Comments Add Comment

हामी कस्तो देशका कलाकार हौं भन्ने सोच्नुपर्दछ

प्रमोद खरेल, गायक

नेपाली सुगम संगीत र पप संगीतदेखि पाश्र्व गायनमा प्रमोद खरेलको नाम कुनै नौलो होइन । मबिना कसै कसैलाई, त्यो अंगालोभरिको माया, किन लाग्छ माया जस्ता चर्चित गीत गाएका प्रमोद आफूलाई सादा जीवन जिउने कलाकारका रुपमा चिनाउन चाहनुहुन्छ । गायक प्रमोद यतिबेला के गर्दै हुनुहुन्छ ? उहाँको दिनचर्या र अन्य विषयमा अनलाइनखबरका लागि विजयआवाजले गरेको कुराकानी :

Pramod kharel

केमा व्यस्त हुनुहुन्छ, जीवन कसरी चल्दै छ ?

– संगीतकै काममा व्यस्त छु । प्राय समय स्टुडियो र रियाजमा नै बिताउछु । बाँकी समय कन्र्सट, सांगीतिक कार्यक्रममा नै वित्छ ।

प्रमोद खरेलको जीवनमा संगीत नभएको भए के हुन्थ्यो होला ?

– संगीतले मलाई वास्तविकतामा बाँच्न सिकायो । समाजमा हिँड्न सिकायो । हाउभाउमा परिवर्तन ल्यायो । हिँड्ने जीन्दगीको वातावरणमा नै परिवर्तन ल्यादिएको छ । म्यूजिक क्षेत्रमा लहै लहैमा लागेर केही पनि हुनेवाला छैन । मलाई त भगवानले नै तैंले गाउनुपर्छ भन्नुभएको रहेछ । सायद यसैले आजसम्म यो क्षेत्रमा सक्रिय छु ।

कसले बनायो तपाईलाई गायक ?

– म यो क्षेत्रमा आउनका लागि एक्लो छैन । मसँगै पढेका साथीहरु, अग्रज श्रष्टाहरुको ठूलो हात छ । उहाँहरुले मलाई बाटो देखाइदिनुभएको छ । यसपछि मिडियाले मलाई दर्शक स्रोतासम्म पुर्‍यायो । मेरा स्रोताहरुले मलाई स्वीकार गर्नुभयो । अनि मलाई हरेक समय साथ दिने मेरा बुवाआमाको ठूलो हात छ ।

संघर्ष कत्तिको गर्नुभयो यो क्षेत्रमा ?

– संघर्ष नगरिकन त यो क्षेत्रमा आइँदैन । संघर्षबिना तपाइले पाउनुभएको कुरा दिगो हुँदैन । संघर्षबिनाको संगीतको मुल्य पनि छैन । भोकभोकै धेरै हिँडियो । म्यूजिक नै सिक्छु भनेर खाजा खाने रकम बचाएर हार्मोनियम किनेको थिए मैले । मैले हिजो पनि दुख गरेको थिए र आज पनि गरिरहेको छु ।

यो लगाव बच्चादेखि नै हो या पछि आएर भएको हो ?

– म जन्मदेखि नै गाउने गर्दथें । म ७ कक्षादेखि नै कहिले बसेर पढ्दिनथें । बसेर पढ्दा निद्रा लाग्छ भनेर मैले सधैं उभिएर नै पढें । बच्चादेखि नै गीत गाए पनि आइएसी पढ्ने समयदेखि मैले औपचारिक रुपमा गाउन थालेको हुँ । अरुको नक्कल गरेर मैले गाउने गर्दथें, जसले गर्दा मैले दर्शकको ताली पाएँ ।

तपाई सोनु निगमको फ्यान सानैबाट हो कि पछि आएर बन्नुभएको ?

– मैले गीत गाउन थालेदेखि नै उहाँको गीत सुनेको थिएँ । बोर्डर सिनेमाको गीत सुनेपछि त म झनै उहाँको फ्यान भएँ । उहाँ र मेरो कपाल पनि उस्तै छ । उहाँको पनि प्राकृतिक मेरो पनि प्राकृतिक नै हो ।

सोनु निगमलाई भेट्नु भएको छ ?

– केही लामो दुरीबाट त मैले भेटेको छु । तर, गफ नै गरेर भेट्न पाएको भने छैन । उहाँले मेरा लागि एउटा भिडियो पठाउनुभएको थियो, मैले पनि आफ्ना गीतहरु पठाएको छु ।

तपाईको पछिल्लो एल्बमको ‘हंगामा भो’ बोलको गीत कस्तो चलिरहेको छ ?

– मैले मिडियाबाट छोटो समयमा नै राम्रो प्रतिक्रिया पाएको छु । सबैले राम्रो भनिदिनु भएको छ । केही समयअघि अष्ट्रेलिया पुगेर आउँदा पनि मैले छोटो समयमा नै वान्स मोर पाएको थिएँ । अहिले त्यसैको प्रमोशनमा व्यस्त छु ।

यो गीतमा के नयाँ प्रयोग गर्नुभयो ?

– यसमा सबै कुराहरु नयाँ प्रयोग भएका छन् । जादु चलायौ तिमीले बोलको गीतले सुन्दरतालाई र ग्ल्यामरलाई प्रतिनिधित्व गरेको छ ।

विदेश खुबै जानुहुन्छ, आम्दानी कस्तो छ त ?

– विदेश गएर आम्दानी मात्र हुन्छ भनेर मैले सोचेको छैन । म कुनै पनि देशमा पुगेर आफ्नो स्टारडम देखाउदिन । म कुनै पनि देशमा पुगेर त्यहाँ रहेका नेपालीहरुको जीवन जीउने शैलीलाई पछ्याउँछु । कत्ति पटक त मैले नेपालीहरु बसेको स्थानमा नै पुगेर उहाँहरुसँग कुरा पनि गरेको छु ।

संगीत उद्योग धराशायी भएको अवस्थामा, के विदेशका कार्यक्रम नभएको भए कलाकारहरुको जीन्दगी चल्थ्यो होला ?

– यो प्रश्न किन उठ्छ भन्ने लाग्छ मलाई । किनकि एउटा कुरा नभएको भए अर्को विकल्प आउथ्यो होला नि । सीडी विक्री नभएपछि डीजीटल प्रविधि आयो नि हैन ? यसैले केही न केही विकल्प आइहाल्छ भन्ने लाग्छ । म निक्कै आशावादी मानिस हुँ । आशावादी नभएको भए म उहिल्यै हराउने थिएँ ।

अबको योजना के छ त ?

– मसँग संगीत नै छ, अरु त के भन्नु र । नयाँ नयाँ प्रोजेक्टहरु पनि छन् । यसैलाई निरन्तरता दिने तयारीमा छु ।

बलिउड फिल्ममा गाऔं या हिन्दी एल्बम निकालौं भन्ने सोच छैन ?

– मेरो आगामी योजना नै हिन्दी सिनेमा निकाल्ने हो । त्यो काम म निक्कै चाडो गर्दैछु । अब बलिउडमा नै छिर्नका लागि त पहिलेदेखि नै तयारी गर्नुपथ्र्यो । बलिउड धेरै व्यवसायिक भैसकेको छ । असम्भव त केही पनि छैन, हेरांै के के हुन्छ ।

गायकहरु नेपाली फिल्म नगरीमा आएका पनि छन्, तपाइको सोच हिरो बन्ने छ कि छैन ?

– अफर त आएको थियो मलाई । तर, म्यूजिकल फिल्म भयो भने म गर्छु । म्यूजिकको विषयमा हरेक अभिभावकलाई देखाउन सकियोस्, यस्तो फिल्म गर्न चाहन्छु म ।

सानैबाट गायक गायिका बन्छु भनेर आउनेहरुका लागि पैसाले गायक गायिका बनेकाहरुले अप्ठ्यारो पारेका छन् जस्तो लाग्छ तपाइलाई ?

– हेर्नुहोस् मुख्य कुरा मिडिया जागरुक हुनुपर्‍यो । यदि मिडियाले छान्ने हो भने यस्ता कुराले खासै केही फरक पार्दैन ।

एल्बम निकाल्दा ज्योतिषको भर पर्नुहुन्छ ?

–मैले आजसम्म जति पनि एल्बम निकालेको छु, सबै ँयोतिषलाई हात हेराएर नै गरेको छु । मलाई प बाट सुरु हुने शब्द फाप्छ । यसैले मैले प्रणय, प्रवेग, प्राप्ती लगायतका एल्बमको नाम पबाटै राखेको छु । अहिले निकालेको हंगामामा पनि प्रणय भाग २ भनेर जोडेको छु ।

तपाई कस्तो मानिस हो ?

– म एकदमै सिधा र मिहेनतमा विश्वास गर्ने मानिस हुँ । मनले आट्यो भने कुनै पनि काम गरेरै छोड्छु । सुरुमा मानिसहरुसँग त्यति बोल्दिँन तर खुलेपछि साथी बनाइहाल्छु ।

एकजना गायकले सेलिब्रेटी भैसकेपछि उसँग गाडी होस्, घर होस्, मिडियाले खिच्दा पनि घरको गेट, गाडी चढ्दै गरेको तस्बिर खिचोस् भन्नुभएको थियो । तपाई यो कुरा मान्नुहुन्छ ?

– त्यो उहाँको सोच हो, म केही भन्दिँन । तर, तपाई कुन देशको नागरिक हो भन्ने कुरा बिर्सन हँुदैन । तपाईको देशको प्रधानमन्त्रीले कति तलब खान्छ भन्ने पनि सोच्नुहोस् । हामी कस्तो देशका कलाकार हौं र हामीले के आशा गर्ने भन्ने कुरा सोच्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment