Comments Add Comment

प्रधानन्यायाधीश सुशीला कार्कीको पेन्सन पट्टा अर्थले रोक्योः ओली

अर्थमन्त्रालय भन्छ- केपी ओलीको आरोप झूठा हो

२३ जेठ, काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पेन्सन पट्टा बनाउन अर्थ मन्त्रालयले रोकेको गुनासो संसदमा गरेका छन् ।

प्रधानन्यायाधीश सुुशीला कार्कीले मंगलबार नियमित अवकाश लिएकी छन् । उनी सोमबार अर्थ मन्त्रालयमा गएकी तर, महाअभियोग लागेको भन्दै उनको पेन्सन पट्टाको कागज बनाउन रोकेको ओलीले संसदमा सुनाए ।

मंगलबारको संसदलाई सम्बोधन गर्दै ओलीले भने, ‘असहमति हुने वित्तिकै यस्तो अपमानजनक व्यवहार गर्न सुहाउँदैन ।’

महाअभियोग लागेको थाहा पाउने अर्थ मन्त्रालयले फिर्ता भएको किन थाहा पाएन भन्दै ओलीले प्रश्न गरे, ‘अर्थ मन्त्रालय कसको निर्देशनमा चल्छ ?’

अर्थमन्त्रालय भन्छ- केपी ओलीको आरोप झूठा हो

विपक्षी दलका नेता केपी ओलीले सुशीला कार्कीको पेन्सन पट्टा बनाउन अर्थ मन्त्रालयले रोकेको बताए पनि अर्थमन्त्रालयले यसलाई ‘झूठ’ संज्ञा दिएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले अनलाइनखबरसँग भने- ‘यो झूठो कुरा हो, अर्थमन्त्रालयसँग सरोकारको विषय नै होइन । पेन्सन पट्टा बनाउने काम निवृत्तिभरण व्यवस्थापन कार्यालयले गर्छ ।’

अदालतकै कर्मचारीबाट कमजोरी

प्रधानन्यायाधीश कार्कीको पेन्सनपट्टाको कागजात बनाउन निवृत्तिभरण व्यवस्थापन कार्यालयले अस्वीकार नगरेको तर अदालतकै कर्मचारीले समयमा पेश नगरिदिएकाले ढिलासुस्ती भएको स्रोतले बतायो ।

प्रधानन्यायाधीश कार्की निकट स्रोतले भन्यो- ‘महाअभियोग लागेको हुनाले पेन्सनपट्टा बन्दैन भनेर कसैले भनेको छैन, तर काममा ढीलासुस्ती भएको छ, सात दिनअगावै कर्मचारीले काम गरिदिनुपर्नेमा ढीलो गरी प्रोसेस चालेको हुनाले कागजात बन्न ढीलो भएको हो ।’

यसैवीच निवृत्तिभरण व्यवस्थापन कार्यालयले अनलाइनखबरलाई लिएको जानकारीअनुसार प्रधानन्यायाधीश कार्कीका सहयोगीले पेन्सनपट्टा बनाएर लगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment