Comments Add Comment

शिक्षण अस्पतालमा हेलिप्याडसहित अत्याधुनिक भवन बन्ने

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले हेलिप्याडसहित अत्याधुनिक १० तल्ले भवन निर्माणको तयारी सुरु गरेको छ । भवन निर्माणका लागि अस्पताल र भाटभटेनी सुपर मार्केटबीच लिखित समझदारी भएको निर्देशक डा. दीपक महराले जानकारी दिए ।

इमर्जेन्सीनजिकै हाल सुरक्षा गार्ड बस्न बनाइएको विल्डिङ्गलाई भत्काएर १० तल्ले भवन बनाइनेछ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आफ्ना आमाबाबुका नाममा बनाइदिन लागेको यो भवनमा विस्तारित स्वास्थ्य सेवा (इएचएस) मात्र सञ्चालन गर्ने योजना रहेको अस्पतालका निर्देशक डा. महराले बताए ।

‘हामीले चाहेर पनि अस्पतालमा यो सेवा विस्तार गर्न सकेका थिएनौं’ निर्देशक महराले भने,‘नयाँ भवनमा इएचएसका विरामीले मात्र पूर्ण रुपमा सेवा पाउनेछन् ।’

डा. महराका अनुसार हाल अस्पतालमा दैनिक ओपिडीमा १६ सयदेखि दुई हजार विरामी आउने गर्छन् । त्यस्तै इमर्जेन्सीमा १५० भन्दा बढी विरामी आउने गर्छन् । त्यसबाहेक शिक्षण अस्पतालमा विशेष किसिमका ११ वटा सघन उपचार कक्ष (आईसीयू) का साथै ५६ वटा आईसीयू पनि सञ्चालनमा छ ।

नयाँ भवन बनेसँगै अस्पतालले एउटा कोष खडा गर्ने भएको छ, जसमा अस्पतालमा इएचएसमा आउने विरामीले तिरेको पैसाको निश्चित रकम विपन्नको खातामा जानेछ ।

भवन निर्माणको लागि भाटभटेनीले केही शर्त राखेको छ । जसमा भवनको नाममा उनको आमाबाबुको नाममा राख्नु पर्ने, भवनमा अन्डरग्राउण्ड पार्किङ्ग बनाउनु पर्ने तथा विरामी कुरुवाका लागि सुविधायुक्त कक्ष हुनु पर्ने लगायत छन् ।
‘जब भाटभटेनीले भवन निःशुल्क बनाइदिँदैछ र त्यसमा सुविधा दिन्छु भनिरहेको छ भने हामीले उहाँहरुको शर्त मान्छौं भनेका छौं’, डा. महराले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment