Comments Add Comment

बुद्ध एयरको सफलता : कृषि नबिर्सेको नम्बर वान एयरलाइन्स

११ चैत, काठमाडौं । व्यावसायीक जीवनमा सफल हुन निकै कठिन हुन्छ तर, केही मानिस ती कठिनाई पार गरेर सफल त हुन्छन् र उदाहरणीय बन्छन् । व्यावसायीक चुनौती स्वीकार्नेहरु कोही आफूले चाहेकै क्षेत्रमा सफलता प्राप्त गर्छन् त कोही नसोचेको क्षेत्रमा अब्बल सावित हुन पुग्छन् ।

भनिन्छ सफलताको पहिलो खुडि्कलो असफलता हो । सफल हुन गरिएको पहिलो प्रयासमा असफल भए धेरै त्यो बाटो नै परिवर्तन गर्छन् र अर्को बाटोतर्फ लाग्छन् । र, सफल हुन्छन् । नेपालमै पनि यस्ता धेरै उदाहरणहरु छन् ।

यिनैमध्येको एक हो- नेपाली निजी क्षेत्रको ठूलो विमान सेवा बुद्ध एयर । यसका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत हुन् । बुद्ध एयरले अहिले नेपालमा आन्तरिक उडानतर्फ ६५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

कृषि पछिको उडान

१९९७ अक्टोबरमा बुद्ध एयर स्थापना गरेको बस्नेत परिवार त्यसअघि मोरङको लक्ष्मीमार्गमा कृषक थियो । कृषी फार्ममा माओवादी जनयुद्धको असर खेपिरहेका वीरेन्द्रबहादुर बस्नेत अध्ययनका लागि काठमाडौं आए ।

अध्ययनपछि काठमाडौंमै बिहे गरे । उनी नयाँ क्षेत्रमा आउन बिहे पनि एउटा सहयोगी पाटो बन्यो । काठमाडौंमा जन्मेहुर्केकी श्रीमती सुनिता पनि केही समय त गाउँ गएर बसिन्, तर बिभिन्न कारणले नटिक्ने भइन् । छोरी जन्मिएपछि उनीहरु काठमाडौं आए ।

२८ वर्षको उमेरमा परिवारसहित काठमाडौं आएका बस्नेत जागिर खाने पक्षमा थिएनन् । कार्पेट वा गार्मेन्टमा लगानी गरौं भन्ने सोचे, तर ती दुवै व्यवसाय ओरालोमा थिए । ‘के गरौं, के नगरौं भइरहेका बेला केही आफन्त र अग्रजहरुले हवाई सेवामा हात हाल्न सुझाए’, उनी सम्झन्छन् ।

त्यसबेला निजी क्षेत्रको निकोन एयर मात्र थियो । एकदमै पुराना जहाजहरु उड्थे । नयाँ जहाजबाट सेवा दिन सक्दा व्यवसाय राम्रो चल्छ भन्ने सुझाव आयो । ‘त्यसबेला १८ सिटको नयाँ जहाजमा १६ झ्याल थिए, त्यही ल्याएर माउन्टेन फ्लाइट गर्ने सोच बनाएँ,’ उनी भन्छन्, ‘हिमालको देशमा २५ हजार फिट माथि उडाएर सेवा दिन सकियो भने मान्छे आउँछन् भनेर जहाज भित्रायौं ।’

त्यसबेला जहाज खरिदमा ९० प्रतिशतसम्म ऋण पाइन्थ्यो । बाँकी १० प्रतिशत नगद आफूले लगाएर उनले ३५ करोड रुपैयाँको बिचक्र्याफ्ट १९०० डी जहाज ल्याए । त्यसबेला नेपालमा बढीमा ७ करोडका जहाजहरु उडिरहेका थिए ।

तर, कृषि पेशामा रमाएका बस्नेतसँग विमान सेवाको अनुभव थिएन । फेरि अत्यन्तै महंगो १८ सिटे जहाजले एब्रोको ४७ सिटको जहाजसँग प्रतिपर्धा गर्नुपर्ने थियो । प्रतिस्पर्धी जहाज सस्तो र ठूलो भएकाले आफ्नो जहाज महंगो भए पनि भाडा सस्तो बनाउनु पर्थ्यो । तीव्र प्रतिस्पर्धामा बस्नेतले जहाज उडाइरहे ।

उनले पाचौं वर्षसम्मको घाटा ऋण लिएरै पुर्ताल गर्दै गए । निरन्तर घाटाले सडकमा पुर्‍याउने खतरा बढ्यो । ‘पहिलो पाँच वर्ष त ओकल्नु कि निल्नु जस्तो भयो’, उनी सम्झन्छन्, ‘एक जना बैंकरले त गाली नै गर्नुभयो ।’

घाटासँगै ऋण थपिँदै गयो । उता मोरङको ९० बिघा जग्गामा माओवादीहरुले कब्जा जमाएका थिए । र पनि, बस्नेतले लत्तो छाडेनन् । नभन्दै, छैठौ वर्षमा कम्पनी नाफामा गयो र त्यो क्रम जारी रहृयो ।

त्यो कसरी सम्भव भयो त ? बस्नेत भन्छन्, ‘बुवा नै मेरो गुरु हो, बुवा कै कारण आज यो सबै भएको छ ।’

हुन पनि, उनका पछाडि सुरेन्द्र बहादुर बस्नेत थिए, जो पूर्वन्यायाधीश, संवैधानिक अंगका प्रमुख र मन्त्री पनि हुन् । बि.सं. १९८४ सालमा भोजपुरको दिंग्लामा जन्मिएका सुरेन्द्रबहादुर कानूनमा स्नात्तकोत्तर गर्ने पूर्वाञ्जलकै पहिलो व्यक्ति हुन् । ९२ वर्षीय उनी नै अहिले पनि बुद्ध एयरका अध्यक्ष छन् ।

‘गत वर्षसम्म बुवा आफैं कम्पनीको काम गरिबक्सिन्थ्यो, चेकमा उहाँकै हस्ताक्षर चल्थ्यो,’ विरेन्द्रबहादुर भन्छन्, ‘यस वर्षबाट कार्यालय आउन छाड्नु भएको छ, चेकमा हस्ताक्षर पनि मेरै चल्छ ।’

नेपालको नम्वर वान एयरलाइन्स

बुद्ध एयरले गत वर्ष १४ लाख यात्रु बोकेको थियो । यस वर्ष दुई वटा नयाँ जहाज थपेर १८ लाख यात्रु उडाउने लक्ष्य लिएको छ । ‘नेपालीलाई सस्तो र सुरक्षित महशुस गराएर हवाई सेवा दिने हामी नै हौ’, प्रवन्ध निर्देशक बस्नते भन्छन्, ‘हामी यो इतिहास रचेको दाबी गर्छौं ।’

नाफा कमाउने मात्र होइन, सेवा दिने इतिहास रचेको दाबी पनि उनले गरे ।

आन्तरिक उडानतर्फ नेपालको नम्वर वान बनेको बुद्ध एयरले बाहिरचाहिँ भारतको वाराणसीमा मात्र उडान गरिरहेको छ । अन्तर्राष्ट्रिय उडान भरिहरका एयरलाइन्सहरुसँग प्रतिष्पर्धा गर्न सहज नभएकाले त्यता नहौसेको बस्नेत बताउछन् । उनले भने, ‘दुईटा जहाज थपेर काठमाडौं-कोलकत्ता उडाउँछौं, त्यसमा सफल भएपछि अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरुमा जान्छौं ।’

बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान शुरु गरेर सर्वसाधारणलाई सेयर दिने घोषणाचाहिँ गरिसकेको छ । प्रवन्ध निर्देशक बस्नेत भन्छन्, ‘आन्तरिकतर्फ चाहिँ प्रालि नै राख्ने योजना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment