Comments Add Comment

उपेन्द्र यादवको प्रश्न: मान्छे समात्ने अनि वार्तामा बोलाउने ?

Upendra yadav-1

१४ मंसिर, काठमाडौं । आन्दोलनरत संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बन्दीहरुलाई तत्काल रिहा गर्न र घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बिराटनगरबाट यादवले अनलाइनखबरसँग कुरा गर्दै प्रश्न तेस्र्याए- ‘कोइराला सरकारकै पालामा आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने भनेको थियो, पक्राउ गरिएकाहरुलाई रिहा गर्ने भनिएको थियो, त्यो निर्णय कहाँ गयो ?’

फोरम अध्यक्ष यादवले सत्तपक्षप्रति आक्रोश पोख्दै भने- ‘एकातिर कार्यकर्तालाई गिरफ्तार गरेर राणाकालीन बर्बर यातना दिने अनि नेताहरुलाई वार्तामा आइज भन्ने, यो दोहोरो चरित्र किन ?’

सुनसरी, मोरङ लगायतका जिल्लामा मधेसी मोर्चाका कार्यकर्तालाई गिरफ्तार गरेर राणाकालीन यातना दिने काम भइरहेको यादवले आरोप लगाए ।

वार्तामा बोलाउने सरकारले यसअघि आफैंले निर्णय गरेको दायित्व पूरा गर्नुपर्ने यादवको भनाइ छ । ‘आफूले गर्नुपर्ने दायित्व सरकारले पूरा गरोस्,’ उनले भने-‘बन्दीहरुको रिहाइ र घाइतेको उपचार सरकारले गर्नुपर्छ, अनि वार्ता अघि बढ्छ ।’

सच्याइएकाे– (यसअघि समाचारमा यादव काठमाडाैं अाउन लागेका भन्ने परेकाेमा सच्याइएकाे छ । यादवले अाज बिराटनगरमै रहने र बालुवाटार बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment