Comments Add Comment

गणतन्त्रका लागि लडेर ढाडै खुस्कियो, अब के गर्ने ?

‘मेरा दुःख धेरै छन् । आफैं दिशा-पिसाब गर्न सक्दिनँ । युरिन ब्याग र पाइपको प्रयोग गर्नुपर्छ । पीडा कम गर्न नियमित रूपमा महँगो औषधि खाइरहनुपरेको छ । उपचार खर्च कसरी जुटाउने ? छोरीको लालनपालन पढाइलेखाइको व्यवस्था कसरी मिलाउने ? घर-व्यवहार कसरी चलाउने भन्ने समस्याले हरदम सताउने गर्छ,’ पीडा पोख्दै सर्जन भन्छन् ।

sarjanकालिकोटका सर्जन सुनार १४ वर्षको उमेरमा जनयुद्धमा होमिएका थिए । जनयुद्धमा लागेको ६ वर्षमै सर्जन सुनार घाइते भए ।

अमोद उपनामले चिनिने सर्जनले आफूमातहत दुई सय ५० जनाको लडाकु कमान्ड सम्हालेका थिए । म्याग्दीको बेनी, बर्दियाको रम्भापुर, कैलालीको पाण्डुन हुँदै रुपन्देहीको फूलबारी ब्यारेक आक्रमण गर्ने क्रममा भएको भिडन्तमा गोली र बमका छर्रा लागेर ढलेका सर्जन अहिले आफ्नै खुट्टाले हिँडडुल गर्न सक्दैनन् । स्पाइनल इन्जुरी भएका कारण उनको कम्मरदेखि मुनिको कुनै भाग चल्दैनन् । भन्छन्, ‘कम्मरमुनिको भागमा काटे पनि थाहा पाउँदिनँ । निरंकुश केन्द्रीकृत शासन व्यवस्थाको अन्त्य र जनताको हक-अधिकारका लागि लडेँ । आज आफैं हि्वल चेयरको सहारामा हिँड्नुपरेको छ ।’

उनले अपांगता भत्ता स्वरुपमा सरकारबाट सीमित रकम पाउँछन् । स्थानीय पार्टी समितिले केही सहयोग गरेको थियो । तर, केन्द्रीय पार्टीले आफूजस्ता घाइते अपांगता भएकालाई उचित व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ ।

राहत स्वरुप पाएको केही रकम मिलाई ऋणधन गरेर बाँकेको बनकटवामा सानो बाससम्म बनाएका छन् उनले ।

भन्छन्, ‘जनयुद्धमा हामी धेरैले बलिदानी गर्यौँ । तर, मजस्ता द्वन्द्व प्रभावितको पीडालाई सरकारले उचित सम्मान गर्न सकेको छैन । दुखाइ कम गर्न नियमित रूपमा महँगो औषधि खाइरहनुपर्छ । खर्च कसरी जुटाउन गाह्रो छ । घर-व्यवहार कसरी चलाउने भन्ने समस्याले हरदम सताउने गर्छ ।’

देशमा ठूलो परिवर्तन होला, अन्याय अत्याचारको अन्त्य होला, जनताका आधारभूत आवश्यकता परिपूर्ति होला भन्ने सोचका साथ जनयुद्धमा लागेको उनी बताउँछन् । भन्छन्, ‘जिउँदो सहिदसरि बाँच्नुपरेको छ । तर, पार्टी र सरकारलाई कुनै वास्ता छैन । पहिले कति दुःखकष्ट सहेर, ज्यानको बाजी लगाएर जनयुद्धमा लागियो । अहिले सहिदको सपना पूरा नभएको र नेता व्यक्तिगत स्वार्थमा लागेको देख्दा मन अमिलो भएर आउँछ ।’

तर, हाम्रो योगदानका कारण देशमा व्यवस्था परिवर्तन भई गणतन्त्र आएको र संविधान बनेकोमा केही हदसम्म उनलाई सन्तोष लागेको छ ।

जीवनसंगिनीको साथ

sarjan--with-wifeउनलाई जीवन संगिनी जूनमाया विकले स्याहार गरिरहेकी छिन् । जूनमाया पनि माओवादी लडाकु नै हुन् । कक्षा ६ मा पढ्दै गर्दा १६ वर्षको कलिलै उमेरमा जनयुद्धमा होमिएकी जुनमाया माओवादी सेनाको प्लाटुन कमान्डर थिइन् । अस्मिता उपनामले पार्टीमा चिनिने उनी सर्जन सुनारको मातहतमा ढेड वर्ष सँगै काम गरिन् । यही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध बढ्दै गयो ।

त्यसपछि भने उनीहरूको कार्यक्षेत्र छुट्टियो । पार्टी कामले पूर्व र पश्चिम भएका उनीहरू चिठीपत्रका माध्यमबाट एकापसका भावना साटासाट गर्दथे । पार्टी कामको सिलसिलामा भेट हुँदाहुँदै झांगिएको प्रेम सम्बन्धपछि पार्टीको अनुमतिमा वैवाहिक जीवनमा परिणत भएको सर्जन र जुनमायाको भनाइ छ ।

‘शोषण, दमन र अन्यायमा परेका जनताको अधिकारका लागि जनयुद्धमा लागेँ । रुकुमको खारा, पाल्पाको तानसेन, पाल्पा र अर्घाखाँचीको सीमा क्षेत्र तिनगिरे धरमपानी र बुटवलको फूलबारी आक्रमणमा म पनि थिएँ,’ जूनमाया भन्छिन्, ‘आक्रमणका बेला सामान्य घाइते त भएँ ।’

जूनमाया आफूले सोचेअनुसार परिवर्तन नभएको बताउँछिन् । ‘दुःखी गरिब जनताको उन्मुक्तिका लागि ज्यान जोखिममा राखेर लडियो । तर, अहिले माथिका नेताले ठीक तरिकाले काम गर्न नसक्दा हामीजस्ता घाइते अपांगता भएका व्यक्तिका परिवारले कष्टपूर्ण जीवन बिताइरहनुपरेको छ । शोषणमा परेका जनताको मुक्ति त भएन नै, अरूको अधिकारका लागि लडेका हामी आफैं अधिकारबाट समेत वञ्चित हुनुपरेको छ ।’

पार्टी र सरकारसँग जूनमायाको गुनासो छ । भन्छिन्, ‘कि त राज्यले हामीलाई अपराधी घोषित गरोस् । होइन भने हाम्रो उचित व्यवस्थापन होस् ।’
प्रस्तुतिः वसन्त गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment