Comments Add Comment

प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

प्रधानमन्त्रीले दलको बैठकमा भने-एमालेले षड्यन्त्र गरेको रहेछ

४ कात्तिक, काठमाडौं । लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति एकाएक आश्चर्यचकित एवं नतमस्तक भए । उनले प्रधानमन्त्री पदबाटै राजीनामा दिने विचारसमेत गरे । उनलाई लाग्यो, कटवाल प्रकरणमा त म आफैंले निर्णय गरेको थिएँ, लोकमान प्रकरणमा भने मलाई आफ्नै पार्टीका साथीहरुले फसाए ।

prachanda-(4)

प्रचण्डलाई झनै अचम्म त केमा लाग्यो भने महाअभियोगमा उनकै विश्वासपात्र भनिएका सांसद सन्तु दराई र प्रमुख सचेतक टेकबहादुर बस्नेत लगायतको समेत हस्ताक्षर थियो, जबकि यसबारे प्रचण्डलाई नै पूर्वजानकारी थिएन ।

विहीबार बिहान हुँदै गएपछि प्रधानमन्त्री प्रचण्डको तनाव केही मथ्थर भयो । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई केही सभासदले विजुलीका पोल ट्रान्समिटरका लागि निवेदन लिएका रहेछन् । र, सोही निवेदनका लागि गरिएको हस्ताक्षर महाअभियोग दर्ताका बेला प्रयोग गरिएको रहेछ । विहीबार अपरान्ह बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका संसादहरुलाई भने- ‘म गोवामा भएका बेला एमालेले हाम्रा साथीहरुलाई प्रयोग गरेछ, हाम्रा साथीहरुले मेरा विरुद्ध षड्यन्त्र गरेका होइनन् र ती हस्ताक्षर दुरुपयोग भएको रहेछ भन्ने थाहा पाएपछि म अलि ढुक्क भएँ ।’

विहीबार माओवादीको संसदीय दलको बैठकमा एकदमै तनावपूर्ण स्थिति आएको र मन्त्री जनार्दन शर्मामाथि कारवाही हुनुपर्ने सांसदहरुले आवाज उठाएको माओवादी स्रोतले बतायो । बिजुलीको पोल माग्न गरिएको हस्ताक्षरलाई दरुपयोग गरेकोमा मन्त्री शर्मालाई सरकारबाट फिर्ता बोलाउनुपर्छ भन्ने बैठकमा सांसदहरुको माग रहेको माओवादीका एक नेताले अनलाइनखबरलाई बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेले आफ्नो दललाई फसाउन षडयन्त्र गरेको बताएका थिए । केपी ओली प्रधानमन्त्री भएका बेला आफूले लोकमानलाई महाअभियोग लगाउने प्रस्ताव राख्दा ओलीले नमानेको प्रचण्डले बैठकलाई जानकारी गराए । त्यसबेला ओलीले लोकमानसँग मिलेर माओवादीलाई फसाउन खोजेको उनले आशंका गरे ।
स्रोतका अनुसार संसदीय दलको बैठकमा प्रचण्डले यो पनि भने कि आफू गोवामा भएका बेला केपी ओलीले लोकमानलाई माओवादीविरुद्ध मुद्दा हाल्न आग्रह गरेको र लोकमानले नमानेपछि ओलीले माओवादीलाई समेत प्रयोग गरेर लोकमानमाथि प्रहार गर्ने नीति लिएका रहेछन् र सोही अनुसार पार्टीको निर्णयविनै माओवादी सांसदलाई प्रयोग गरेर महाअभियोग दर्ता गरिएको रहेछ ।

यद्यपि अब पार्टी लोकमानलाई जोगाउनेतिर लाग्न नसक्ने र उनीमाथि कारवाही गरिनुपर्ने प्रचण्डले दलको बैठकमा बताएको एक नेताले जानकारी दिए । तर, हस्ताक्षर दुरुपयोग गर्ने मन्त्री शर्मामाथि कारवाही हुने प्रधानमन्त्री प्रचण्डले बैठकमा संकेत गरेका छन् ।

नेपाली कांग्रेसका नेता शेरबहादुर र एमाले अध्यक्ष केपी ओलीवीच महाअभियोगबारे बुधबार सामान्य छलफल भए पनि हिजै प्रस्ताव दर्ता गर्ने कुनै निर्णय नभएको प्रधानमन्त्री प्रचण्डले बैठकमा बताएका छन् । यो विषय अदालतले नै टुंगो लगाओस् भन्ने आफूहरुको चाहना रहेको प्रचण्डले दलका नेताहरुलाई बताएका थिए ।

केही नेताले चाँहि एमालेका केही मेडिकल माफियामाथि लोकमानले कारवाही अघि बढाउन लागेकाले केपी ओलीसमेत महाअभियोगको पक्षमा लागेको विश्लेषण माओवादी बैठकमा सुनाएका थिए ।

जनमत महाअभियोगको पक्षमा

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले एकाएक महाअभियोगको विषयलाई एमालेको षडयन्त्रको संज्ञा दिएपपछि अब लोकमान बलियो हुने संकेत मिलेको छ । महाअभियोगमा प्रयोग गरिएको हस्ताक्षर नै कीर्ते थियो भन्ने पुष्टि भएको खण्डमा सो प्रस्ताव खारेज हुने र लोकमानको निलम्बन उल्टिने सम्भावना रहन्छ ।

त्यो अवस्थामा माओवादी पार्टीलाई लोकमानको संरक्षण गरेको आरोप लाग्न सक्छ । अहिले पब्लिक सेन्टिमेन्ट मूलतः लोकमानको विपक्षमा रहेकाले अब माओवादी पार्टी महाअभियोगबाट पछाडि फर्कंदा आत्मघाती हुन सक्ने माओवादीकै नेताहरु बताउँछन् । यो अवस्थामा माओवादीले जनमत विचार गर्दै अब महाअभियोगको प्रस्तावको पहल आफैंले लिनुपर्ने संसदीय दलको बैठकमा निश्कर्ष निकालिएको माओवादी स्रोतले बतायो ।

यी पनि पढ्नुस्

गृहमन्त्री विमलेन्द्र भन्छन्- लोकमान प्रकरण सरकार ढाल्ने एमालेको खेल हो

लोकमानलाई महाअभियोग लगाउने उर्जामन्त्री भन्छन्ः कारवाही स्वीकार्य छ

‘एमालेले अहंकार देखाएकै हो, तर कांग्रेस लोकमानको रक्षाकवच बन्न सक्दैन’

लोकमानलाई राजीनामा दिन योगेश भट्टराईको सुझाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment