News Summary
Generated by OK AI. Editorially reviewed.- वित्तीय प्रणालीमा अधिक तरलता बढेर नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ।
- राष्ट्र बैंकले शुक्रबार ७५ अर्ब रुपैयाँ बराबरको २ महिनाको निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्ने भएको छ।
- निरन्तर निक्षेप बढ्नु, कर्जाको माग घट्नु र रेमिट्यान्स आप्रवाह सुधार हुँदा वित्तीय प्रणालीमा तरलता बढेको छ।
२६ भदौ, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा कर्जाको माग घट्दा अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता हुँदा अल्पकालीन ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदर घट्छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत भन्दा घट्न नदिने नीति लिएको छ । यो दरलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले तरलता खिच्ने र पठाउने गर्दै आएको छ । तथापी पछिल्लो समयमा अधिक तरलता भएर खिच्ने काम मात्रै भएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन, ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको अधिक तरलता खिच्दै आएको छ । शुक्रबार पनि बैंकले ७५ अर्ब रुपैयाँ बराबरको २ महिना अवधिको निक्षेप संकलन उपरकण मार्फत तरलता खिच्न लागको हो ।
केन्द्रीय बैंकले यसअघि सोमबार पनि ३५ अर्बको निक्षेप संकलन उपकरण जारी गरेको छ । रेमिट्यान्स आप्रबाहमा भएको निरन्तर सुधारले पनि वित्तीय प्रणालीमा तरलता बढेको हो । त्यसका साथै सुस्त अर्थतन्त्रका कारण वित्तीय क्षेत्रमा कर्जाको माग नबढ्दा पनि तरलता बढ्न थप मद्दत पुगेको हो ।
राष्ट्र बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब ४० अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई पुन खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।
निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ५.७५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4