Comments Add Comment

नाकाबन्दी लुकाउन भारतीय विदेशमन्त्री सुष्माले लिइन् झूटको सहारा

Sushma-Swaraj-650

२३ मंसिर, काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा सोमबार नेपालको नाकाबन्दीबारे गरमागरम बहस भयो, जहाँ विदेशमन्त्री सुष्मा स्वराजले नेपालबारे केही झूटो वक्तव्य दिइन् ।

राज्यसभामा बोल्ने अधिकांश भारतीय सांसदले भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएर गम्भीर मानवीय संकट उत्पन्न गराएको आरोप लगाए । कतिपयले ३० लाख बालबालिका औषधि नपाएर मृत्युको मुखमा पुगेको भन्दै भारतीय विदेश नीतिको कडा आलोचना पनि गरे ।

भारतले औषधि समेत रोकेर मानवीय संवेदना बिर्सिएको सांसदहरुको आरोप थियो । लाखौंलाई मृत्युको मुखमा पुर्‍याएको सवाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कडा प्रतिवाद गरिन्, झुटको साहारा लिएर । उनले सरकारको बचाउमा भारतीय राज्यसभालाई झुटो तथ्य पेश गरेको खुलेको छ ।

उनले नाकाबन्दीपछि ४ सयवटा औषधि बोकेका ट्रक नेपाल गएको राज्यसभालाई जानकारी गराइन् । तर, भारतीय नाकाबन्दीपछि नेपालमा मुस्किलले भारतबाट ६० ट्रक औषधि भित्रिएको व्यवसायी बताउँछन् ।

उनीहरुका अनुसार एयरकार्गाे मार्फत आएको अत्यावश्यक औषधिले अहिले बिरामीको जीवन धानिएको छ । स्वराजले भनेजस्तो रि-रुट गरेर एक ट्रक पनि औषधि नेपाल नआएको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए ।

वीरगञ्ज नाका हुँदै आउने केही औषधि अन्य नाकाबाट आए पनि वीरगञ्जमा अलपत्र रहेका ३ सय ट्रक औषधि अझै रि-रुट गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए । ‘वीरगञ्ज हुँदै आउने केही ट्रक अन्य नाकाबाट छिरेका हुन् । तर, वीरगञ्जमा अलपत्र औषधि अझै रि-रुट भएको छैन’ उनले भने ।

‘भारतीय विदेशमन्त्रीले ४ सय ट्रक औषधि नेपाल गएको भनेर सरारसर झुट बोलेकी हुन् । तीन महिनामा ६० देखि ७० वटा ट्रक औषधि आएका छन् । स्वराजले प्रस्तुत गरेको तथ्यमा झण्डै साढे ३ सय फरक देखियो’ श्रेष्ठले भने-‘आफ्नो लाज छोप्न मात्रै राज्यसभामा यत्ति ठूलो झुट बोलियो ।’

भिडियो हेर्नुस्

विदेशमन्त्री स्वराजले सोमबार संसदमा अघिल्लो दिन आइतबार ८ सय ६४ वटा मालबाहक ट्रक छिरेको भनेर पेश गरेको तथ्य पनि गलत भएको नेपाली भन्सार अधिकारीले बताएका छन् । त्यसदिन सबै नाकाबाट गरेर झण्डै ४ सय १३ वटा मात्र मालबाहक गाडी नेपाल आएका थिए ।

आइतबार बिराटनगरबाट सबैभन्दा बढी २ सय १५ वटा मालबाहक गाडी नेपाल आएको थियो भने भैरहवा नाकाबाट ६८ वटा ट्रक आएका थिए । यस्तै मेचीबाट ९७ र कैलाली नाकाबट ३३ वटा गाडी नेपाल नेपाल भित्रिएका थिए ।

नेपालगञ्ज नाकाबाट आइतबार एउटा पनि गाडी नभित्रिएको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । एक हप्तादेखिको तनाव कम भएपछि सोमबार बेलुकीदेखि मात्र नेपालगञ्जबाट गाडी भित्रिन सुरु भएको थियो ।

छिटपुट रुपमा आउने औषधि बोकेका ट्रकलाई भारतीय भन्सारले पास गर्न ढिलाइ गरिरहेको एक भन्सार अधिकारीले बताए ।

अन्य नाकामा पनि औषधि रोक्छ भारत

निकै लामो समयको अवरोधपछि डेढ हप्ता अघिदेखि बिराटननगर र भैरहवामा नाकाबाट कुनै-कुनै दिन एक-दुई ट्रक औषधि नेपाल आउन थालेको उनले बताए ।

औषधि बोकेका ट्रकलाई पनि भारतीय भन्सारहरुले सहज रुपमा पास नगर्दा समस्या भएको व्यवसायीले बताएका छन् । त्यसैकारण स्थलमार्ग हुँदै औषधि ल्याउन समस्या भएको छ ।  रुपैडिया भन्सारले समयमै पास नगर्दा ७ ट्रक औषधि भारतीय भूमिमा अलपत्र छ । अन्य नाकामा पनि औषधिबाहक केही ट्रक भन्सार पासको प्रतिक्षामा छन् ।

बजारमा अहिले पनि सुईजन्य औषधिको अभाव कायमै छ । अन्य औषधिहरुको आपूर्ति पनि सहज नभएको औषधि व्यवसायी संघले जनाएको छ ।  ‘वीरगञ्ज नाका नखुलेसम्म सुईजन्य औषधिको अभाव सामान्य हुँदैन । अन्य औषधि पनि सामान्य अवस्थामा जस्तैगरी पाउन वीरगञ्ज नाका नै खुल्नुपर्छ ।’ अध्यक्ष श्रेष्ठले भने-‘एयर कार्गो गरेर ल्याएको औषधि र विभिन्न सामाजिक संस्थाले अस्पतालमा ल्याएर वितरण गरेको औषधिले ठूलो संकटलाई टारेको छ ।’

अत्यावश्यक औषधिहरु एयर कार्गोमार्फत पनि ल्याएर स्टक राखिएको संघले जनाएको छ । एयर कार्गो महंगो तथा झण्झटिलो भएकाले सबै व्यवसायीले त्यसमार्फत औषधि ल्याउन नसकेको संघले जानकारी दिएको छ ।

औषधि बोक्न इन्धन छैन

व्यवसायीका अनुसार इन्धन अभावका कारण औषधि ढुवानी प्रभावित भएको छ । नेपाल औषधि व्यवसायी संघले औषधि ढुवानी गर्ने गाडीहरुलाई सरकारले सहज रुपमा इन्धन उपलब्ध नगराउँदा पहाडी क्षेत्रमा औषधि पुर्‍याउन समस्या भएको जनाएको छ ।

कालोबजारीको तेल हालेर औषधि ढुवानी गर्दा लागत बढ्ने भएकाले इन्धनको उचित व्यवस्थापन नगर्दा समस्या भएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।

‘वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगम, गृहमन्त्रालयदेखि स्वास्थ्य मन्त्रालयसम्म औषधि ढुवानीका लागि इन्धनको व्यवस्थापन गरिदिन आग्रह गर्दै पटक-पटक डेलिगेसन गयौं । तर, अझै हामी इन्धन सहजरुपमा नपाउँदा पहाडी क्षेत्रमा औषधि पुर्‍याउन सकिरहेका छैनौं ।’ अध्यक्ष श्रेष्ठले भने- ‘अब प्रधानमन्त्रीलाई मात्र भेट्न बाँकी छ । अरु सबैले हुन्छ-हुन्छ भनेर मात्रै टारे ।’

उनले प्रहरीको नक्सालस्थित पम्पमा औषधिबाहक सवारीलाई इन्धन दिने भनिए पनि व्यवसायीका गाडीलाई तेल नदिएको गुनासो गरे । औषधि बोक्ने गाडीका लागि छुट्टै पम्प तोकेर तेल दिने व्यवस्था गर्न संघले माग गर्दैै आएको छ ।
‘झण्डै तीन महिनादेखि ब्ल्याककै तेलका भरमा ढुवानी गरिरहेका छौं । भएको औषधि पनि गाउँसम्म पुर्‍याउन सकिएको छैन । सरकारले औषधी बोक्ने गाडीलाई सहजरुपमा तेल दिने व्यवस्था नगरेर बिरामीमाथि नै अन्याय गरेको छ ।’ श्रेष्ठले भने ।

जीवन-मरणसँग जोडिएको औषधिजस्तो अत्यावश्यकीय सामग्री बोक्ने गाडीलाई इन्धन उपलब्ध गराउने विषयमा सरकार गम्भीर नभएको संघको आरोप छ ।

रक्सौलमा झण्डै साढे २ सय ट्रक बराबरको औषधि अडि्कएको छ । अध्यक्ष श्रेष्ठले औषधिको अभावमा नै कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने व्यवसायी सचेत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment