Comments Add Comment

गगन थापा: अब महामन्त्री लड्ने कि सभापति ?

gagan thapa

१० माघ, काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले आगामी महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेको दाङका पत्रकारले ‘स्कूप मारेका’ थिए । तर, स्वयं थापालाई सोध्दा उनी आफूले महामन्त्रीमा उठ्ने घोषणा गरेको स्वीकार्दैनन् । कुन पदमा उठ्ने भन्ने अझै टुंगो गरिनसकेको थापा बताउँछन् ।

तर, आगामी महाधिवेशनमा गगन थापाका सामु केही विकल्प र जोखिमहरु छन्, जुन यस्ता छन्:

पहिलो विकल्प: केन्द्रीय सदस्यमै चित्त बुझाउने

अघिल्लो महाधिवेशनमा गगन थापाले पार्टीको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका थिए । यसपालि पनि केन्द्रीय सदस्यमै चुनाव लड्ने हो भने उनले जित्ने प्रायः निश्चित छ । तर, पहिलेजति सबैभन्दा धेरै भोट नआउन सक्छ ।

गगनले केन्द्रीय सदस्यमै चुनाव लडे र पहिलो स्थानमा आएनन् भने त्यसले उनको लोकपि्रयता खस्केको सिद्ध गर्ने छ । यसबाट ‘गगनलाई साइजमा राख्नुपर्छ’ भन्नेहरु खुशी हुन सक्छन् र यसले गगनको राजनीतिक करिअर ब्याक भएको सन्देश जान सक्छ । सम्भवतः यही कारणले गगन थापा यो महाधिवेशनमा केन्द्रीय सदस्यको साटो पदाधिकारी ताक्न बाध्य छन् ।

दोस्रो विकल्पः महामन्त्रीमा उठेर हार्ने

गगन थापाका लागि केन्द्रीय सदस्यबाट अघि बढ्ने खुट्किलोका रुपमा महाधिवेशनलाई प्रयोग गर्ने हो भने उनका सामु रहेको दोस्रो विकल्प हो महामन्त्रीका लागि चुनावी मैदानमा उत्रनु ।

तर, महामन्त्री चुनाव लड्दा गगन थापाका लागि निकै ठूलो जोखिम छ । गुटबन्दीले ग्रस्त नेपाली कांग्रेसका गगन थापाले महामन्त्रीमा चुनाव जित्ने हो भने सुशील वा देउवा पक्षको आधिकारिक उम्मेद्वार बन्नुपर्ने हुन्छ ।

तर, गगन थापा अहिलेसम्म कुनै गुटमा घोषित रुपमा नलागेका नेता हुन् र उनले पार्टीभित्र गुटबन्दीको विरोध गर्दै आएका छन् । आफैंले गलत भनेको गुटबन्दीमा लागेर उनले महामन्त्री बन्ने सम्भावना कमै छ । तर, देउवा वा सुशीलको गुटमा लागेको घोषणा गर्दैमा थापालाई महामन्त्री बनाउने सम्भावना पनि खासै देखिँदैन । किनभने दुबे गुटमा महामन्त्रीका दाबेदार अरु बरिष्ठहरु धेरै छन् ।

नाताले गगनका ससुरासमेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसीसमेत महामन्त्रीका दाबेदार हुन् । यस्तो अवस्थामा सुसराका विरुद्ध गगनले महामन्त्रीमा उम्मेद्वारी दिने सम्भावना कमै रहनेछ ।

तेस्रो विकल्प: मनोनित महामन्त्री वा सहमहामन्त्री

गगन थापाका सामु तेस्रो विकल्प पनि छ, त्यो हो- मनोनित महामन्त्री वा सहमहामन्त्रीलाई शेरबहादुर वा सुशीलसँग भद्र सहमति गर्ने । एक त गगन थापालाई कलिलै उमेरको नेता भन्दै देउवा वा कोइरालाले सह-महामन्त्रीको पूर्ववचन दिने सम्भावना खासै छैन । दिइहाले पनि पछि धोका हुन सक्छ । गगनसँग खुमबहादुर खड्काको जस्तो ठूलो गुट नभएका कारण उनीसँग शीर्ष नेताले सम्झौता गर्ने सम्भावना छैन ।

कांग्रेसको विधानमा उपसभापति र सहमहामन्त्रीहरुको पद थपिएको भए गगनलाई केही सहज हुन्थ्यो, तर देउवा पक्षले ‘विधान चलाउन पाइँदैन’ भनेका कारण गगन थापा अप्ठ्यारोमा परेका छन् ।

चौथो विकल्प: पार्टी सभापतिमै लड्ने

युवा नेता गगन थापाका लागि आगामी महाधिवेशान चौथो विकल्प पनि छ, त्यो हो- पार्टी सभापतिका लागि सुशील र शेरबहादुर देउवासँगै चुनावमा भिड्ने ।

सभापतिमा चुनाव लड्दा गगन थापाका सामु आइपर्ने नकारात्मक पक्ष के छन् भने एक त उनले सभापतिमा पनि महामन्त्रीमा जस्तै हार्नका लागि चुनाव लड्नुपर्ने हुन्छ । दोस्रो, यति छिटै सभापति ताकेर गगनले बढी नै महत्वाकांक्षा देखायो भन्ने आरोप उनीमाथि पार्टीभित्रबाट लाग्न सक्छ । तेस्रो, गगनले सभापतिमा चुनाव लड्दा २ सय मत पनि कटाएनन् भने उनी उपहासको पात्र बन्ने खतरा रहन्छ ।

तर, सभापतिमा चुनाव लड्दा गगनका सामु केही फाइदाहरु पनि छन् । पहिलो फाइदा के हो भने कांग्रेसमा पार्टी सभापतिको योग्य बन्नका लागि सुशीलजस्तो वयोवृद्ध हुनैपर्छ या गगनजस्तो युवा पुस्ताको नेताले पनि अवसर पाउँछन् भन्ने जबर्जस्त बहस सुरु हुनेछ । र, यसले कांग्रेसमा युवाहरुको पनि भविश्य छ भन्ने उत्साहको सञ्चार हुन सक्छ । गगनले कांग्रेसको सभापति चलाउन सक्छन् या सक्दैनन् भन्ने डिस्कोर्स प्रारम्भ हुनेछ र यसले भविश्यको पार्टी सभापतिका रुपमा मनोविज्ञान सिर्जना गराउने छ ।

दोस्रो, पार्टी सभापतिमा उठिसकेपछि गगनले पार्टी सभापतिको प्रथम चरणको चुनावमा देउवा र कोइरालालाई ५० प्रतिशत मत बटाउन दिएनन् र पहिलो चरणको चुनावलाई विधानतः रोक्न सके भने यसले गगन गुटको अपरिहार्यतालाई पार्टीमा स्थापित गर्ने छ, जुन उनको राजनीतिक करिअरका लागि केन्द्रीय सदस्यमा जित्नुभन्दा ठूलो उपलब्धि ठहरिन सक्छ ।

यदि गगन थापाले केन्द्रीय सदस्यमा चुनाव नलड्ने निधो गरे भने महामन्त्रीमा उठेर हार्नुभन्दा सभापतिमै उठेर किन नहार्ने ? यो उनका लागि निकै अहम् प्रश्न हो ।

तर, सभापतिमा चुनाव लडिरहँदा गगन थापाले यो पनिज बिर्सन हुँदैन कि गिरिजासँग सभापतिमा चुनाव लडेका नरहरी आचार्यजस्तो नभइयोस् । र, उनले यो पनि स्मरण गर्नुपर्छ कि गिरिजासँग पटक-पटक ‘जाई टेक’ गरेकै कारण शेरबहादुर देउवालाई पार्टी सभापतिको विकल्पमा हेर्ने गरिएको हो ।

तर, पार्टी सभापतिमा उठेर साह्रै थोरै भोट नल्याउने अनि हर्मनाक स्थिति कायम हुन नदिने हो भने गगनले सभापतिमा सुचनाव लडिरहँदा सुशील, शेरबहादुर र उनी, तीनजना मात्रै उमेद्वार भएको राम्रो । वीचमा रामचन्द्र पौडेल, कृष्ण सिटौला वा अरु कोही सभापतिमा लड्न आए भने त्योबेला गगनले पछि सरेकै फलदायी हुन सक्छ ।

आगामी महाधिवेशनमा थापाले के गर्लान् ? अहिलेसम्म यो कुरा उनले स्पष्ट गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment