Comments Add Comment

प्रज्ञा-प्रतिष्ठानले भन्यो – वर्णविन्यासमा त्रुटि भेटिए सम्बोधन गरिन्छ

Academy

१३ असोज, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यास सम्बन्धी पछिल्ला बहसले सर्वसाधारण प्रयोक्ता भ्रममा परेको भन्दै भ्रम चिर्न आफू तयार रहेको जनाएको छ ।

प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गर्दै अहिलेसम्म नेपाली भाषाको मानक मानिँदै आएको नेपाली बृहत् शब्दकोशको विभिन्न संस्करण परिमार्जन र परिवर्धन गर्दा अन्यथा भेटिए त्यसलाई यथोचित सम्बोधन गर्ने स्पष्ट पारेको हो । प्रतिष्ठानका प्राज्ञहरुले आफैं शब्दकोशमा सुधार नगरेको पनि उसले प्रष्ट्याएको छ ।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा प्रतिष्ठानले आफ्नो बचाउ गर्दै लेखेको छ, ‘०५७ मा आयोजित नेपाली वर्णविन्यास अधिगोष्ठी र ०६७ मा भएको नेपाली भाषा सङ्गोष्ठीमा भाषाविज्ञहरुबीचको छलफलबाट आएका निष्कर्ष बमोजिम नै ०५८ र ०६७ मा शब्दकोशका संस्करणमा परिमार्जन र परिबर्धन गरिएका हुन् ।’

अहिले जथाभावी भइरहेको बहस र छलफलले नेपाली भाषाको विकासप्रति नकारात्मक प्रभाव पार्ने भन्दै भाषाविज्ञहरुलाई मर्यादित छलफल चलाउन समेत प्रतिष्ठानले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले वर्णविन्यास परिमार्जनका क्रममा संयुक्त वर्णहरु बिगारेको आरोप लगाउँदै पछिल्लो समय दुष्प्रचार गरिएको बताए ।

‘बजारमा होर्डिङ बोर्ड राखेर राष्ट्रपति, प्रधानमन्त्री लगायत शब्दहरुको जथाभावी हुर्मत लिइएको देखाइएको छ, यस्तो हल्ला कसरी चल्यो भनेर अचम्म लागिरहेको छ ।’ उप्रेतीले द वर्ण जोडिएका विद्या, विद्वान्, पद्य जस्ता केही शब्दहरु मात्र विद्यालय तहका बालबालिकालाई बुझाउन हलन्त व्यञ्जनका साथ लेखेर सरलीकरण गरिएको बताए । सो क्रममा वैकल्पिक रुपमा प्रचलित संयुक्त व्यञ्जनको प्रयोग गर्न सकिने ढोका पनि खुलै राखिएको उनले उल्लेख गरे ।

यो सँगै नेपाली भाषाको मानक पाठ्यक्रम तयार पार्न पाठ्यक्रम विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय केन्द्रीय समिति उत्तरदायी हुने विज्ञप्तिमा जनाइएको छ । प्रज्ञा-प्रतिष्ठान भने विज्ञहरुबीचको छलफलका निष्कर्षका आधारमा वर्षविन्यास, यसका कथ्य र लेख्य रुपको मानकीकरण गर्ने निकाय भएको प्रष्ट पार्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा आफ्नो प्रभाव नरहने संकेत गरिएको छ । परिवर्तित नियम सजिलो भएको भनी प्रतिक्रिया आएको प्रतिष्ठानका सदस्य-सचिव जीवेन्द्रदेव गिरीले समेत दाबी गरे ।

बृहत् शब्दकोशको परिमार्जनका क्रममा अघिल्ला अधिगोष्ठी र सङ्गोष्ठीका निष्कर्ष विपरीत भए-नभएको अध्ययन गरी केही छुटेको पाइए सम्बोधन गर्न गत भदौ मसान्तमै प्रा.डा. चूडामणि बन्धुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment