Comments Add Comment

फोटो कथाः हत्केला नभएकी सविताको एसईई

१० चैत, काठमाडौं । यस वर्ष एसईई दिइरहेका देशभरका कूल ४ लाख ७५ हजार ३ परीक्षार्थीमध्येकी एक हुन् सविता थापा । तर, उनी अरुजस्तै सामान्य अवस्थाकी परीक्षार्थी भने होइनन् ।

१६ वर्षीया सविताका दुवै हात ‘अधुरा’ छन् । अरुको जस्तो कलम च्याप्ने औंलाहरु छैनन् । दुवै हात कुहिनोभन्दा तल काटिएका छन् । उनी दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्नेे गर्छिन् । यसरी नै लेखेर एसईईसम्म आएकी हुन् ।

त्यसो त ४ वर्षअघिसम्म सविता सामान्य थिइन् । त्यतिबेला उनका दुवै हात र औँलाहरु सकुशल थिए । डाक्टर बन्ने सपना पालेकी थिइन् ।

तर, सात कक्षामा पढ्दै गर्दा उनले आधा हात र औँलाहरु गुमाइन् । स्कुल ड्रेस सुकाउने बेला सवितालाई करेन्ट लागेको थियो । दुवै हातको आधा भागसँगै उनका जीवनका सबै सपनाहरु त्यही करेन्टले खोस्यो ।

तर, खगेन्द्र नवजीवन विद्यालयले सविताको सपनाहरु विस्तारै फर्काउन थाल्यो । त्यसैको परिणाम उनी काठमाडौंको चामुण्डा माध्यामिक विद्यालयमा एसईई दिँदैछिन् । एसईईपछि साइन्स पढ्ने चाहना छ उनको । त्यसैले एसईईको लागि खुब मेहनत गरेकी छिन् ।

शनिबार दिउँसो काँडाघारीस्थित उनको डेरा पुग्दा खटियामाथि घुँडा टेकेर लेख्नमा तल्लिन थिइन् सविता । बाबु-आमा फलफूल पसलमा गइसकेका थिए । घरदेखि केही पर ‘सरिता फलफूल’ पसल छ, दिनभर त्यही ब्यस्त हुन्छन्, उनका बाबु-आमा ।

त्यसैले, सविता सरासर भान्सामा पुगिन् र चिया बनाउन थालिन् । तीनै हातले पानी खन्याइन्, अदुवा कुटिन्, चियापत्ति-चिनी राखिन् र चिया तयार पारेर स्वागत गरिन् । सविताले चिया मात्र तयार पार्ने होइन, आफैं नुहाउँछिन्, मोबाइल, कम्प्युटर चलाउँछिन् ।

आज एसईईको दिन । सविता विहान चार बजे नै उठिन् । आफैं पानी तताएर पिइन् । अनि नास्ता खाएर परीक्षाको तयारी गरिन् ।

हजुरआमाले रातो टीका लगाइदिएर आशिर्वाद दिइन् । सविताले फूलको गमलामा पानी हालिन् र प्रवेशपत्र समाएर बाबाको मोटरसाइकलको पछाडि बसिन् । बाबा भीम थापा भन्छन्, ‘छोरीलाई यो अवस्थामा ल्याएका लागि २८ लाखभन्दा बढी खर्च गरेको छु ।’

यसपटक भने सविताको हात सुन्निएको छ । त्यसैले एसईईमा लेख्नका लागि उज्ज्वल चालिसेको सहयोग लिएकी छन् ।

त्यो कालो दिन

त्यो दिन घरमा आमा, बाबा, भाइ, बहिनी र उनी थिइन् । भाडामा बस्थ्यो उनको परिवार । सात कक्षाको वार्षिक परीक्षापछि फुर्सदमा थिइन् सविता । उनी कपडा धोएर कौसीमा सुकाउन गइन् । चिसो कपडालाई तारमा के झुण्ड्याएकी थिइन्, उनको शरीरलाई करेन्टले अठ्यायो र उनी अचेत बनिन् ।

एक हप्तापछि होस खुल्दा अस्पतालको बेडमा थिइन् । उनको सामान्य अप्रेशन भयो । तर, अर्को हप्ताभरी रक्तनलीमा रगत पास भएन । हात सुक्दै गए । फेरि अप्रेशन गर्नुपर्ने भयो । उनलाई भनिएको थियो, नर्मल कट हो, आत्तिनु पर्दैन ।

फेरि अप्रेशनपछि उनलाई गाडीमा घर लगिँदै थियो । त्यतिबेलै उनी होसमा आइन् । आफ्नो शरीर महसुस गरिन् । अहो ! उनका दुई हात थिएनन् । उनले चिच्याउँदै भनिन्, ‘मलाई मारिदिनुस् । म बाँच्न सक्दिन । म घर जादिनँ ।’

त्यसपछि उनलाई अस्पतालमै राखेर थेरापी गरियो । मानसिकरुपमा केही सहज भएपछि उनी घरमा त आइन्, तर बिगतले झन् धेरै पिरोल्न थाल्यो । ‘मलाई लाग्थ्यो कि जीवनमा केही गर्न सक्दिनँ । एक वर्षसम्म त म घरबाट बाहिर नै निस्किनँ । केही गर्न नै मन लाग्थेन । जहिल्यै कोठामा चुक्कल लगाएर रोइरहन्थेँ,’ उनी सम्झिन्छिन् ।

उनलाई परिवारले विभिन्न स्कुलमा भर्नाका लागि लगे । तर, धेरैले भर्ना लिएनन् । कतिले त अतिरिक्त शुल्कको माग गरे ।

त्यसपछि उनको अर्को यात्रा खगेन्द्र नवजीवनबाट नै शुरु भयो । सविता त्यसपछि दिनहरुबारे बताउँछिन्, ‘मलाई ६ महिनासम्म निकै गाह्रो भयो । तर, यो स्कुलका कम्पाउन्डले मेरा डरहरु एक-एक गरी निल्दै गए । मजस्तै थुप्रै साथीहरु पढ्दै गरको देखेँ । अनि म एक्लोपनबाट बाहिर निस्किएँ र आफूलाई सम्हाल्न थालेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment