Comments Add Comment

तिलोत्तमामा सरकारी मेडिकल कलेजको कार्यालय स्थापना

Photo Credit : बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय /अनलाइनखबर

४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रस्ताव गरिएको सरकारी मेडिकल कलेजको आयोजना कार्यालय स्थापना भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँ मिलदेखि ५०० मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको हो ।

मासिक ३५ हजार भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी छ ।

आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुनेछैन । धेरैजसो कामहरु कानुनी प्रकृयामा भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव मानबहादुर घिमिरेले बताए ।

मेडिकल कलेज आयोजना कार्यालयको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते गर्ने कार्यक्रम तय भएको आयोजनाका लागि खटाइएका उपसचिव घिमिरेले जानकारी दिए । उनले भने, ‘अरु कुनै इमर्जेन्सी परे अर्कै कुरा हो तर अहिलेसम्म ८ गते प्रधानमन्त्रीले नै कार्यालय उदघाटन गर्ने तयारी छ ।’

स्वास्थ्य क्षेत्रको जनशक्ति प्रदेशमै उत्पादन गर्ने उद्देश्यलेे वर्तमान सरकारले सात वटै प्रदेशमा एक-एक वटा सरकारी मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो ।

गत फागुन ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

कार्यालय उद्घाटनसँगै आयोजनाका काम शुरु हुनेछन् । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ ।

योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । डीपीपआर लगत्तै २ सय बिघा जग्गामा तत्काल २ वटा ठूला भवन बन्ने छन् । वन क्षेत्र भएकाले ठूला रुख नकाटी तिनलाई पार्क र बगैंचाका रुपमा व्यवस्थित गर्दै कलेज सञ्चालन गरिने छ ।

रुपन्देही-२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय बिघा जग्गा मेडिकल कलेज बनाउन दिने निर्णय यसअघि नै भइसकेको छ । कम्तीमा तीन सय शय्याको अस्पताल बनाएर तीन वर्षसम्म सञ्चालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान अहिले छ ।

तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । यद्यपि तत्कालीन सरकार ढलेसँगै मेडिकल कलेजको प्रक्रिया रोकिएको थियो ।

कार्यालय स्थापनासँगै प्रारम्भीक रुपमा सरकारी मेडिकल कलेज बन्ने प्रक्रियाले स्थानीय बासिन्दा खुसी भएका तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । ‘आयोजनाको कार्यालय स्थापनाको खबरले नगरवासी मात्र होइन, समग्र प्रदेशवासी खुशी भएका छन्,’ उनले भने ।

निजी अस्पताल धेरै भएपनि महंगा र विशेषज्ञ सुविधा पर्याप्त नहुँदा रुपन्देहीवासीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अझै पनि छ । अहिले रुपन्देहीको भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज गरी दुईवटा निजी क्षेत्रका मेडिकल कलेज सञ्चालनमा छन् भने बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल छ । रुपन्देहीमा अहिले ५ नम्बर प्रदेशका १२ जिल्लासहित प्रदेश ४ का स्याङजा, बागलुङ तथा सीमावर्ती भारतीय शहरबाट समेत विरामीहरु उपचार गर्न आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment