Comments Add Comment

एनआरएनएको आकस्मिक राहतकोषमा कतारबाट ६७ लाख जम्मा

घनश्याम पराजुली (कृष्ण)

दोहा । गत वैशाखमा नेपालमा गएको विनाशकारी महाभूकम्पमा परी पीडित भएकाहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएन)ले सञ्चालन गरेको आकस्मिक राहत कोषमा कतारबाट ६७ लाख जम्मा गरिएको छ ।

भूकम्पपीडितहरुको सहयोगार्थ जम्मा भएको कतारी रियाल २ लाख ३८ हजार ७ सय ७० अर्थात करिब ६७ लाख नेपाली रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो ।

nrna-ncc qatarएनआरएनएको पहलमा तत्काल राहत र उद्धार कार्यमा उल्लेख्य कामहरु भए । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले कतारमा कार्यरत नेपालीहरु लगायतबाट संकलन गरी संघको आकस्मिक राहतकोषमा सो रकम जम्मा गरेको एनआरएन कतारले जनाएको छ ।

कतारबाट संघको आकस्मिक राहातकोषमा सबैभन्दा धेरै रकम टिडिसिया कन्ट्रक्सन कम्पनीले १ लाख कतारी रियाल सिधै जम्मा गरेको थियो ।

त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाले ४२ हजार ७ सय १४ कतारी रियाल संघको खातामा रकम सिधै जम्मा गरेका हुन । एनआरएनए कतार मार्फत विभिन्न व्यक्तिहरु तथा संस्थाद्वारा संकलित रकम ७१ हजार ५६ रियाल जम्मा गरिएको छ भने एनआरएनए कतार आफैले २५ हजार रियाल सहयोग गरेको छ ।

एनआरएनए कतारले विगतका अभियानहरुमा जस्तै एनआरएनए एनसीसी कतारका अध्यक्षको संयोजकत्वमा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरु तथा एनसीसीका पदाधिकारीहरु पदेन सदस्य रहने गरी ६१ सदस्यीय भूकम्पपीडित राहत संकलन समिति कतार गठन गरेको थियो ।

सो समिति अन्तरगत जिन्सी सहयोग संकलन तथा व्यवस्थापन समितिमा कुमार कार्की , रामहरी गैह्रे, सागर नेपाल, शिव खड्का र चिन्तामणी पौडेल तथा आर्थिक व्यवस्थापन समितिमा द्रोणबहादुर बस्नेत, प्रेम सिटौला र टुकराज अर्याल रहेका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय समुदाय समन्वय समितिमा बिनोद भट्टराई, नन्दप्रसाद गर्वुजा, बिनेश तामाङ्ग, रमजान अलि मिँया र युवराज पाठक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment