Comments Add Comment

चुनावमा तपाईको कति खर्च भयो नेताज्यू ?

२ पुस, काठमाडौं । सिरहा क्षेत्र नं ६ का नवनिर्वाचित सभासद गणेशकुमार मण्डल विजयी भएपछि आफ्नो पार्टीका केन्द्रीय सदस्य खुमहादुर खड्कालाई भेट्न सानेपास्थित खड्का निवासमा पुग्नुभयो । खड्काले सुरुमै सभासद् मण्डललाई सोध्नुभयो- ‘चुनावमा कति खर्च भयो ?’ जवाफमा मण्डलले भन्नुभयो-‘त्यस्तै ३०/३५ लाखजति भयो दाइ ।’rose-on-the-garden-of-election-commission-at-kesharmahal

एकैछिनमा खुमबहादुर निवासमा काभ्रे क्षेत्र नं १ का अर्का सभासद तीर्थबहादुर लामा पुग्नुभयो । कांग्रेसभित्र व्यवहारिक नेताको छवि बनाएका खुमबहादुरले सभासद् लामालाई पनि यही प्रश्न सोध्नुभयो,- ‘चुनावमा तपाईको खर्च कति भयो भाइ ?’ मण्डलको खर्चविवरण सुन्दै छक्क परेका खड्कालाई थप चकित बनाउँदै लामाले जवाफ दिनुभयो- ‘दाइ मेरो त्यस्तै ७० लाखजति खर्च भयो नि ।’

आफू नयाँ र अनुभवहीन भएको भन्दै खड्कानिवासमा शुभेच्छा लिन पुगेका सभासद् मण्डललाई देखाउँदै खड्काले लामासँग भन्नुभयो-‘उहाँ पनि हाम्रो सभासद् हो नि सिरहाबाट जित्नुभएको ।’ काभ्रेका सभासद् लामालाई सुरुमा पत्यारै लागेन । यति कम उमेरको केटो पनि सभासद् ? ४० वर्षीय लामाले मण्डललाई प्रश्न गर्नुभयो, हन तपाई त मभन्दा पनि कान्छो हो कि क्या हो ? तपाई कति वर्ष पुग्नुभयो ? मण्डलको जवाफ थियो, ‘म ३५ वर्षको भएँ ।’
सिरहा ६ का कांग्रेस सभासद् गणेश ३५ वर्षको मात्रै भए पनि पेशाले डाक्टर हुनुहुन्छ । डाक्टरी पेशा छाडेर युवावस्थामा कांग्रेसको सभासद् बन्ने क्रममा उहाँको ३० लाखभन्दा बढी खर्च भएको छ । आफ्नो निवासमा आएका युवा सभासद मण्डललाई कांग्रेस नेता खड्काको थप प्रश्न थियो, ‘त्यत्रो खर्च गर्न सक्ने तपाई त तराईको जमिन्दारै हो कि क्या हो ?’ डाक्टर सा’पको जवाफ थियो, के को जमिन्दार हुनु नि दाइ, १०/१२ विघा जमिन छ, डाक्टरी पेशाबाट कमाएको पैसाले चुनाव लडेको हुँ ।

सिरहा ६ मा कांग्रेसका युवा नेता मण्डलसँगै पूर्वमन्त्री एवं गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादव पनि रेल चिन्ह लिएर निर्वाचन लड्नुभएको थियो । तर, एमाओवादी गठबन्धनमा रहेका यादव तेस्रो स्थानमा आउनुभएको थियो भने एमाओवादीका अमरनाथ यादव दोस्रो बन्नुभएको थियो । कांग्रेस नेता मण्डलले एमाओवादी र मधेसी गठबन्धन नहुनुको फाइदा उठाउँदै करिब ८ सयको मतान्तरले मात्रै जित्नुभएको हो ।

पैसा नहुनेको बेग्लै पीडा

प्रशस्त पैसा हुने उम्मेद्वारले त ७० लाखसम्म गर्वका साथ खर्च गरे । तर, आफूसँग पैसा नहुनेको पीडा भने छुट्टै छ । धनकुटा क्षेत्र नं २ का कांग्रेस उम्मेद्वार आनन्दसन्तोषी राई पैसाको अभावकै कारण आफूले चुनाव हारेको बताउनुहुन्छ । यसपालिको चुनावमा पैसाको धेरै ठूलो चलखेल भएको र सबै दलका कार्यकर्ताहरु पैसामा बिकेको उहाँको गुनासो छ । चुनावमा हुने यस्तो पैसाको चलखेललाई उहाँ ‘लोकतन्त्रको विकृति’ बताउनुहुन्छ ।

उता मोरङ क्षेत्र नं ९ मा एमाओवादी नेता वर्षमान पुनसँग निर्वाचन लड्ने एमाले उम्मेद्वार घनश्याम खतिवडालाई यसपालिको चुनाव देखेर उदेक लागेको छ । ‘साथमा पैसा र गुण्डा नहुनेले त अब निर्वाचनै जित्न नसकिने भयो, यो विकृति कसरी हठटाउने होला ?’ खतिवडाले अनलाइनखबरसँग भन्नुभयो- ‘चुनावमा मेरो त ३/४ लाख रुपैयाँ ऋण लागेको छ, त्यो जग्गा बेचेर पनि तिरौंला, तर वर्षमान पुनजीको त धेरै ठूलो धनराशी खर्च भएको छ ।’

निर्वाचन आयोगको खर्च-सीमा रद्दीको टोकरीमा

निर्वाचन आयोगले उम्मेद्वारहरुलाई तोकेको खर्चको सीमा कार्यान्वयन नभएको स्पष्टै देखिएको छ । आयोगले प्रत्यक्षतर्फको एक जना उम्मेद्वारले १० लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो । तर, एकजना उम्मेद्वारले ३० लाखदेखि ७० लाखसम्म खर्च गरेको भेटिएपछि अब आयोगले के गर्ला ?
शायद निर्वाचन आयोगमा खर्चको विवरण बुझाउने बेलामा दलका नेताहरुले वास्तविक खर्च लुकाएर १० लाखकै हिसाब बुझाउने छन् । आयोगलाई त नेताहरुले यसरी ढाँट्लान्, तर चुनावमा भएको त्यति ठूलो धनराशी उनीहरुले कसरी भरपूर गर्लान् ? यसको जवाफ भने कसैसँग छैन, न निर्वाचन आयोगसँग, न दलका नेताहरुसँग । हुन पनि एमाले नेता खतिवडाले भनेको ठीकै हो, एउटा चुनाव लड्न १ जना उम्मेद्वारलाई यति धेरै खर्च लाग्छ भने लोकतन्त्रमा धनी वर्षमात्रै नीति निर्माणको तहमा पुग्न सम्भव हुनेछ, गरीब भने लडेको लड्यै हुनेछ ।

आयोगले यो पनि छानविन गर्ने कि ?

राजनीतिक दलहरुले निर्वाचनमा भएको ‘धाँधली’को छानविन गर्ने भनिरहेका छन् । तर, चुनावबारे अध्ययन गर्ने संसदीय समिति बनेमा त्यसैले पैसाका आधारमा नभई विचार र कार्यक्रममा आधारमा निर्वाचन लड्ने विधिको पनि खोजी गर्ने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment