News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ को टिजर सार्वजनिक भएको छ।
- फिल्ममा आँचलले वाचन गरेको कविता ‘पोम्पोईको फूल’ वरिपरि टिजर घुमेको छ र यो कविता निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ।
- फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेका हुन् र नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
काठमाडौं । अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ टिजर सार्वजनिक भएको छ ।
प्रमुख कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो वरिपरि टिजर घुमेको छ । कवितासँगै टिजरले फिल्मका मुख्य कलाकारलाई परिचित गराएको छ ।
निर्माण टिमले टिजरलाई आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको जनाएको छ । यो कविता फिल्म लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ ।
निर्देशक शर्माका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो ।
सहारा भन्छिन्, ‘यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा धेरै आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ ।’
अभिनेत्री शर्माले यो फिल्म आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन् ।
‘अरु चलचित्रमा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,’ उनको भनाइ छ ।
फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको पनि अभिनय छ ।
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल छन् ।
फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप छ ।
मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।
फिल्मका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।
प्रतिक्रिया 4