Comments Add Comment

भारतीय राजदूत रणजीत रायले दिएका तीन सन्देश

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ मन्त्रीहरुले निकै उत्साहित भएर नाकाबन्दी खुल्ने दक्षिणबाट संकेत आएको बताइरहेका बेला नेपालका लागि भारतीय राजदूत रणजीत राय मंगलबार पुतलीसडकमा रिपोर्टस क्लबको कार्यालयमा पुगेर पत्रकारमाझ उपस्थित भए ।

त्यहाँ उनले भारतको तर्फबाट केही सन्देश समेत दिए ।

Rishi-and-Ranjit-Roy

नेपाल सरकारले सोमबार मन्त्रिपरिषदबाटै भारत र मधेस आन्दोलनबारे विशेष प्रस्ताव नै पारित गर्दै पारवहन तथा आपूर्ति अवरोध हटाउन आग्रह गरेको थियो ।

तर, भारतीय राजदूतले भने नेपाल सरकारको प्रस्तावबारे औपचारिक जानरकारी नभएको सार्वजनिक जवाफ दिए । सरकारले गरेको निर्णय आफूसमक्ष आइनपुगेको कूटनीतिक अधिकारी रायले पत्रकार सम्मेलनमार्फत् बताए ।

मन्त्रीहरुले सार्वजनिक भाषणमा बोलेका कुराहरुको विज्ञप्ति निकालेर खण्डन गर्दै आएका राजदूत रायले मंगलबार आफ्ना कुरा राख्न दूतावास बाहिर पत्रकार सम्मेलनमा उपस्थिति जनाएका थिए । त्यहाँ राजदूत रायले दिएका केही सन्देश यस्ता छन्:

सन्देश एक: ‘नाकाबन्दी’ तत्काल खुल्दैन

भारतीय राजदूत रायले नाकाबन्दी खुल्ने संकेत आएको प्रधानमन्त्रीसहित मन्त्रीहरुको दाबीलाई अफवाहको संज्ञा दिए । भारतले अहिलेसम्म आफूले नाकाबन्दी गरेको स्वीकार गरेको छैन । र, उसको पूर्वअडानमा पनि कुनै परिर्वतन देखिएन ।

भारतीय राजदूतले अहिले वीरगञ्ज नाका खुल्न नसक्ने प्रष्ट पारे । वीरगञ्ज नाका नखुलेसम्म अन्यत्रबाट आउने इन्धनले नेपालको संकट टर्दैन ।  राजदूत रायले भने-नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिशत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन ।’

अन्य नाकाहरुबाट आपूर्ति गराउन भारतले पहल गरेको तर, वीरगञ्ज घटनाले नाकारात्मक भूमिका खेलेको उनले बताए ।

सन्देश दुई: आलोचनाबाट डराउन्नौं

अघोषित नाकाबन्दी गरेपछि भारतको नेपालमा निकै आलोचना भएको छ र भारत विरोधी भावना धेरैमा छ । तर, राजदूतले त्यसले भारतको नीतिमा कुनै फरक नपर्ने संकेत दिए । बरु नेपाललाई पनि हित नगर्ने चेतावनी दिए ।

भूकम्पको बेला भारतले ठूलो सहयोग गर्दा पनि निकै आलोचना गर्दै गो ब्याक होम इण्डियन मिडिया हृयासट्याट ट्रेण्ड भएको भन्दै राजदूतले भने- अहिले पनि ब्याक अफ इण्डियाको नारा लागेको छ । तपाईलाई लाग्छ, यसले नेपाललाई फाइदा गर्छ ? मलाई लाग्दैन ।’

उनले अघि भने – मलाई लाग्दैन, यसले नेपालको राष्ट्रियता बलियो हुँदैन । मलाई लाग्छ क्षति हुन्छ ।’

सन्देश तीन: मधेसको पक्षमा वकालत

भारतीय राजदूत रायले सीमाहरुमा भइरहेको अवरोध नेपालतर्फको आन्दोलनका कारण भएको भन्दै मधेसलाई सम्बोधन गर्नुपर्ने भारतले पूर्वअडानमा कुनै परिर्वतन भएको सन्देश दिएका छन् ।

उनले भने-‘मूल कारण जुन छ, जसका कारण समस्या आएको छ, त्यसलाई बुझ्नुपर्छ । र समाधान खोज्नुपर्छ ।’

जे कारणले आन्दोलन भएको हो, त्यसलाई समाधान वार्ताबाट गर्नुपर्ने राजदूतको कथन थियो । भारतले संविधान संशोधनमा जोड दिएको छ । राजदूत रायले पनि त्यसको संकेत गर्दै वार्ता टोलीले काम गरिरहेको भन्दै संविधान संशोधन भएर समस्यो समाधान हुने सम्भावना औंल्याए ।

संविधान जारी भएपछि पुरै नेपालमा खुसीयाली होस् भन्ने भारतले चाहेको भन्दै उनले भने- संविधान आउनुभन्दा पहिलादेखिकै केही कठिनाइहरु आउने संकेत थियो, त्यो कुरालाई सुनिएन ।’

राजदूत रायको यस्तो अभिव्यक्ति आउनुपूर्व बालुवाटार स्रोत भने भारतले नाकाबन्दी खोल्नेमा ढुक्कजस्तै देखिएको थियो । राजदूतको अभिव्यक्तिले भारत आफ्नो पूर्वअडानमा टसमस नभएको स्पष्ट संकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment