२१ वैशाख, पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।
पुलिसले एपीएफलाई २५–१७, २५–१८, २५–१५ को स्कोरमा सहजै हरायो।
पुलिसले अब उपाधिका लागि सोमबार इरानी टोलीसँग खेल्नेछ । इरानी टोलीले आइतबारै भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित फाइनलमा स्थान बनाइसकेको छ ।
पुलिस र इरानी टोलीबिचको फाइनल खेल सोमबार दिउँसो ४ बजे सुरु हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि आर्मी र एपीएफबिचको खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।
प्रतिक्रिया 4