३१ साउन, काठमाडौं । सिभिल बैंकले मर्जरमा गएर चुक्ता पुँजी वृद्धि गर्ने योजना बनाएको छ । बैंकका सञ्चालक तथा व्यवस्थापकहरु मर्जरमा नगई आगामी दुई वर्षभित्रमा आठ अर्ब रुपैयाँ पुर्याउन नसक्ने निष्कर्शमा पुगेका छन् ।
राष्ट्र बैंकको सर्कुलरपछि सञ्चालक र व्यवस्थापकबीच छलफल भइरहेको बैंकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।
‘मर्जरमा गएर चुक्ता पुँजी वृद्धि गर्ने निष्कर्शमा पुगेका छौं ।’ गुरुङले भने- ‘दुई वटा वाणिज्य बैंकसँग मर्जरलाई प्राथमिकता दिनेछौं ।’ दुई वटा वाणिज्य बैंकसँग मर्जरमा जान नसके केही विकास बैंक र फाइनान्स कम्पनीलासँग मर्जरमा गएर भएपनि चुक्ता पुँजी वृद्धि गर्ने उनको भनाई थियो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौदि्रक नीतिमार्फत ०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब हुनै पर्ने व्यवस्था गरेको छ । हाल सिभिल बैंकको चुक्ता पुँजी २ अर्ब ८९ अर्ब रुपैयाँ छ ।
आर्थिक वर्ष २०७०/०७१ मा १९ करोड खुद नाफा कमाएर साढे ८ प्रतिशत लाभांस दिएको बैंकले आर्थिक वर्ष २०७१/०७२ मा बैंकले २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो नाफाबाट बोनस दिएर यो वर्ष चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुग्ने गुरुङले बताए । बोनस सेयर र मर्जरबाट पुँजी नपुग भए ५० करोड देखि १ अर्ब रुपैयाँसम्म हकप्रद सेयर जारी गर्ने योजना रहेको उनले सुनाए ।
०७२ असार मसान्तसम्ममा बैंकले साढे २६ अर्ब रुपैयाँ निक्षेपव संकलन गरी २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ४१ शाखा, ३२ एटीएममार्फत ८० हजार बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सिभिल बैंकको स्थापना २०६७ मंसिर १० गते ३०औं वाणिज्य बैंकको रुपमा भएको थियो ।
प्रतिक्रिया 4