Comments Add Comment

मोबाइल कल अब सस्तो, प्रतिसेकेण्डमै महशुल दर गणना हुने

५ चैत, काठमाडौं । वैशाखदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’ अवधि लागू गर्ने निर्णय गरेको छ ।

जसअनुसार अब सबै टेलिफोन कम्पनीको पल्स अवधि समान हुनेछ यसबाट पल्स रेट खुम्चिएर कल सस्तो हुनेछ । यसको फाइदा भने उपभोक्ताले पाउने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले अनलाइनखबरलाई बताए ।

पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधिको इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्छ भने कम हुँदा कल गर्दा काटिने रकम थोरै पर्छ ।

कति घट्यो पल्स ?

प्राधिकरणले सबै प्रकारका टेलफोन तथा मोबाइल सेवा प्रदायकको पल्स अवधि घटाएको प्रवक्ता अर्यालले बताए । ‘अब सबै कम्पनीको पल्स अधि एउटै हुनेछ । यसबाट उपभोक्तालाई निकै राहत मिल्छ’ अर्यालले भने । प्राधिकरणले घाटाएको पल्स अवधि दुई चरणमा गरेर लागू हनेछ ।

पहिलो चरणमा पीएसटीएनमा ६० सेकेन्ड, पल्स अवधिक तय गरिएको छ भने मोबाइलमार्फत देश भित्र हुने कलमा १० सेकेन्ड र देशबाहिर हुने मोबाइल कलमा ३० सेकेन्ड पल्स तोकिएको छ ।

दोस्रो चरणमा पीएसटीएनमा ६० सेकेन्डको पल्स कायम राखिने छ भने मोबाइलमार्फत हुने आन्तरिक मोबाइलमा १ सेकेन्ड तथा विदशेमा हुने कलमा १० सेकेन्ड निर्धारण गरिएको छ ।

पहिलो चरणको पल्स अवधिको गणना नयाँवर्षबाट लागू हुनेछ । दोस्रो चरणको पल्स गणना आगामी कार्तिकबाट सुरु हुनेछ ।

के हो पल्स ?

‘कार्तिकदेखि एक सेकेण्ड कल गरेको शुल्क एक सेकेण्ड बराबरकै काटिनेछ’ अर्यालले भने,’अहिले सेवा प्रदायकअनुसार पल्स अवधि फरक छ । बैशाखबाट मोबाइलको आन्तरिक कल पल्स १० सेकेण्डमा आउँछ भने कार्तिकबाट त सेकेण्डको पैसा सेकेण्डकै गणना गरेर काटिनेछ ।’

प्राधिकरणले नयाँ पल्स अवधिलाई कार्यान्वयन गर्न निर्देशन दिँदै पत्रात्रचार गरिएको उनले बताए । अब सेवा प्रदायकले नयाँ पल्स अवधि राखेर आफ्नो बिलिङ प्रणालीलाई ब्यवस्थापन गर्नेछन् ।

कति सेकेण्डमा कति शुल्क सेवाग्राहीबाट काट्ने भन्ने नै पल्स अवधि हो । पल्स रेट यसैमा आधारित हुन्छ ।  उदाहरणका लागि कुनै कम्पनीले पल्स अवधि २० सकेण्डको शुल्क ३० पैसामा राखेको छ त्यसको १ सेकेण्ड कल हुँदा पनि ३० पैसा नै काट्छ । २१ सेकेण्ड लाग्नासाथ उसले ४० सेकेण्डसम्मको ६० पैसा महशुल काट्छ । त्यसअनुसार २२ सेकेण्डमै फोन राखियो भने पनि उसले दोब्बर पैसा तिर्न उपभोक्ता बाध्य छन् ।

बैशाखपछि भने यो पल्स अवधि आन्तरिक कलमा १० सेकेण्डमा झर्नेछ भने कार्तिकबाट भने एक सेकेण्डमा झर्नेछ । प्राधिकरणको बोर्ड बैठकले माघ २१ गते पल्स अवधि घटाएर एकरुपता काया गर्ने निर्णय गरेको थियो ।

‘अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नै पल्स अवधि घटाइएको हो’ प्रवक्ता अर्यालले भने,’उपभोक्तालाई लामो पल्स अवधिले अनावश्यक महशुल भार बढाएकाले घटाउने निर्णय गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment