+
+
Shares

इक्वेडरको जेलमा भड्कियो दङ्गा, आपसी झडपमा ३१ कैदीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इक्वेडरको मचाला जेलमा २४ कात्तिक आइतबार भएको दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ।
  • सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।
  • घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ।

२४ कात्तिक, क्विटो । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ ।

बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

जेल प्रशासन एसएनएआईले एक विज्ञप्तिमा मचाला जेलभित्र मृत फेला परेकाहरू ‘आपसी सङ्घर्षका क्रममा श्वासप्रश्वास अवरुद्ध भएर तुरुन्त मृत्यु भएका’ हुन् । घटनाको कारण र विस्तृत विवरण स्पष्ट गर्न फरेन्सिक टोली अहिले पनि स्थलमै कार्यरत छ ।

स्थानीय बासिन्दाहरूले जेलभित्रबाट गोली, विस्फोट र सहयोगका लागि कराएको आवाज सुनेका थिए । बिहान ३ बजे (०८०० जिएमटी) तिर सुरु भएको हिंसा केही घण्टामै नियन्त्रणबाहिर पुगेको थियो ।

एसएनएआईका अनुसार प्रारम्भिक भिडन्तमा चार जनाको मृत्यु भएको र ३३ जना कैदीसहित एक प्रहरी अधिकारी घाइते भएका थिए । त्यसपछि विशेष प्रहरी टोलीले तुरुन्तै जेलमा प्रवेश गरी नियन्त्रण पुनःस्थापना गरेको बताइएको छ ।

अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ ।

इक्वेडरका जेलहरू पछिल्ला वर्षहरूमा लागुऔषध तस्करी गिरोहहरूको प्रमुख सञ्चालन केन्द्र बनेका छन्, जसले अवैध व्यापार नियन्त्रणका लागि एक–अर्कासँग हिंसात्मक सङ्घर्ष गर्दै आएका छन् । सन् २०२१ यताका विभिन्न दङ्गामा ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ ।

सरकारले यस महिनामा अर्को प्रान्तमा निर्माण सम्पन्न भएको नयाँ अधिकतम सुरक्षा जेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यही स्थानान्तरण योजनासँग पछिल्लो हिंसा जोडिएको हुनसक्ने अधिकारीहरूको विश्वास छ ।

गत सेप्टेम्बरमा मचाला जेलमै भएको अर्को भिडन्तमा १३ कैदी र एक जेल अधिकारीको मृत्यु भएको थियो । वर्तमान घटना त्यसै शृङ्खलाको अर्को दुःखद अध्याय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?