Comments Add Comment

तस्वीरमा हेर्नुहोस्, भैरहवामा यसरी बन्दैछ अन्तर्राष्ट्रिय विमानस्थल

Gautam Buddha Internationa Airport Project (6)

२२ वैशाख, भैरहवा । रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । सर्वाधिक चासोको विषय बनिरहेको यो राष्ट्रिय गौरवको आयोजना हो । यसलाई काठमाडौंमा रहेको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ ।

परियोजना प्रमुख ओम शर्माले अनलाइनखबर टोलीलाई विमानस्थल निर्माण भइरहेको ठाउँहरु घुमाए । हामी निर्माणस्थल पुग्दा त्यहाँ तिब्र रुपमा काम भइरहेको देखिन्थ्यो । कामदारहरु चर्को गर्मीको प्रवाह नगरी आफ्नो काममा व्यस्त देखिन्थे ।

Gautam Buddha Internationa Airport Project (11)

हामी सबैभन्दा पहिला विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन बनिरहेको ठाउँमा पुग्यौं । जहाँ अराइभल (आगमन) र डिपार्चर (प्रस्थान) भवन बनाउने काम भइरहेको थियो । अराइभल कक्षमा मेकानिकल तथा एरोनिकल कक्षसमेत रहने हुँदा अण्डरग्राउन्ड सहितको भवन बनाइँदै छ ।

अण्डरग्राउन्डको बेसमेन्ट (भुईं) यही हप्ता ढलाई गर्ने लक्ष्य राखिएको छ । डिपार्चर भवनको बेसमेन्ट तयार भइसकेको छ । वर्षायाम सुरु हुनु अगाडि दुबै भवनको काम जमिनको सतहमाथि पुर्‍याउने प्रमुख शर्माले अनलाइनखबरसँग बताए । यसो भएमा वर्षायाममा भुईंमा पानी जमेको बेलामा समेत भवन निर्माण कार्य जारी राख्न सकिन्छ ।

Gautam Buddha Internationa Airport Project (2)

शर्माका अनुसार अराइभल कक्षको अन्डरग्राउन्ड भुईं ढलाई ८० सेन्टिमिटर मोटो हुनेछ । जसमा करिव दुई सय घर ढलाई गरे बराबरको खर्च हुनेछ । अबको एक वर्षभित्रमा अन्तर्राष्ट्रिय टर्मिनल भवन तयार भइसक्ने उनको दाबी छ ।

विमानस्थलमा ठूलो परिमाणमा गिट्टी, बालुवा, माटो, छड लगायतका निर्माण सामाग्री थुपारिएको देखिन्छ । गिट्टी बालुवा तिनाउ नदीबाट ल्याइरहेको शर्माको भनाई छ ।

Gautam Buddha Internationa Airport Project (7)

त्यसपछि हामी विमानस्थलको पश्चिमतर्फ रहेको घाँघरा खोला डाइभर्सन गरेको ठाउँ हेर्न गयौं । विमानस्थलको बीचमा पर्ने घाँघरा खोला फर्काउनका लागि करिव ९५ प्रतिशत काम पुरा भइसकेको शर्माले बताए । उनका अनुसार अर्को हप्ता घाँघरा खोला डाइभर्सनको काम पुरा हुनेछ ।

घाँघरा खोलालाई विमानस्थलको वरिपरी साढे २ किलोमिटर घुमाएर डाइभर्सन गरिएको छ । पानी भएको बेलामा आकाशबाट हेर्दा विमानस्थल आकर्षक देखिने छ । सय फिट चौडाईमा घाँघरा खोला फैलिने छ ।

हामी धावनमार्गमा पुग्दा त्यहाँ धमाधम माटो फिलिङ गर्ने काम भइरहेको थियो । अहिले धावनमार्गलाई घाँघरा खोलाले दुई भागमा छुट्टाएको छ । खोला डाइभर्सन गरेपछि त्यहाँ माटो फिलिङ गरेर सम्माई धावनमार्ग बनाइने छ ।

Gautam Buddha Internationa Airport Project (1)

तीन हजार मिटर लामो धावनमार्गमा ११ वटा कम्प्रेसर रोलरले काम गरिरहेको देखिन्थ्यो । जबकी सडक बनाउँदा एउटा रोलरले मात्र काम गरिरहेको हुन्छ । माटो सम्याउनका लागि पनि डोजरहरु उत्तिकै प्रयोग भएको देखिन्थ्यो ।

अहिलेसम्म धावनमार्गको १५ प्रतिशत काम सम्पन्न भइसकेको शर्माले जानकारी दिए । ‘धावनमार्गको १७ सय मिटर लम्बाईमा माटोको काम सकिएको छ’ उनले भने- ‘अब गिट्टी बालुवाको सब बेस हाल्ने काम सुरु हुन्छ ।’

धावनमार्ग जमिनको सतहभन्दा ४ फिट अग्लो हुनेछ । त्यस्तै, चौडाई ७० मिटर हुनेछ । जसमध्ये ६० मिटर भाग पिच गरिने छ । धावनमार्ग १५/१५ सेन्टिमिटर उचाईमा तह-तह बनाएर उठाउनुपर्छ ।

हवाई सुरक्षाका लागि धावनमार्गको पूर्व-पश्चिम दुबैतर्फ ३/३ सय मिटर लामो रन वे इन सेफ्टी एरियाको निर्माण कार्य जारी छ । यहाँ पनि माटो फिलिङ गरी सम्याउने काम भइरहेको देखिन्थ्यो ।

om sharma

विमानस्थलमा अहिले रेस्क्यू एन्ड फायर फाइटिङ भवनको जग बसाल्ने काम पनि सुरु भएको छ । त्यस्तै, कन्ट्रोल टावर तथा प्रशासनिक भवनको काम पनि अगाडि बढिसकेको छ ।

अहिले भइरहेको टर्मिनल भवन भएको ठाउँमा आन्तरिक टर्मिनल भवन बनाउने बताइएको छ । त्यसो हुँदा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनेपछि मात्र आन्तरिक टर्मिनल भवन बनाइने छ । अन्तर्राष्ट्रिय टर्मिनलबाट आन्तरिक यात्रुलाई पठाएर आन्तरिक टर्मिनल भवन बनाउने शर्माले बताए ।

अहिले भइरहेको १५ सय मिटर लामो धावनमार्ग पछि ट्याक्सी वे मा परिणत हुनेछ । यो धावनमार्गबाट जहाजहरु पार्किङ स्थलतर्फ पुर्‍याइने छ । पहिलो चरणमा विमानस्थलमा ६ वटा ठूला जहाज अटाउने पार्किङस्थल बनाइने छ ।

Gautam Buddha Internationa Airport Project (16)

यो विमानस्थलमा एरो ब्रिज समेत बनाइने छ । जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत छैन । एरो बि्रज भनेको टर्मिनल भवनबाटै जहाजभित्र चढ्ने मिल्ने र जहाजबाटै टर्मिनल भवनमा र्झन मिल्ने व्यवस्था हो ।

अहिलेको गुरुयोजनामा एरो ब्रिज बनाउने योजना छैन । तर पनि आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलमा एरोबि्रज अनिवार्य बनाउनुपर्ने बताउँछन्, शर्मा । अराइभल र डिपार्चर भवनमा एरोब्रिज हाल्नका लागि करिव २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

‘कोरियन कन्सलट्यान्ट कम्पनी आएर एरोब्रिजको डिजाइन गर्ने भएको छ, उनीहरु केही दिनमै नेपाल आउने योजना छ’ शर्माले भने- ‘विमानस्थल निर्माणको क्रममा अत्यावश्यक सेवा सुविधाहरु छुट्न गएमा त्यसलाई समेट्दै जानेछौँ ।’

Gautam Buddha Internationa Airport Project (19)

यो विमानस्थलको निर्माण कार्य सन् २०१७ को अन्तिम महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, निर्माणको क्रममा ४/६ महिना लम्बिन सक्ने शर्मा बताउँछन् । त्यसो त भूकम्प र बन्द हड्तालका कारण निर्माण कार्य केही समय रोकिन पुगेको थियो ।

अहिले विमानस्थलको जमिन र जमिनमुनी काम भइरहेको छ । बेसमेन्टको काम अलि गाह्रो हुने हुँदा थोरैमात्र काम भएजस्तो देखिएको बताउँदै शर्माले बेसमेन्ट माथिको काम तिब्र गतिमा अगाडि बढ्ने बताए । जसले गर्दा विमानस्थल निर्धारित समयभित्र सम्पन्न हुनेछ ।

यो विमानस्थल ‘फोर ई’ स्तरको हो । जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । तराईको लोकेसन भएको हुँदा कहिले काहीँ त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने विमानहरु पनि यहाँ अवतरण गराउन सकिने शर्माले बताए ।

Gautam Buddha Internationa Airport Project (20)

दैनिक १६ हजार यात्रुलाई सेवा दिने लक्ष्य

यो विमानस्थललाई त्रिभुवन विमानस्थलको विकल्पका रुपमा हेरिएको छ । अहिले एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा विभिन्न समयमा समस्या पैदा हुँदै आएको छ । त्यसो त विमानको चाप बढ्दै जाँदा त्रिभुवन विमानस्थल साँघुरो बन्दै गइरहेको छ ।

यो विमानस्थलको दीर्घकालिन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारको दरले वार्षिक करिव ६० लाख यात्रु यो विमानस्थलले हृयान्डल गर्ने लक्ष्य राखिएको छ । तर, सुरुमा भने ५/६ सय यात्रुलाई सेवा दिन सकिने शर्माले बताए ।

विश्वभरी रहेको साढे एक अर्ब बुद्धिष्ट पर्यटकलाई लक्षित गरी यो विमानस्थल बनाइएको शर्माले बताए । विमानस्थल बनेपछि बुद्धिष्ट पर्यटक सिधै लुम्बिनी आउने सक्छन् ।

Gautam Buddha Internationa Airport Project (3)

७९ विघा क्षेत्रफलमा फैलिएको विमानस्थललाई अन्तराष्ट्रिय रुपमा स्तरोन्नतीका लागि आयोजनाले प्रथम चरणमा २ सय ८ विघा जग्गा अधिग्रहण गरेको थियो । दोस्रो चरणमा अधिग्रहणका लागि प्रस्ताव गरेको १ सय ४० विघा जग्गा स्विकृत भइ अधिग्रहणको प्रक्रियामा रहेको छ ।

दोस्रो चरणको १ सय ४० विघा जग्गा अधिग्रहणका लागि जग्गाको नाँपजाँच, साँध किल्ला गाड्ने काम भइसकेको र मुआब्जा वितरण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला मुआब्जा मूल्याङ्कन समितिमा छलफल सुरु भइसकेको परियोजना प्रमुख शर्माले बताए । १ सय ४० विघा जग्गाको मुआब्जाको लागि २ अर्ब ४७ करोड रकम समेत विनियोजन भइसकेको छ । उक्त रकम नेपाल सरकारको आन्तरिक बजेट हो ।

Gautam Buddha Internationa Airport Project (4)त्यसैगरी, परियोजनाले विमानस्थलका लागि तेस्रो चरणमा थप २ सय ८८ विघा जग्गा अधिग्रहण गर्नका लागि प्रस्ताव गरेको छ । जुन अहिले विचाराधिन अवस्थामा छ । विचाराधिन अवस्थामा रहेको २ सय ८८ विघा जग्गा परियोजनाले अधिग्रहण गरेसँगै विमानस्थल कुल क्षेत्रफल ७ सय १५ विघा बढीको हुने छ ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सुरु भएको हो ।

भैरहवाबाट नविन अर्याल/सलमान खान/कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment