Comments Add Comment

काँग्रेस उम्मेद्वारको टुंगो लगाउँदै, नेताको घरमा कार्यकर्ताको भीड

११ असोज, काठमाडौं । दाङको निर्वाचन क्षेत्र नं ५ घनश्याम सुनार र दाङ-४ का ईश्वरी सुनार नेपाली काँग्रेसबाट समानुपातिकमा सिफारिस भएपछि नेताहरूलाई भेट्न काठमाडौँ आएका छन् । केन्द्रीय सदस्य शशाङ्क कोइरालाको निवासमा भेटिएका उनीहरूले प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिसमा परेकाको बाक्लो भीड देखेपछि यस्तो भीड गाउँमा हुनुपर्ने बताए ।

“पार्टीले उम्मेदवारको टुंगो लगाए नेताको घर र पार्टी कार्यालयमा देखिएको उम्मेदवारका आकाङ्क्षीहरूको भीड घट्थ्यो ।”, दुवैले एकै स्वरमा भने । “उम्मेदवारको निर्णय भए जिल्लामा सबै नेता कार्यकर्ता निर्वाचनका लागि जनताको घरदैलोमा पुग्न थाल्ने थिए । “

कांग्रेसले भदौ २० भित्र २४० वटै क्षेत्रीय समिति र जिल्ला समितिलाई प्रत्यक्ष र समानुपातिकका उम्मेदवार सिफारिस गर्न निर्देशन दिएपछि नामावली केन्द्रमा आएको थियो । सम्भावित उम्मेदवारहरूको नाम सिफारिसपछि सभापति सुशील कोइराला, उप-सभापति पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, शशाङ्क कोइराला, सुजाता कोइराला, विमलेन्द्र निधि र शेखर कोइरालासहितका घरमा टिकटका आकांक्षीको भीड संसदीय समिति गठन भएपनि कम भएको छैन । पार्टीले काठमाडौंँमा केन्दि्रत कार्यकर्तालाई जिल्लामा जान भनिसकेको छ ।

प्रत्यक्षतर्फ करिब ९ सय र समानुपातिकतर्फ चार हजार सिफारिसमा परेका छन् । उनीहरूसँगै आउने नेता कार्यकर्ताको सङ्ख्या पनि उत्तिकै छ । करिव ६० जना जिल्ला सभापतिहरू पनि राजधानीमै रहेका छन् । “सिफारिस भएपछि एकचोटि त शीर्ष नेताकामा पुग्नै पर्‍यो”, कास्की क्षेत्र नं २ बाट प्रत्यक्षमा सिफारिस विश्व घिमिरेले भन्नुभयो ।

पार्टीले टिकट पाउन जिल्ला क्षेत्रले सिफारिस गरेको, लोकपि्रयता जित्न सक्ने र समावेशीता तथा पहिलो संविधानसभामा जितेका र निकटतम् प्रतिद्वन्द्वीलाई पनि टिकट दिने जनाएको छ ।

पार्टीले नियम बनाएपन सम्भावित उम्मेदवारहरू नेतालाई भेटेर आˆनो पक्षमा टिकट दिन भन्दै धाउने क्रम उत्तिकै छ । संसदीय समितिले बिहानदेखि साँझसम्म केन्द्रीय कार्यालयमा प्रवेश रोक लगाएर टिकट छनोटमा देखिएका विवाद समाधान गर्दै मापदण्डअनुसार नाम छनोट अघि बढाइरहेको छ ।

समितिका प्रवक्ता एवम् महामन्त्री कृष्णप्रसाद सिटौलाले बिहिबारसम्म हिमाली र पहाडी ३५ जिल्लाको टुंगो लाग्ने बताउनुभयो । नेपाली काँग्रेसबाहेक एनेकपा माओवादी र नेकपा एमालेले पनि टिकट छनोटलाई तीव्र पारेको छन् । कांग्रेस, एनेकपा माओवादी र एमालेलगायतका प्रमुख दलहरूले केही दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएर समानुपातिकतर्फको नाम छान्ने तयारी गर्दैछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

सम्बन्धित खवर

Advertisment