटमा फेला पर्‍यो । अब प्रधानमन्त्री कोइरालाले अर्थमन्त्रीलाई रामशरणबाट दीक्षित रमेशलाई जेल हाल्छन् या हाल्दैनन् ? हेर्न बाँकी छ ।
susil-koirala-and-bamdev-gautam
अर्थमन्त्री डा. रामशरण महतले आगामी असार १० गते दाताहरुको सम्मेलन गर्दैछन् । उनले यसो भन्नका लागि दाताहरुको सम्मेलन गर्न लागेका हुन् कि नेपाल सरकारले अन्तरराष्ट्रिय सहयोगको सदुपयोग गर्ने छ र भ्रष्टाचार गर्ने छैन ।

तर, आफैंबाट दीक्षा पाएको रमेश महतले २७० बण्डल जस्ता बेच्न लागेको फेला परिसकेपछि अब अर्थमन्त्री महतले लाजगाल र नैतिकताका आधारमा राजीनामा दिन्छन् या दाताहरुको सम्मेलन गर्न भ्याउँछन् ?  यो पनि गम्भीर प्रश्न छ ।

बैंकले कर्मचारीको गाँस काटेर विद्यालयलाई दिएको जस्ता पातामाथि अर्थमन्त्रीकै  भाइ भतिजबाट यस्तो लुट मच्चाइनु सामान्य परिघटना होइन । उसमा ङिच्च दाँत देखाएर सरकारले यसमा चोखिन मिल्दैन । यस्तो अवस्थामा सरकारी राहत कोषमा कसरी पैसा जम्मा हुन्छ ?

अर्थमन्त्रीका सहयोगीबाट भएको यो घोटाला भूकम्पमा मरेका करिब ९ हजार मृतक, तिनका परिवार र ५ लाख पीडितहरुमाथिको खेलवाड हो । यो घटनाले दाताहरुलाई थप निराश बनाउनेछ, जसको असर भूकम्प पीडितमाथि पर्नेछ ।

गृहमन्त्री वामदेव गौतमले सार्वजनिक कार्यक्रममा भनेका छन् कि मिडियाले गर्दा विदेशी सहयोग आएन । तर, शहरी विकास मन्त्रालयले त्रिपालमा गरेको भ्रष्टाचार र दाताले दिएको ५ हजार बोरा चामल कसले लग्यो ? यसमा गृहमन्त्रालयको कमजोरी छैन ? कांग्रेस र एमालेको नेतृत्वमा रहेको सरकारले गरिरहेको चरम भ्रष्टाचार, आर्थिक अपारदर्शिता र लापरवाहीका  विदेशी दातामात्रै होइन, स्वदेशीहरु पनि निराश हुनुपर्ने स्थिति छ ।

आफ्नो आङमा लागेको भ्रष्टाचारको भैंसी नदेख्ने तर मिडियालाई दोष दिएर आफू चोखो हुन खोज्ने गृहमन्त्री गौतमको अभिव्यक्तिलाई शुक्रबारको जस्तापाता काण्डले नराम्रोसँग गिज्याएको छ ।

पञ्चायती व्यवस्थापछि नवधनाढ्य बनेका कांग्रेस र एमालेका अधिकांश नेता-कार्यकर्ताको नशा-नशामा भ्रष्टाचारका जीवाणु छन् । विपतिमा परेका जनताका नाममा आएको सहयोगमा समेत भ्रष्टाचार गर्ने यिनीहरुले जनतासँग हदैसम्म खेलाँची गरिरहेका छन् । यसैको एउटा उदाहरण हो बैंकले दिएको जस्तामा घोटाला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment