Comments Add Comment

गरीबका झुपडीमा राशन पानी झारेर देखाउ (गजल)

बिदेश भ्रमण मात्रै होइन, गाउँघर चारेर देखाउ
गरीबका झुपडीमा राशन पानी झारेर देखाउ।

श्रोत साधन पनि कर्मचारी र नेताकै पेवा भो
सक्छौ भने जनताको आँगनमा सारेर देखाउ।

दुई छाक टार्न धौधौ परिरा’को छ बस्तीहरुमा
पाँचतारे होटलको खर्च कुनाकाप्चामा पारेर देखाउ।

युवाजति लखेटेर अरबमा शरणार्थी बनायो
बिदेश जान नदिइ आफ्नै देशमै नारेर देखाउ।

जलश्रोत र जडिबुटी बिनाकाम नै खेर गइरा’छ
सदुपयोग गरी देशलाई बिकासमा, खारेर देखाउ।

सुस्ता, कालापानी, लिपुलेक दुश्मनले धावा बोले
चारैतिर सिमानामा काँडेतारले बारेर देखाउ।

अनुदान र भिक्षा मागेर कति दिन चलाउँछौ
आफ्नै बलबुतामा राष्ट्रको खर्च टारेर देखाउ।

–शंकर सुबेदी
मोरङ उर्लाबारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment