Comments Add Comment

माओवादी बैठकमा गुरुङ र गजुरेलले गाली खाए

२८ मंसिर, काठमाडौं । कांग्रेस र एमालेका नेताहरुले संविधान निर्माणमा सबैलाई सहभागी गराउने बताइरहेका बेला मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले संविधानसभामा सहभागी नहुने संकेत गरेको छ । संविधानसभामा जान सकिने अभिव्यक्ति दिएको भन्दै माओवादीभित्र उपाध्यक्ष सीपी गजुरेल र सचिव देव गुरुङको चर्को आलोचना भएको छ ।

cp-and-dev

एक सातादेखि ललितपुरको कुपन्डोलस्तिथत नेवाः राज्यसमितिको कार्यालयमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा नेताहरुले संविधानसभामा भाग लिने लाइनका गुरुङ र गजुरेलमाथि आलोचना गरेका हुन् । निर्वाचन सकिनेवित्तिकै सार्वजनिक कार्यक्रमहरुमा गजुरेल र गुरुङले संविधानसभामा सहभागी हुन सकिने अभिव्यक्ति दिनुभएको थियो । कांग्रेस, एमालेलगायतका दलहरुले २६ सीटमा मनोनित गरेर भए पनि वैद्य माओवादीलाई समेत संविधानभामा सहभागी गराउनुपर्ने बताउँदै आएका छन् ।

‘वैद्यजीको राजनीतिक प्रतिवेदनमा संविधानसभा प्र्रतिक्रान्तिको अखडा बनेको निश्कर्ष छ, संविधानसभा विघटन गरी सर्वपक्षीय गोलभेच सभा गर्ने प्रस्ताव छ,’ माओवादीका एक केन्द्रीय सदस्यले अनलाइनखरबसँग भने- ‘संविधानसभामा जानुपर्छ भनेर बोल्ने गजुरेल र गुरुङजीमाथि केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरिरहनुभएको छ ।’

जारी बैठकमा अध्यक्षको प्रतिवेदनले नै संविधानभाको औचित्य नरहेको विश्लेषण गरेको र बहुमत केन्द्रीय सदस्यहरुले संविधानसभा बाहिरबाट विकल्प खोज्ने धारणा राखेका कारण अब नेकपा-माओवादी कुनै हालतमा संविधानसभामा जाने सम्भावना नदेखिएको ती केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।

चुनावमा संसदवादी र सर्वहारावादीको श्रेष्ठता

अध्यक्ष मोहन वैद्यको प्रतिवेदनमा संविधानसभा चुनावले संसदवारी र सर्वहारावादी दुबैको राजनीतिक श्रेष्ठता स्थापित भएको तर, प्रतिक्रान्तिको माध्यमबाट संक्रमणकालको करिब-करिब अन्त्य भएको विश्लेषण गरिएको छ । ‘संक्रमणकाल क्रान्तिकारी रुपमा अन्त्य हुनुपथ्र्यो, तर प्रतिक्रान्तिको माध्यमबाट करिब अन्त्य भयो ।’ वैद्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । संविधानसभा त्यही प्रतिक्रान्तिको अखडा बनेकाले यसको विघटन हुनुपर्ने वैद्यको विश्लेषण छ ।

वैद्यको दस्तावेजमा चुनाव बहिस्कारले नेकपा माओवादीको राजनीतिक श्रेष्ठता स्थापित गरेकाले यो सफल भएको निश्कर्ष छ । तयारी अझै राम्रोसँग गरेको र पार्टी एकतावद्ध भएको भए बहिस्कार अभियान अझै प्रभावकारी हुने विश्लेषण गरिएको छ । बहिस्कारका क्रममा प्रहार गर्नुपर्ने ठाउँमै प्रहार केन्दि्रत भएको निश्कर्ष छ ।

क्रान्तिको मोडेल स्पष्ट पार्न वैद्यलाई आग्रह

केन्द्रीय समिति बैठकमा वैद्यले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संविधानसभाको समीक्षा गर्नुका साथै वर्तमान राजनीतिक स्थितिको विश्लेषण गरिएको छ । प्रतिवेदनमा आगामी कार्यदिशाबारे चर्चा गर्दै वार्ता र सम्वादलाई पनि जारी राख्ने र सशक्त जनप्रतिरोध संघर्ष उठाउने भनिएको छ । जनयुद्धको जगमा टेकेर जनविद्रोह गर्ने भन्ने पुरानो लाइनलाई यथावत राखिएको छ । प्रतिवेदनमा क्रान्तिकारीवीच पार्टी एकता गर्ने र एउटै कम्युनिष्ट केन्द्र बनाउने प्रस्ताव गरिएको छ ।

तर, अध्यक्ष वैद्यको प्रतिवेदनमा भनिएको ‘सशक्त जनप्रतिरोध संघर्ष’ एवं ‘जनयुद्धको जगमा टेकेर जनविद्रोह गर्ने’ भनेको के हो भन्दै केन्द्रीय सदस्यहरुले क्रान्तिको स्पष्ट मोडेल प्रस्तुत गर्न आग्रह गरेका छन् । वैद्यले सबै केन्द्रीय सदस्यहरुको सुझावलाई संश्लेषण गरेर प्रतिवेदनलाई परिमार्जित एवं संवृद्ध पार्ने बैठकलाई आश्वासन दिनुभएको बैठकमा सहभागी नेताले बताए ।

बैठक मंसिर २३ देखि २७ सम्म बस्ने भनिए पनि नेताहरुले लामो समय बोलेका कारण शनिबारसम्म जारी रहने नेताले बताएका छन् । शुक्रबारसम्म केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएको छैन । केन्द्रीय कार्यालय एवं पदाधिकारीका तर्फबाट एउटै दस्तावेज ल्याइएकाले केन्द्रीय समितिमा विप्लवको समेत फरक मत देखिएको छैन ।

डेढ सय केन्द्रीय सदस्य र सल्लाहकारहरु सहभागी बैठकमा पार्टी प्रवक्ता पम्फा भुसाल भने सहभागी हुनुहुन्न । कुपन्डोल नजिकै घर भए पनि बिरामी भएका कारण उहाँ बैठकमा नआउनुभएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment