Comments Add Comment

आन्दोलन शान्तिपूर्ण बनाऔं, गच्छदारहरुलाई पनि समेटौं

जेपी गुप्ता

पहिलो कुरा त तराई मधेस राष्ट्रिय अभियानको बटमलाइन नै शान्तिपूर्ण आन्दोलन हो । र, हामीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई अनुनय विनय गरिरहेका छौं कि राज्यलाई मद्दत गर्ने गरी बाटो दिन हुँदैन ।

Jp-guptaयदि हामी शान्तिपूर्ण रहृयौं भने राज्यले त्यो बाटो पाउँदैन । अन्यथा राज्यले दमन गर्ने बाटो पाउँछ । तर, जति प्रयास गर्दा पनि फिल्डमा के देखिएको छ भने राज्य एकदमै असहिष्णु छ र ‘प्रभोकेटिभ’ छ । तैपनि हामी शान्तिपूर्णरुपमा जनतालाई सडकमा उतारौं भन्ने काममा लागेका छौं ।

राज्य असहिष्णु एवं हिंसा भड्काउने बाटोमा

आन्दोलनकारीलाई दोष त आउँछ । तर, मैले वीरगञ्ज, बारा सप्तरीमा आफ्नै आँखाले देखेको हुँ, राज्य एकदमै ‘जिरो टोलरेन्स’मा छ । राज्य एकदम असहिष्णु भयो । त्यसले गर्दा आन्दोलनकारीले गरेको भन्दा बढी आन्दोलनकारीले दोष भोग्नुपरेको छ । तर, मोर्चाले जानजान हिंसा भड्कायो भन्ने होइन । यसको सही तथ्य जब स्वतन्त्र निकायले छानविन गरेपछि नै आउँला । तर, अहिलेको अवस्था त्यस्तो होइन ।

केही दृष्टान्त

तुलनात्मक रुपमा काठमाडौं र बाहिरको आन्दोलनलाई नै हेर्नुस् । पूर्वमा अस्तिसम्म १२/१ बजे स्कर्टिङ गरेर गाडीहरु पास गराइन्थ्यो । त्यहाँ हिजो ११/१२ बजे दिउँसो पार गराइयो । जहाँ हजारौं जनता सडकमा थिए । स्कर्टिङ त १२/१५ दिनदेखि भइरहेको थियो । तर, प्रदर्शनकारी नभएका बेलामा ४/५ सय गाडीविना कफ्र्यू स्कर्टिङ गरेर ल्याएकै अवस्था थियो ।

तर, हिजो भारदहमा हजार/पन्ध्र सय प्रदर्शनकारीहरु सडकमा बसेका बेला दिउँसो सशस्त्र बलले हतियारसहित स्कर्टिङ गरेर गाडीहरु ल्यायो । यो भनेको ‘प्रोभोकेसन’ हो । यसलाई तपाई अस्ति गृहमन्त्रीले प्रहरी प्रधान कार्यालयमा दिएको निर्देशनसँग जोड्नोस् । सशस्त्र र नेपाल प्रहरीको अन्तरिक मतभिन्ततामा पनि गृहमन्त्रीले औंला उठाए । र, हिजो एकै दिनमा चारजना मानिसको मृत्यु भयो । करिव ४०/४५ जना गोली लागेर घाइते भएका छन् । यो राज्यले गरेको ‘प्रोभोग’ हो ।

केही गलत प्रचारहरु

हिजो बिराटनगरको घटना, जहाँ यो कुरा फेरि दोहोरियो । यो आरोप मात्र हो । जलेश्वरमा हिजो महेन्द्र चोकमा गोली चल्यो । गोली महेन्द्र चोकमा चलेको छ तर, सीडीओको भनाइ छ कि न्यायाधीशको घरमा आक्रमण गर्‍यो । न्यायाधीशको निवास महेन्द्र चोकमा छैन ।

अब तथ्यले हेर्ने हो भने अस्ति बर्दियामा मकैबारीबाट गोली चलाएको भनिएको छ । टाढा मकैबारीबाट मिटिङमा बसेको पुलिसलाई गोली हान्दा त जिउको भागमा लाग्नु पर्ने हो । तर, घुँडामुनि लागेको छ र अत्यधीक रक्तश्रावले मृत्यु भएको भनिएको छ । धेरै घटनामा पुलिसले आफ्नो दमनलाई ‘जस्टिफाइड’ गर्न लगाएको छ ।

इण्डियाबाट आएको भन्ने हल्ला

झलनाथजीले भन्नु नै भयो कि यो राजनीतिक माग नै होइन, अराजकता फैलाउने शक्ति गरेको भन्नुभएको छ । कसैले इण्डियाबाट मान्छे आएर गरेको भनिएको छ ।

जबकि जोगबनीमा हिजो सामान किन्न गएका नेपालीहरुलाईसमेत एसएसबीले आउन दिएको छैन । हिजो बजार सिल गरेर नेपालीहरुलाई भारततिर नै राखिदियो । तर, राज्य भारततिरबाट मानिसहरु आएर गरे भनिरहेको छ । यो भनेको दमन कसरी गर्ने गर्ने, राज्य त्यसको जस्टिफिकेसन गरिरहेको छ ।

सरकारले वार्ता गर्ने भए…..

म पनि सरकारमा धेरै समय रहेँ । सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेँ । कैयौं पटक माओवादीसँग वार्ता भयो, जसका लागि युद्धविराम गरिएको छैन ? हरेक पटकको वार्ताका लागि सरकारले पनि युद्धविराम गरेको छ र माओवादीले पनि युद्धविराम गरेको छ ।

युद्धका बेलामा त सरकारले माओवादीसँग वार्ता गर्न उसको पनि गतिविधि रोकायो र आफ्नो सेनालाई पनि ब्यारेकमा हुल्यो । तीनपटकको वार्तामा म छु । तर, अहिले वार्ताका लागि सरकारले स्टेटमेन्ट दिएर सेनाले सामान्य सुरक्षा मात्र गर्छ र आन्दोलनकारीलाई वार्तामा आउन आमन्त्रण गछौं भनिदिए पुग्छ ।

सेना र पुलिस नाराजुलुस रोक्न र बाटो खुलाउन गइदिएनन् भने घटना केही हुँदैन । वार्ता सुरु हुन्छ । तर, सरकारले वार्ता नचाहेको देखियो ।

जस्तो, मधेसी मोर्चा अहिले कन्टेन्टमा त गएको छैन । उसले दुई तीनवटा कुरा गरेको छ । एउटा, सेना र सशस्त्र प्रहरीलाई ब्यारेकमा फिर्ता गर भनेको छ । त्यो सरकारी निर्णयबाट तुरुन्तै गर्न सकिन्छ र एक-दुई दिन यो गर्न पनि सकिन्छ ।

त्यसपछि घाइतेको उपचार भनेको छ । यो आजसम्मको परम्परा पनि छ कि सरकारले घाइतेको उपचार गर्नुस्, खर्च दिन्छौं भन्न सक्छ । छानविनपछि सहिद घोषणा गर्छौं भन्न सक्छ । आखिर यो मुलुकमा निजामति सहिद, ड्राइभर सहिद, खलासी सहिद सबै त भएकै छ । तर, सरकारको तर्फबाट वार्ताका लागि कुनै पृष्ठभूमि नै निर्माण भएन । खाली एकोहोरो वार्तामा आउनुस् मात्र भनिएको छ ।

हिजोकै तीन दलको वक्तव्यलाई कसरी सकारात्मक भन्ने ? वार्ताको वातावरण सरकारले बनाएकै छैन । आन्दोलनरत पक्षले वातावरण बनाउन भनेको छ । तर, हिजोको वक्तव्यमा अन्तिमपटक वार्ताका लागि आहृवान गरिएको भनेको छ । सरकारले ढोका बन्द गरेर वातावरणलाई बिगार्दैछ ।

मलाई लाग्छ अझै पनि समय छ । तर, दुबै पक्षका लागि थोरै समय छ । सरकारले चाहृयो भने आजै वार्ता गरेर संशोधनको माध्यमबाट अहिले गर्नुपर्ने कुरा अहिल्यै गर्न सक्छ, भोलि गर्नुपर्ने कुरा भोलि गर्न सकिन्छ ।

आन्दोलनकारीले पनि वार्तामा बस्दै बस्दिँन भन्न हुँदैन । किनभने उसले त्यसो भन्यो भने यिनीहरुले जबरजस्ती संविधान ल्याउँछन् र आन्दोलनकारीसँग त्यो संविधान नमान्ने भन्दा अर्को विकल्प रहँदैन ।

मधेसका सबैलाई समेटौं

मधेसका शक्तिहरु अहिले विभिन्न समूहमा बाँडिएका छन् । यसले सरकारलाई हेप्ने स्थिति बनाउन बल पुर्‍याएको छ । मधेसी मोर्चासँग वार्ता गरे हामी मान्दैनौं भनेका छैनौं । कोहीसँग सकारात्मक वार्ता गर्दा हुन्छ । तर, सबै पक्षलाई समावेश नगर्दा हेप्ने मौका सरकारले पाएको छ ।

मधेसी मोर्चाको आजको बैठकका लागि हामीले आग्रह गरेका छौं । मैले व्यक्तिगत रुपमा राजेन्द्र महतोलाई भेटेर र महन्थ ठाकुरलाई फोन गरेर अनुरोध गरेको छु कि एउटा निर्णय गरेर सबै (गच्छदार, मात्रिका यादव, अनिल झा आदि) लाई समेट्नुस् । यसले आन्दोलनलाई बल पुर्‍याउँछ ।

कहिलेकाँही विपक्षी बलियो भयो भने राज्यले उसको बल देखेर पनि समाधान खोज्न आउँछ । यसले क्षति पनि कम गर्छ । त्यसैले मैले व्यक्तिगतरुपमा पनि आग्रह गरेको छु । हेरौं आज के निर्णय आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment