+
+
Shares

आँचल शर्माको प्रशंसामा सुशीला कार्की : उहाँ अझै १०-१५ वर्ष चल्नुहुन्छ तर फिट हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'एक मुठ्ठी बादल'को प्रिमियरमा पूर्वप्रधानमन्त्री सुशीला कार्की, राजनीतिज्ञ र फिल्मकर्मी सहभागी भएका थिए।
  • कार्कीले फिल्मलाई आर्ट सिनेमा र मध्यमवर्गीय परिवारको कथा भन्दै अभिनेत्री आँचल शर्माको अभिनयको प्रशंसा गरिन्।
  • निर्देशक साहारा शर्माको डेब्यू फिल्ममा महिला नेतृत्व रहेको छ र नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक मुठ्ठी बादल’लाई प्रिमियर गरिएको छ । ‘प्राइभेट स्क्रिनिङ’ नाम दिइएको उक्त कार्यक्रममा फिल्म हेर्न पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि राजनीतिज्ञ, फिल्मकर्मी, संचारकर्मी पुगेका थिए ।

फिल्म हेरेपछि कार्कीले फिल्मको प्रशंसा गरिन् । उनले कथावस्तु र विशेषगरि अभिनेत्री आँचल शर्माको अभिनयको प्रशंसा गरिन् ।

‘म सिनेमा चाहीँ बहुत कम हेर्ने मान्छु हुँ । सिनेमा ज्यादै कम हेर्छु । अहिले हेरेँ भनेपनि पुरानो सिनेमाहरु हेर्छु’ कार्कीले भनिन्, ‘अब हाम्रो नीताजी, यो सिनेमा बनाउने मान्छे, निर्माताको आमा चाहीँ एउटै कम्युनिटी न्यायाधीश । उहाँहरुले निमन्त्रणा दिनुभयो । अनि त्यसपछि हुन्छ भनेर म आएँ । अब सिनेमाको मुल्याकंन भन्नु हुन्छ भने सवैले आफ्नो आफ्नो दृष्टिकोणबाट हेर्नुहुन्छ ।’

पूर्वप्रधानमन्त्री कार्कीले अगाडी भनिन्, ‘मलाई यो आर्ट सिनेमा जस्तो लाग्छ । दोस्रो नम्बरमा यसले अहिलेको समाज देखाएको छ । तेस्रो नम्बरमा यो मध्यमवर्गीय परिवारको कथा हो । अनि मात्र मलाई लाग्छ, दुई दिन अर्थात एक रात र भोलीपल्टको कथा हो । अझै भनौं समाजको द्धन्द्व पनि हो । मानौं बाउआमा पुरानो पुस्ता र छोराछोरी जेन्जी । अहिलेको सन्तानमा पुरानो संस्कारलाई एसेप्ट गर्न अलि गाह्रो नै पर्छ । आधुनिक र पारिवारिक समाजबीचको टकरावलाई सिनेमामा हेर्न पाइन्छ ।’

‘त्यसमाथी मध्यमवर्गीय परिवारमा आर्थिक हैसियत नमिलेको एउटा छोरीको त्यस्तै परिवारमा विहे भएको छ । ज्वाइँ अलि हेपिएको पनि देखिन्छ । एउटा छोरी अमेरिकाबाट पढेर आएकी छ । जसको आमाबाउले आफ्नो सम्पत्ति बेचबाच गरेर भएपनि सन्तानको खुशीको लागि बाहिर पठाउँछन् । उसको राम्रो घर परिवारमा बिहे हुन्छ । त्यसले कसरी परिवारको असमानता देखाउँछ भन्ने सिनेमाले देखाएको छ,’ उनले भनिन् ।

कार्कीले अभिनेत्री आँचलको पनि प्रशंसा गरिन् । अझै १०-१५ वर्ष आँचल चल्ने बताउँदै कार्कीले यसका लागि फिट हुन जरुरी रहेको बताइन् । ‘यहाँ हेर्दा यति राम्री, त्यो फिल्ममा मोटी मोटी देखेको छ । तर, उहाँको भविष्य मैले राम्रो देख्या छु । एकदम राम्रो छ । उहाँ अलिक बार १०-१५ वर्ष चल्नुहुन्छ मिहेनत गर्नुभयो भने । ज्यादै चल्नुहुन्छ । यत्तिकै फिट हुनुुपर्छ तर । पछि रोल पनि पाइन्छ’ उनले भनिन् ।

कांग्रेस नेता सुनिल थापाले पनि सिनेमाले देखाउन खोजेको सन्देश मार्मिक रहेको बताए । रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीले नेपालमा बनेको अहिलेसम्मकै उत्कृष्ट सिनेमा यो रहेको बताए । नेपाली सिनेमाको बारेमा कसैले सोधे ‘एक मुठ्ठी बादल’ हेर्न सिफारिस गर्न आग्रह उनले गरेका थिए ।

साहारा शर्माको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको अभिनय छ ।

फिल्मलाइ अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् । लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?