१७ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सातौं जित निकाल्दै प्लेअफको नजिक पुगेको छ । आइतबार भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ ।
पञ्जाबले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनायो । आयुष बदोनीले अर्धशतक बनाएपनि जितका लागि भने पर्याप्त हुन सकेन । लखनउको टप अर्डर ब्याटरहरू पावरप्लेभित्रै पेभेलियन फर्कँदा लखनउ खेलमा पछि परिसकेको थियो ।
पञ्जाबका अर्शदीप सिंहले लखनउका शीर्ष ३ ब्याटरहरू: मिचेल मार्श, एइडन मार्क्रम र निकोलस पूरनलाई आउट गर्दै शानदार सुरुवात दिलाएका थिए । उनले ४ ओभरमा १६ रन मात्र दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइले २ विकेट लिँदा मार्को यानसेन र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
बदोनीले सर्वाधिक ७४ रन बनाए । अब्दुल समदले ४५ रन बनाए । कप्तान रिषभ पन्तले १८ तथा आवेश खानले अविजित १९ र एइडेन मार्क्रमले १३ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर २३६ रनको विशाल योगफल खडा गरेको थियो । पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले सर्वाधिक ९१ रन बनाए । ४८ बल खेलेका उनले ६ चौका र ७ छक्का प्रहार गरे ।
कप्तान श्रेयस अय्यरले ४५, शशांक सिंहले अविजित ३३ तथा जोश इंग्लिसले ३० रन बनाए । बाँयाहाते ओपनर प्रियान्श आर्या सस्तैमा आउट भएपनि पञ्जाबका हरेक ब्याटरले त्यसपछि अट्याकिङ खेलिरहेका थिए । मार्कस स्टोइनिसले ५ बलमा १५ रनको अविजित फिनिसिङ पारी खेले ।
लखनउका लागि आकाश सिंह र दिग्वेश राथीले २-२ विकेट लिँदा प्रिन्स यादवले १ विकेट लिए ।
यस जितपछि ११ खेलमा १५ अंक भएको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ भने ११ खेलमा १० अंक मात्र भएको लखनउ सातौं स्थानमा छ । लखनउको प्लेअफ सम्भावना अब कमजोर बन्दै गएको छ ।
प्रतिक्रिया 4