Comments Add Comment

एनआरएन राजनीतिक प्यानल होइन, काम गर्ने च्यानल बनाउँ

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसीसी)को आसन्न निर्वाचनमा सदस्यमा उम्मेदवारी दिएका गायक समीर आचार्यले एनआरएन राजनीतिक प्यानल नभई काम गर्ने च्यानल बनाउनुपर्ने बताएका छन् ।

विगत ८ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका समीर अष्ट्रेलियामा आफ्नै ब्यवसाय सञ्चालन गर्दै आएका छन् । लामो समयदेखि अष्ट्रलियामै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका समीरले एनआरएन भित्र समस्या नभएको बताए ।

उनले समस्या एनआरएन भित्र नभई दुई चारजना ब्यक्तिमा रहेको उल्लेख गरे । केही ब्यक्तिभित्रको समस्यालाई हल गर्ने तर्फ आफूले पहल गर्ने पनि उनको प्रतिवद्धता छ ।

उम्मेदवारी घोषणापछि भावी योजनाबारे उनीसँग गरिएको कुराकानी ः

चुनाव जितेमा के गर्नुहुन्छ ? तपाईको योजना के छ र ?

अहिले चुनावको सेरोफेरोमा म पनि पूर्णरुपमा चुनाव प्रचार प्रसारमै ब्यस्त छु । म यो भन्दा पहिलेको सन २०१३ देखि २०१५ सम्मको एनआरएन अष्ट्रेलियाको एससीसी मेम्वर भएर सेवा गरिरहेको छु । चुनाव जितेमा मैले आधिकारिक रुममै अष्टे्रलियामा भएका नेपालीको सामीप्यमा रहेर सेवा गर्नेछु । तर सेवा गर्नको लागि चुनाव जित्नै पर्छ भन्ने पनि केही छैन । मेरो योजना अहिलेको भूकम्पले ल्याएको विषम परिस्थितिका लागि थप राहत संङकलनमै हुनेछ । त्यसबाहेक संस्थाले चालेका हरेक गतिविधिमा निरन्तर साथ दिनु त छँदैछ ।

sameer acharyaएनआरएन अष्ट्रेलियाका समस्या के हो ? ती समस्या कसरी हल गर्ने ?

वास्तवमा समस्या एनआरएन भित्र छैन । यो दुई चार जना ब्यक्तिसँग मात्र जोडियर आएको कुरा हो । यहाँ कुरा नवुझिकनै एनआरएनको बारेमा बोल्दै हिडिरहेको अवस्था छ । हामी प्रस्ट छौ, शेष घलेले देखाउनुभएको महानता नै वास्तविक एनआरएन हो ।

यस पटक पनि जति उक्मेदवारहरु हुनुहुन्छ, उहाँहरु वास्तवमै काम गर्नको लागि सक्षम हुनुहुन्छ । चुनाव त एउटा प्रक्रिया मात्र हो । यो समस्याको हलका लागि बास्तविक रुपमै यहाँका नेपालीहरुको निकटमा वसेर काम गर्नेछु र त्यो पनि कुनै पार्टी या ग्रुपको झण्डा नवोकेर ।

नयाँ संविधानमा एनआरएनका बिषयमा के कस्तो कुरा समावेश हुन जरुरी छ ?

अहिले बन्ने नयाँ संविधानमा एनआरएनका मुद्दाहरु स्पष्टसँग सम्बोधन हुनुपर्दछ । एक पटकको नेपाली सधैको नेपाली हुनुपर्दछ र एनआरएनका सेवादायी तथा ब्यवसायिक लगानीका क्षेत्रहरुमा भईराखेका कमिकमजोरी र समस्याहरुलाई संविधानमा संबोधन गर्नु पर्दछ । यसका लागि एनआरएन नेपाल र नेपालीहरुको हितको लागी काम गर्ने संस्थाको रुपमा प्रस्टसँग ब्याख्या हुन जरुरी छ । यसको लागि म जस्ता संसारभर रहेका एनआरएनहरुको एक भिजन एक आवाज हुन जरुरी छ र मेरो सक्दो अग्रसरता त्यसैमा कायम हुनेछ ।

तपार्इको सांगितिक जीवन र एनआरएनको सम्वन्ध कस्तो छ ?
पहिलो कुरा म गर्व गर्छु म कलाकार हुँ । मैले धेरै गीतहरु गाएको छु तर गीत मेरो लागि मात्र नभएर सामाजिक कार्यका लागि धेरै गाएको छु । च्यारिटी प्रोगाम, फन्ड राइजिङ लगायत यहाँका नेपालीहरु विरामी परेर सहयोगको लागि थुप्रै पटक काम छोडेर गीत गाएको छु । म जस्ता यहाँ साथीहरु हुनुहुन्छ जस्ले अर्काको लागी गाउनुभएको छ ।

नेपालमा कलकारहरुलाई दुःख पर्दा पनि यहाँवाट हामीले सक्दो सहयोग गरिरहेका छौ । सबैभन्दा धेरै फण्ड राइजिङ नै नाच्ने र गाउनेहरुवाट हुन्छ सामाजिक कार्यको लागि यसको एउटा महत्वपूर्ण पार्ट भएको नाताले गर्व महसुस हुन्छ । एनआरएन पनि एउटा निकै ठूलो स्टेज हो । हामी कलाकारहरु अष्ट्रेलियामा एकजुट छौ । यहि एकतालाई एनआरएनको माध्यमबाट शक्तिमा बदल्ने छौ । श्वास छँदासम्म गाउँछौ र नाच्छौ ।

अन्त्यमा केही छ भन्नको लागि ?

एनआरएन अष्ट्रेलियाको चुनावमा मतदान गर्नु हुने सबैजनालाई हाम्रो हैन राम्रो हेरेर मतदान गर्नुहुन अनुरोध छ । एनआरएन हामी सबैको हो, यसलाई राजनीतिको प्यानल होइन काम गर्ने च्यानल बनाउन अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment