२१ बैशाख, काठमाडौं । प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुललाई पराजित गर्दै चेल्सीले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।
आइतबार घरेलु मैदानमा चेल्सीले लिभरपुललाई ३-१ ले पराजित गरेको हो । खेलअघि चेल्सीले लिग उपाधि पक्का गरिसकेको लिभरपुललाई गार्ड अफ अनर प्रदान गरेको थियो ।
चेल्सीले जितपछि चौथो स्थानको न्युकासल युनाइटेड समान ६३ अंक जोडेको छ र शीर्ष पाँचमा लिग सकाउने सम्भावना बलियो बनाएको छ । लिगमा अब तीन खेल मात्र बाँकी रहँदा शीर्ष पाँचका लागि प्रतिस्पर्धा बढेको छ ।
चेल्सी भ्नदा पछि रहेका नटिङहम फरेस्ट र एस्टन भिल्लाको समान ६० अंक छ र शीर्ष पाँचको होडमा छन् । फरेस्टले एक खेल कम खेलेको छ ।
लिभरपुलका प्रशिक्षक आर्ने स्लटले टोटनहमलाई हराउँदै उपाधि पक्का गरेको टिमबाट पहिलो रोजाईँमा ६ परिवर्तन गरेका थिए । जसले गर्दा चेल्सी विरुद्ध लिभरपुल केही कमजोर देखिएको थियो ।
एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए ।
पहिलो हाफमा अग्रता कायम राखेको चेल्सीले जारेल क्वान्साहको आत्मघाती गोलपछि ५६औं मिनेटमा अग्रता दोब्बर बनायो ।
लिभरपुलका कप्तान भर्जिल भान डाइकले ८५औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर त्यो ढिलो भइसकेको थियो । कोल पाल्मरले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गर्दै चेल्सीको जिक पक्का गरे ।
प्रतिक्रिया 4