News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा–भोटेकोशी बाढीमा पूर्वसूचना पुगे पनि जोखिमको अर्थ नबुझ्दा धेरै बासिन्दा सुरक्षित स्थानतर्फ नगएको लेखमा उल्लेख गरिएको छ।
- लाइभ गरिरहेका केही कन्टेन्ट क्रियटरहरू छालबाट भागेर जोगिए र उनीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भए।
- लेखले एसएमएस अलर्टभन्दा प्रभावकारी जोखिम सञ्चार, व्यवहार परिवर्तन र जोखिमको भाषा अद्यावधिक गर्नुपर्ने निष्कर्ष निकालेको छ।
जीवन र मृत्यु बीचको समय वा दूरी कति हुन्छ ? रसुवा बाढीपछि एल्गोरिदमले फोनको स्क्रिनभरि कतै प्रश्न त कतै उत्तर छरपस्ट पारिदिएको छ।
फोनको क्यामेरा भोटेकोशीतिर फर्काएर लाइभ गरिरहेका केही केटाहरूलाई स्याफ्रुतिरको सडकमा गोमन सर्पले जस्तो फणा उठाएर छालले लखेटिरहेको छ। उनीहरू भाग्दैछन्, तर उनीहरूको मनमा डरले अझै आकार लिइसकेको छैन। त्रिशूली नदीको पुल छेउछाउ कन्टेन्टका लागि नदीको वेग र जीवन बीचको रस्साकस्सी चलिरहेको देखिन्छ। त्यहाँ केही सेकेन्डको अन्तरालले जीवन र मृत्यु बीचको दूरी तय गरिरहेको छ।
संयोगले ती कन्टेन्ट क्रियटरहरूले केही सेकेन्डले मृत्यु जिते र उनीहरूका कन्टेन्ट भाइरल भए। नत्र ती पनि मृतक वा बेपत्ताका तथ्याङ्कमा सीमित हुनेथिए।
मिहिन रूपमा हेर्दा सबैजसो भिडियोमा स्पष्ट समानता छ। अधिकांशले रिसले जङ्गिएको नदीको जोखिम आकलन गर्न सकेका छैनन्। न त नदीको वेगलाई बुझाउने ठ्याक्कै शब्द भेट्टाएका छन्। दशकौं त्यही नदी किनारमा बिताएका, नदीको वय, बहाव र बान्की पढ्दै हुर्किएका हजुरआमा–हजुरबा पुस्ताले समेत नदेखेको नदीको त्यो असामान्य अवतार थियो। त्यो न त कसैले जानेको बाढी थियो, न त भोगेको जोखिम।

त्यसो त पानीको वेग शब्दमा नाप्नु साह्रै अप्ठ्यारो काम हो; कम्तीमा यस्ता अकल्पनीय दुर्घटनाहरूमा। त्यसैले हामी ‘हिमाली सुनामी’ जस्ता ‘अक्जिमोरोन’ (दुई विपरीत अर्थ दिने शब्दलाई सँगै राखेर बनाइने शब्दावली) को सहाराले भोटेकोशीको उद्दण्डतालाई नाप्ने प्रयास गरिरहेका छौं। नामकरणको सङ्कट त घटनापछिको कुरा भयो। त्यस क्षण प्रत्यक्ष भोग्नेहरूलाई नदीको त्यो स्वरूपले कति अवाक् बनायो होला !
प्रकृतिसँग परास्त हुँदाको भावना वर्णन गर्न मान्छे शताब्दीयौंदेखि शब्दको खोजीमा छ। आजभन्दा झन्डै २३६ वर्षअगाडि जर्मन दार्शनिक इम्यानुअल कान्टले इन्द्रियहरूको सीमितता र हाम्रो निरीहपनको भावना बुझाउने शब्द सुझाए- ‘सब्लाइम’। प्रकृतिको विशाल र भयावह शक्तिका अगाडि मान्छेलाई हुने अभिभूतकारी अनुभवलाई उनले सन् १७९० को कृति ‘द क्रिटिक अफ जजमेन्ट’ मा सब्लाइम शब्द प्रयोग गरेका छन्।
आफू जोखिमबाट जोगिएपछि मात्र महसुस गर्न सकिने यस्तो अनुभूति शायद पहाडको टुप्पोमा बसेर खोंचमा घटित प्रलयको दृश्य हेर्ने अनि खिच्नेहरूले अनुभव गरे। अठारौं शताब्दीमा अहिले जस्तो हातहातमा मोबाइल फोन भएको भए बहुलाएको नदीलाई क्यामेरामा कैद गर्ने कन्टेन्ट क्रियटरहरूको ‘एड्रिनालिन रस’ र स्क्रिनमा हेरेर हामीले पाइरहेको ‘डिजिटल डोपामिन’ लाई पनि कान्टले के सब्लाइम नै भन्दा हुन् ?
यो बाढीको अनुभूति हाम्रो जोखिम बोधको ऐना थियो। हाम्रो जोखिम बोधको संस्कृतिले जोखिमलाई सामान्यीकरण गर्न सिकाएको छ। त्यसैले यो विपद्मा देखिएका दृश्यहरू पनि धेरै हदसम्म हाम्रो समाजको चेतना र जोखिमको बुझाइका प्रतिबिम्ब हुन्। चेतावनीका बाबजुद बाढी हेर्न नदीको पुलमा भेला हुनु, सडकमा ढुङ्गा र गेग्रान सहित पहिरो खसिरहँदा स्वाट्टै सवारी साधन पार गराउनु जस्ता जोखिमसँगको खेलबाड हाम्रा लागि अति सामान्य दृश्य हुन्। त्यसो त एक दशकअगाडि भूकम्पले जगैसम्म हल्लाएका घरको सुरक्षाको जिम्मा फलामे टेकोहरूलाई दिएर आनन्दको निद्रा निदाउने असन र इन्द्रचोकका गल्लीहरू अझै छँदै छन्।
भूपी शेरचन थिए भने उनले यही कविता दोहोर्याउँदा हुन्— ‘हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं।’
तर के यहाँ वीरता देखाउने होडमा नै हजारौं मानिसले मृत्युलाई चुनौती दिएका हुन् त ? यो प्रश्नलाई पर्गेल्नु आवश्यक छ।
जोखिमलाई सामान्य ठान्ने सामाजिक संस्कारमा पूर्वसूचनाको पहुँच मात्रै पर्याप्त हुँदैन। त्यससँगै सामाजिक मनोविज्ञान र चेतनाको चिरफार जरुरी छ। त्यस दिन निमेषको अन्तरालमा आएको त्यो प्रलयमा उपल्लो भेगमा बाँचेकाहरू जिजीविषाको लहरो समातेर पहाडतिर घस्रिएर जोगिएका हुन्। तर तल्लो तटीय क्षेत्रका बासिन्दालाई लाखौं एसएमएस अलर्ट मार्फत ‘ठूलो’ बाढीबारे सचेत गराउँदै सुरक्षित स्थानतर्फ जान भनिएको थियो। त्यति हुँदाहुँदै पनि धेरै जीवन पानीमा विलाए।
केही फेसबुके भिडियोमा हाइड्रोपावरको क्याम्पमा पनि खतराको साइरन बजेको देखिन्छ। शायद आँगनबाट खोंचतिर हेर्दा भदौको घमाइलो बिहानीमा भोटेकोशीलाई केही हतार थिएन। सधैं झैं फुर्सदले बग्दै थियो। त्यसैले साइरनले जोखिमको आकार र समयको सीमितता प्रसार नै गरेन। खतराको सूचना पाएपछि पनि कोही झोला झिक्न भित्र पसे। कोही त्यहाँबाट निस्किन गाडी खोज्न थाले।
‘सर्भाइभर’ हरूले मिलिसेकेन्ड र सेकेन्डको अवधिले मृत्यु जितेको कथा सुनाइरहँदा पूर्वसूचना पाएका मानिससँग भएको केही मिनेट त अनन्त समय हुनुपर्ने हो, नदीलाई परास्त गर्न। तर त्यस्तो हुन सकेन।
पहिलो त हाम्रो सामूहिक अनुभवको दायराभन्दा परको यो बाढीको ‘ठूलोपना’ शायद आम मानिसको मस्तिष्कले ग्रहण नै गरेन। ठूलो बाढीलाई सबैले आफूले हालसम्म देखेको ‘ठूलो’ बाढीको अनुभवको मापदण्डमा राखेर बुझे। नदीछेउ घर हुनेका लागि उनीहरूले देखेको सबैभन्दा ठूलो बाढीको जोखिम भनेको बर्खामा यदाकदा डुबेको घरको भुइँतला हुँदो हो। कहिलेकाहीं गहिरी खेत पनि डुबाएको हुँदो हो। खुबै उर्लिएको बेला पुलको घाँटीघाँटीसम्म आएको हुँदो हो।
नदी किनारका बासिन्दाले बुझेको नदीको भाषा र भाव शायद यही थियो। नदीसँगै हुर्किएकाहरूलाई नदीमाथिको आफ्नो भरोसा ती ‘अलर्ट’ भन्दा अझ दृढ लागेको पनि हुन सक्छ। सुरक्षित ठाउँको परिभाषा एक कान्लो माथिको बारी, घरको छत वा अग्लो पुल बन्न गयो। आखिर हालसम्म भोगेका बाढीहरूमा सुरक्षाका अभेद्य किल्ला तिनै त थिए।

त्यस्तै हाम्रो शिक्षा प्रणालीमा स्कूले बालबालिकाले जीवनमा बुझेको सबैभन्दा ठूलो जोखिम शिक्षकको गाली हो। बाढीभन्दा बढी सरको गालीसँग डराउँदै स्कूल पुगेको एउटा बच्चाको युट्युबे अन्तर्वार्ताले गहिरो पीडाबोध गराउँछ। झन्डै दश मिनेट नदीसँग सङ्घर्ष गरेर उम्किएको उसका लागि जोखिमको परिभाषा ‘स्कूल समयमा नपुग्दा पाइने सजाय’ मात्र थियो।
नदी किनारमा पूर्वसूचना त पुग्यो, तर त्यसको स्पष्ट अर्थ पुगेन। यहींनेर पूर्वसूचना र जोखिम सञ्चार बीचको तालमेल नमिलेको देखिन्छ।
प्रलयका मिथकहरूले पनि पूर्वसूचनालाई केवल आसन्न विपत्तिको खबरका रूपमा प्रस्तुत गरेका छैनन्, पुनः सृष्टिको बाटोसम्म देखाएका छन्। जस्तै: मत्स्य रूप धारण गरेका भगवान् विष्णुले मनुलाई ‘प्रलयकारी बाढी आउँदैछ’ भनी आसन्न विपत्ति मात्र बुझाएनन्; आफूलाई जोगाउनुका साथै अन्य जीवनका सम्भावना र बीउ समेत जोगाउन लगाए।
प्रभावकारी पूर्वसूचनाले जोखिमको गम्भीरता बुझाउन र सुरक्षाको उपाय सुझाउन सक्नुपर्छ। पूर्वसूचनाको सफलता एसएमएस अलर्टको सङ्ख्याले होइन, विपद्प्रति मान्छेको बदलिएको व्यवहारले नापिनुपर्छ। यो घटनापछि हामीले हाम्रो पूर्वसूचनाको प्रभावकारितामाथि गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छ।
रसुवा–भोटेकोशी बाढीमा जोखिम सञ्चारलाई सूचनाको स्पष्टता, जोखिमको संस्कृति, पूर्वअनुभव र पूर्वाग्रहरूपी अवरोधहरूले कमजोर बनाए। सञ्चारको सिद्धान्तमा ‘कम्युनिकेसन नोइज’ भनिने यस्ता हल्लाहरूलाई पूर्वसूचना दिनेहरूले साम्य पार्नु जरुरी हुन्छ। त्यस दिन ‘ठूलो बाढी’ लाई ठूला–ठूला घर र गाडीहरू समेत बगाउँदै ल्याएको प्रलयकारी बाढीका रूपमा व्याख्या गरिदिएको भए मानिसले फरक प्रतिक्रिया जनाउँथे कि ?
पूर्वसूचना व्यवहारमा बदलिंदा धेरै जीवन जोगिएका उदाहरण छन्। पूर्वसूचनाको गाम्भीर्यलाई बुझ्न सक्नाले एउटा हेडसरले सिङ्गो विद्यालय जोगाए। एउटी आमाले आफ्ना बालबच्चा जोगाइन्। यस्ता सकारात्मक खबरले यो अत्यासलाग्दो अन्धकारमा केही उज्यालो छरेका छन्।
भोटेकोशीको विनाशकारी ताण्डवपछि रसुवा र नुवाकोटका खण्डहरहरू हिमाली विपद्का अभिलेख हुन्। जुन नदीलाई हामीले वर्षौंदेखि चिनेका थियौं, आज त्यो एकाएक अपरिचित बनेको छ। यो विपद्ले हाम्रो भूगोलको नक्शा मात्रै होइन, मस्तिष्कको भित्तामा वर्षौंदेखि टाँगिएको जोखिमको चित्र पनि फेरिदिएको छ।
जलवायु परिवर्तनसँगै जोखिमका चित्रहरू यसैगरी फेरिंदै जानेछन्। थप हिमाली नदीहरू अपरिचित बन्दै जानेछन् र हामीले बुझेका भाषा बोल्न बन्द गर्नेछन्। पहाडका ढुङ्गामाटोले एक–अर्कालाई भर दिन छाड्नेछन्। त्यसकारण अब जोखिमको बुझाइ अनि जोखिम बुझाउने भाषा पनि नदी र पहाडसँगै फेरिनुपर्छ। जोखिमको शब्दकोशलाई निरन्तर अद्यावधिक गर्दै जानुपर्छ; ताकि भोलि आउन सक्ने अर्को कुनै प्रलयको पूर्वसूचना दिन खोज्दा जोखिमको डिग्री नाप्न र बुझाउन हामीसँग शब्दको अभाव नहोस्। साथै जोखिमको अलर्टसँगै अर्थ पनि सञ्चार होस्।
प्रतिक्रिया 4