Comments Add Comment

किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला !

१० चैत, विराटनगर । ‘किरियापुत्री भेट्न जाँदा नि माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! … खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे ।

यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् ।

कतिपयले पण्डितको चुनावी अभियानका क्रममा खिचिएको तस्वीर हुनसक्ने आशंका पनि गरे ।

तर, यो तस्वीर विराटनगरको हो र शनिबारको भएको पाइएको छ । मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका मन्त्री पण्डित शनिबार विराटनगर आएका थिए ।

पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका नेकपा नेता महेश भट्टराईलाई सान्त्वना दिन उनकै घरमा पुगेका थिए । सयपत्री फूलको माला लगाएर विराटनगर– ३ स्थित भट्टराईको घर पुगेर केही समय बसेका पण्डितले हिँड्ने बेला सामूहिक तस्वीर खिचाएका थिए ।

एक साताअघि भट्टराईकी ८७ बर्षीया आमा पवित्रादेवीको निधन भएको थियो । मन्त्रीको एक छेउमा महेश र उनका दाजु छन् भने अर्काे छेउमा भने नेकपा केन्द्रीय सदस्य महेश रेग्मी उभिएका छन् । नेता रेग्मी हतारमा माला खोल्न बिर्सिएको बताउँछन् ।

‘परोपकार घाट अवलोकनपछि परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा पुगेका थियौं’ उनले भने ‘हतार हतारमा हिँड्दा माला खोल्नै बिर्सिएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment