News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली थ्री–एको टनेल र आसपास क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोज तथा उद्धार जारी राखेका छन्।
- चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट नेपाली सेनाले सोमबार साँझसम्म ७२ वटा शव निकालेको छ।
- अहिलेसम्म १ हजार ५८ शव फेला परेका छन् भने ४ हजार ६४६ जना सम्पर्कविहीन र ७३ सुरक्षाकर्मी बेपत्ता छन्।
१६ भदौ, काठमाडौं । सुरुङभित्र दुई जना सुरक्षाकर्मी कम्मर–कम्मर भासिँदै हिँडेको देखिन्छ । सुरुङ बाहिर रहेका सुरक्षाकर्मीले डोरीको सहायताले भासिएका अर्का सुरक्षाकर्मी (उद्धारक)लाई तान्छन् । अर्का सुरक्षाकर्मी अँध्यारो सुरुङलाई टर्च लाइट देखाएर उज्यालो पार्ने कोसिस गर्छन् ।
नेपाल आर्मीले उद्धार गरिरहेको यो भिडियोमा आवाज सुनिन्छ, ‘तान ओई तान, डोरी तान, तलबाट तान ।’ भिडियोमा पानी पर्दै गरेको देख्न सकिन्छ । सँगै भोटेकोशी सुसाएको चर्को सुनिन्छ । मंकी क्रोलिङ (घुँडा र कुहिनाका सहयताले घिस्रिनु) गर्दै उद्धारक सुरुङबाट बाहिर निस्कन्छन् ।
यो दृश्य त्रिशूली थ्री–एको टनेलभित्र नेपाल आर्मीले गरिरहेको खोज तथा उद्धारको हो । यसरी जोखिम मोल्दै सुरुङको चेपबाट मुस्किलले छिरेर काम गरेका दृश्यहरू पनि सार्वजनिक भएका छन् । अत्यन्तै जोखिम र कठिन ठानिएको टनेलमा केन्द्रित भएर नेपाली सेना तथा चीन र भारतका उद्धारक खोज तथा उद्धारमा सक्रिय भएका छन् ।
यस्तै जोखिम मोलेर एक–दुई घण्टा नभई हप्ता दिनसम्म सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन् । हेलिकप्टरमार्फत गरिने उद्धारमा विशेषगरी नेपाली सेना परिचालन भएको छ । सेना अहिले भने टनेल केन्द्रित खोज तथा उद्धारमा लागिरहेको छ ।

यसका साथै शव संकलनमा पनि सेनाको टोली परिचालन भएको छ । पछिल्लो समय रसुवाका विभिन्न भागमा फेला परेका शवहरूलाई हेलिकप्टरमार्फत सेनाले ओसार्न थालेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले शव निकालिरहेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री नयाँ गोरख गणले सोमबार साँझसम्म ७२ वटा शव निकालेको छ ।
निकुञ्ज क्षेत्र भएकाले जोकोहीले प्रवेश नपाउने भएकाले यी क्षेत्रमा नेपाली सेनाको टोलीले नै शव निकाल्ने काम गर्दै आएको छ । बोटमार्फत नदी वारपार गर्दै निकै जोखिम मालेर शव निकालिएको सेनाले बताएको छ ।
लामो समयसम्म निरन्तर परिचालन हुँदा सुरक्षाकर्मी थकित हुने अवस्थासमेत छ । करिब ९ हजार सेनाले अहिले खोज तथा उद्धारको काम गरिरहेका छन् ।
सेनाकै जस्तो नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खोज तथा उद्धारमा खटिएका छन् । नेपाल प्रहरीले हेडक्वार्टरबाट एसएसपी दर्जाका कर्मचारीसमेत खटाएर काम गरिरहेको छ । दलदलबाट नेपाल प्रहरीले जीवितै उद्धार गरेका दृश्यहरू पनि बाहिरिएका छन् । हिलाम्य भएकी एक वृद्धालाई नेपाल प्रहरीका जवानले बोकेरै उद्धार गरेका थिए ।
शवको मुचुल्का उठाउने, यसको कानुनी प्रक्रिया पूरा गर्ने र शव व्यवस्थापन गर्नेसम्मको काममा नेपाल प्रहरी खटिइरहेको छ । नेपाल प्रहरीले बाढी प्रभावित जिल्लाहरूमा उद्धार, राहत, शव व्यवस्थान जस्ता विषयलाई छुट्याएर काम गर्न सोहीअनुसार प्रहरी अधिकारी तोकेर काम लगाएको छ ।

एक सातादेखि निरन्तर उद्धारमा खटिँदा प्रहरी कर्मचारीहरू पनि थकित हुने अवस्था छ । निरन्तर हिलोमा भासिएर जोखिम मोल्दै काम गरेका प्रहरी जवानका हिलाम्य तस्वीरहरू भाइरल बनेका छन् । प्रहरीहरू चाउचाउकै भरमा काम गर्नुपर्ने अवस्थासमेत छ । सीमित स्रोतसाधनका बीच प्रहरीले जोखिम मोलेर काम गरिरहेको छ ।
प्रहरीको ठूलो संख्या विपद् उद्धारमा खटिएको मौका छोपेर चोरी, लुटपाट जस्ता घटना हुनसक्ने जोखिमसमेत रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।
काफ्लेले भने जस्तै बाढीले बगाएको बैंकको सेफ नै फोडेर रकम बाँडफाँट गरेपछि २९ जना पक्राउ परेका छन् । प्रधानमन्त्री रातह कोषमा रकम जम्मा गरेको भन्दै नक्कली स्क्रिनसट बनाएर प्रचारप्रसार गर्ने पनि समातिएका छन् ।
विपद् उद्धारको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले पनि जोखिम मोलेर खोज तथा उद्धारको कामलाई तीव्र बनाएको छ । सशस्त्र प्रहरीलाई विपद् उद्धारको स्पेसल फोर्सको रूपमा लिइन्छ । निकै जोखिम मोलेर उद्धारमा खटिने सशस्त्र प्रहरीको संख्या ठूलो छ ।
सशस्त्रका उद्धारकहरू लामो समयदेखि जोखिम मोलेर थकान नभनी उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरीकै टोलीले रसुवाको टिमुरेबाट जमिनमा पुरिएकी ६ वर्षीया बालिकाको ६२ घण्टापछि जीवितै उद्धार गरेको थियो ।

तर, उद्धारको स्पेसल फोर्स भनिए पनि सशस्त्र प्रहरीसँग सीमित स्रोतसाधन हुँदा उद्धारमा समस्या हुने गरेको छ । गोताखोरदेखि बाढी, पहिरो, भूकम्प जस्ता विपद्मा खोजी गर्ने तालिमप्राप्त जनशक्ति सशस्त्र प्रहरीसँग छ । विपद् शिक्षालयमार्फत तालिम दिएर सशस्त्रले हरेक वर्ष दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
ती दक्ष जनशक्ति भने सीमित स्रोत–साधनका कारण आफ्नो सम्पूर्ण क्षमता प्रदर्शन गर्न चुक्दै आएका छन् । अहिलेकै विपद्मा पनि पर्याप्त रेस्क्यु उपकरणदेखि, ड्रोन, ह्युमन डिटेक्टर समेतको अभाव भएको सशस्त्रका अधिकारीहरू बताउँछन् ।
पैदल वा सवारी बाहेक हेलीमार्फत विपद् भएको ठाउँमा जानुपर्ने अवस्था आए त सशस्त्र प्रहरीका लागि त्यो लगभग असम्भव जस्तै हो ।
अहिले यस्ता विकट ठाउँको उद्धारमा मुख्यगरी नेपाली सेनाले आफ्नो हेलिकप्टर परिचालन गर्दै आएको छ ।
नेपाली सेनाका करिब साढे ८ हजार सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् । नेपाल प्रहरीबाट ७ हजार ९१२ खटिएका छन् भने सशस्त्र प्रहरीबाट ४ हजार २०३ जना खटिएका छन् ।
१० भदौ बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट लगायतका ठाउँहरूमा ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म १ हजार ५८ वटा शव फेला परेका छन् । ४ हजार ६४६ जना सम्पर्कविहीन छन् ।
नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी बेपत्ता छन् भने ३ जनाको शव फेला परेको छ । सशस्त्रका १३ र नेपाली सेनाका ४५ जना सुरक्षाकर्मी अहिलेसम्म बेपत्ता छन् ।
प्रतिक्रिया 4