+
+

बलबहादुरका पालाको त्यो कांग्रेस ! शेरबहादुरको यो कांग्रेस !

'अहिलेका नेताको पारा देखेर दिक्क लाग्छ'

प्रमिला राई, सांसद प्रमिला राई, सांसद
२०७५ चैत ११ गते १९:३०

०२९ सालको घटना हो । बुबा बलबहादुर राई भारत निर्वासनबाट फर्किएर जिल्ला (ओखलढुङ्गा) आउनुभएको थियो । त्यहीबेला प्रहरीले उहाँलाई पक्राउ गर्‍यो । ठूलो दाइ प्रेमराज राई, के भएछ भनेर बुझ्न जिल्ला अदालत जानुभएको थियो, उहाँलाई पनि प्रहरीले पक्राउ गर्‍यो । कान्छो दाइ पढ्दै हुनुहुन्थ्यो, उहाँलाई पनि प्रहरीले पक्राउ गर्‍यो । आमालाई पनि पक्राउ गर्‍यो । त्यतिखेर म ५ कक्षामा पढ्थेँ । घरमा बहिनी र म मात्रै भयौं ।

त्यो बच्चा बेलाको सकसपूर्ण र स्मरणीय घटना हो । परिवारमा यस्तो दृश्य देखेर मभित्र विद्रोह र भय बढ्यो । अब कसरी बाँच्ने, के गर्ने भन्ने चिन्ता एकातिर थियो भने अर्कोतिर त्यतिखेरको राजनीतिक ब्यवस्था ठीक रहेन छ भन्ने लाग्न थाल्यो । अब कसैलाई छोड्दैन, तर आमासँग बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । तर, प्रहरीले आमालाई तीन दिनमा र कान्छा दाइलाई १३ दिनमा छाडिदियो ।

ठूलो दाइ र बुबालाई ओखलढुङ्गाबाट सोलु जेल चलान गर्‍यो । दुई वर्षपछि बुबालाई र ३ वर्षपछि ठूलो दाइलाई छोड्यो ।

यो सब भारतमा वीपी कोइरालालाई भेटेर आएपछि पञ्चायतविरुद्ध लागेको भनेर दिइएको सजायँ रहेछ भन्ने कुरा मैले थाहा पाएँ ।

बुबाको राजनीति 

सेनामा जमदारको जागिरे हुँदाहुँदै बुबा बलबहादुर राई २००७ सालको क्रान्तिमा होमिनुभएको थियो । उहाँले हामीलाई भन्नुहुन्थ्यो, ‘राणाहरुका विभेदकारी नीतिहरु थिए । कुन जातिलाई कहाँसम्म भन्ने थियो । राणाहरुमै पनि तह हुन्थ्यो । जति योग्य भए पनि राणाभन्दा माथि जान नपाउने । जनताले बोल्न नपाउने । यो हेरेर एकदमै पीडा हुन्थ्यो । त्यसैले म राजनीतिमा लागेको हुँ ।’

वीपी कोइरालाले २००३ सालदेखि भारतमा बसेर राणाविरोधी, प्रजातन्त्र आवश्यक छ भन्नेखालका पर्चाहरु वितरण गर्नुहुन्थ्यो र ती पर्चाहरु बुबाले भित्रभित्रै सबैलाई बाँड्नुहुन्थ्यो, जागिरे हुँदैखेरि ।

बुबा २००७ सालबाट जागिर छोडेर पुरै राजनीतिमा लाग्नुभएको हो । ०१५ सालमा टिकट पाएर जितेर पनि आउनुभयो । ०१७ सालमा सरकार नै अपदस्त भइहाल्यो, त्यसपछि बुबाहरु पक्राउ पर्नुभयो । ०१८ सालमा छुटेपछि भारत निर्वासित हुनुभयो । आममाफीपछि ०२५ सालमा स्वदेश फिर्ता त हुनुभयो, तर त्यसपछि पनि अनेकौंपटक जेल/नेल भइरहृयो उहाँको जीवनमा ।

०४६ सालमा बहुदलपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बुबाले १९ पटकजति कार्यवाहक प्रधानमन्त्रीका रुपमा पनि काम गर्नुभयो ।

फेरिएका नेता !

त्यतिबेलाको कांग्रेसमा गुटउपगुट नभनी प्रजातन्त्र ल्याउनका लागि कसरी संगठन बनाउने, कसरी जनतामा जनचेतना जगाउने भन्ने भावना पाइन्थ्यो । नागरिकलाई कसरी अधिकार दिलाउने भन्ने हुन्थ्यो ।

पञ्चायतकालमा नेताहरुलाई ज्यानको समेत बाजी राखेर हिँड्नुपर्ने अवस्था थियो । जीवनशैली पनि साधारण थियो । नेताहरु राति राति हाम्रो घरमा आउनुहुन्थ्यो र जस्केलोबाट छिर्नुहुन्थ्यो ।

मकै भुटेर खाएर राति नै हिँड्नुहुन्थ्यो । सिलाएको चप्पल, दौराकमिज सुरुवाल लगाउँथे, त्यो पनि फाटेका हुन्थेे । गाउँघरमा बसेर काम गर्ने किसान र नेताको जीवनशैली, लवाइखवाइ उस्तै हुन्थ्यो ।

अहिले प्रत्येक ठूला भनिएका नेताहरुका आ-आफ्नै गुट छन् । पहुँचवालाको कुरा छ । चाकडीबाजहरु छन् । त्यतिबेला यस्तो थिएन । अहिले हेर्नुभयो भने प्रत्येक नेताको घरमा गाडी छ । संसदमा भवनमा पस्दाखेरि सबैको पजेरो, बोलेरो स्कर्पिओ हुन्छ । एउटा होइन, दुई-दुई, चार-चारवटा !

उहाँहरुको स्टाइल हेर्ने हो भने हिजो केका लागि लड्यौं भन्ने नै भुलेको जस्तो लाग्छ । आफ्नो सुख र सुविधा अनि पहिलो प्राथमिकतामा व्यक्तिगत स्वार्थलाई राखेको देख्छु ।

कांग्रेस मात्रै होइन, पार्टीका नेताहरुमा पनि अवस्था त्यही देखिन्छ । सर्वहाराका लागि माओवादीले १० वर्ष जनयुद्व गर्‍यो । तर, ती सर्वहारा झन् सर्वहारा भए । जसले गोली थाप्यो, जो मर्‍यो, उसको परिवार कहाँ छ ? अपाङ्गहरु कहाँ छन् ? बन्दुक बोक्नेहरु कहाँ गए ? तर, जनयुद्वको नेतृत्व गर्ने प्रचण्डको अहिलेको स्टायल हेरौं ।

मैले यसो भन्दै गर्दा कांग्रेसले पनि हतियार उठाएकै हो । एमालेले पनि उठायो । ०५२ सालपछि माओवादीले गरेको जनयुद्वमा करिव १८ हजारले बलिदानी दिए । तर, प्रचण्डको स्टायल सर्वहाराको जस्तो छ त ? केपी ओलीको पनि त्यस्तै देख्छु ।

हिजो गिरिजाबाबुका पनि धेरै कुराहरु त्यस्तै देखिन्थे । आज शेरबहादुर देउवाको पनि त्यस्तै छ । सबैको एउटै चिन्ता-आफ्नो दुनो कसरी सोझ्याउने भन्ने छ । नेतृत्व कसरी आफ्नो कब्जामा राख्ने भन्ने चिन्ता छ । त्यो नेतृत्वले आफ्नो पछाडि रहेकाहरुको मूल्याङ्कन गरेको देखिँदैन ।

माओवादी शान्ति प्रक्रियामा आएपछि बन्दूक बोक्नेहरुका नाममा आएको पैसा पार्टीमा गयो । ती गरीब र ती लडाकु त्यतिकै रहे । क्रान्ति गर्दा कांग्रेसको पनि जनमुक्ति सेना थियो ।

राणा शासनको अन्त्यपछाडि ती सेनाहरु कहाँ गए ? नेताहरु सबै आफ्नो ब्यवस्थापनमा गए । केपी ओलीको पनि त्यस्तै देखिन्छ । छोराछोरी नभए पनि आसेपासे, नरनाता पोस्ने प्रवृत्ति छ ।

शीर्षनेताहरु जे मन लाग्यो त्यही बोलिरहनुभएको छ । जनतालाई सन्देश के दिने भन्नेमा आफैँ प्रष्ट हुँदैनन् भने कार्यकर्ताले के बुझ्ने ?

मलाई बडो दिक्क लाग्छ, शेरबहादुर दाइ आफ्नै तरिकाले बोल्ने । महामन्त्रीज्युको कुरा गर्नुभयो भने धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्छ भनेर बोल्नुभयो । फेरि होइन पनि भन्नुभयो ।

पार्टीमा यस्तो कुरा उठ्दै गर्दाखेरि कि अब हामी कमल थापाको एजेण्डा लिएर कमल थापालाई नै नेतृत्व दिउँ । होइन भने, कांग्रेसले स्वीकारेर कांग्रेसकै नेतृत्वमा धर्म निरपेक्ष भनियो, राजा फालियो, गणतन्त्र आयो । यी उपलब्धीको रक्षा गर्नै संविधान जारी भइसक्यो । तर, आफ्नै पार्टीका नेताहरुले यसरी जथाभावी बोलिदिँदा वितृष्णा लाग्छ ।

अब कांग्रेसले के गरेर जाने हो त ? कार्यकर्तासँग कुनैखालको छलफल पनि छैन । हामी कुन धारमा बसेर बोल्ने भन्नेसम्म पनि नपाउँदा दिक्क लाग्छ । अब कांग्रेसको यो है एजेण्डा भनेर कुनैखालको प्रशिक्षण पनि छैन । नीति त छ कांग्रेसको । तर, नीतिअनुसार कांग्रेसीहरु चल्न सकेका छैनन । पार्टीभित्र आन्तरिक लोकतान्त्रिक चरित्र पनि देखिँदैन ।

संसदभित्र पनि कमजोर

संसदभित्र हाम्रो भूमिका प्रभावकारी देखिएको छैन । म आफैँ प्रतिपक्षको बेञ्चमा बस्दैगर्दाखेरि जुन किसिमले बलियो प्रतिपक्षको भूमिका देखिनुपर्ने हो, त्यो छैन । कति विषयहरुमा हामी कुरा उठाउँछौं, बस्छौं । त्यो जस्ताको त्यस्तै पारित हुन्छ । हुन्छ पनि भन्दैनौं, हुन्न पनि भन्दैनौं । हामी माननीयहरु आफैँ अलमलमा पर्छाैं। हामीलाई पार्टीबाट निर्देशन हुँदैन । आज उठ्ने है भनेपछि उठ्ने । बस्नुस् भनेपछि बस्ने ।

सरकार पक्षले विधेयकहरु पास गर्दै जान्छन् । सभामुखले हुन्छ, हुन्न भन्दा हामी हुन्छ पनि भन्दैनौं । हुन्न पनि भन्दैनौं । यस्तो अलमलमा छाैं संसदभित्र ।

संसदमा सत्तापक्षले पेलेरै गइरहेको छ । हामी यो कुरा आफ्नो पार्टीका शीर्षनेताहरुलाई भन्छौं । तर, मुख खुम्च्याउनुहुन्छ । ‘अब यस्तै हो के गर्नु, आज यस्तै भयो’ भन्नुहुन्छ ।

संसदमा राजपा उठ्ने कि हामी उठ्ने भन्ने पनि हुन्छ कहिलेकाँही । आज के गर्ने त भन्दा आज राजपा उठ्ने रे भन्छन् । राजपा उठ्छन, सभामुखले मनाइहाल्नुहुन्छ, ऊ बसिहाल्छ । हामी यस्तै भयो भन्छौं ।

कांग्रेस लचिलो पार्टी पनि हो । धेरै अवरोध गर्‍यो भने प्रतिपक्षले कामै गर्न दिएन भनेर अपजस आउने भएको हुनाले पनि धेरै ठाउँमा कांग्रेस लचिलो भएको अर्को पाटो पनि छ, छनलाई ।

तर, हामी विरोध गरिरहेका हुन्छौं । उनीहरु बररर ताली ठोकेर पास गर्छन् । चिकित्सा शिक्षा विधेयक पारित हुँदाको अवस्था देखिहाल्नुभयो । दुई तिहाई भनेपछि प्रतिपक्षलाई केही सोध्नै नपर्ने भन्ने त हुँदैन होला । आफ्नै पार्टीबाट पनि विरोध गरिराखेका हुन्छन् । पारित गर्नेहरु टेबल ठोक्छन । किन भन्दा हामीले त समर्थन गर्नैपर्छ भन्छन् ।

संसदमा लापरवाही

हाउसमा जाने, हाजिर गरेर निस्कने । त्यो त भत्ता पकाउनलाई मात्रै गएको जस्तो भएन र । संसदीय समितिमा पनि शीर्षनेताहरुको चासो कम छ । हाम्रै पार्टी सभापति संसदीय समितिमा उपस्थिति जिरो रहेको भन्ने आइरहेको छ ।

म सदस्य रहेको अर्थ समितिमा पनि पार्टीका महामन्त्री शशांक कोइराला दाइ, विजयकुमार गच्छदार दाइ हुनुहुन्छ । तर उहाँहरु पनि आउनुहुन्न ।

अरु पार्टीका शीर्षनेताहरु पनि संसदिय समितिमा आउनुभएन भन्ने छ । उहाँहरुको कार्यव्यस्तताले पनि यस्तो भएको हो भन्ने लाग्छ । संसदीय व्यवस्थालाई महत्व नै नदिएको त भन्दिनँ, तर धेरै लापरवाही छ । तर, हामी ठूला नेताले जे गर्दा पनि हुन्छ भन्ने परेको हुन सक्छ ।

संविधानसभामा हामी संविधान लेखनका एजेण्डामै व्यस्त हुन्थ्यौं । राति ११ बजेसम्म पनि सदन चल्थ्यो । संविधानमा कस्तो व्यवस्था राख्ने भन्ने बहसमा भित्र र बाहिर धेरै व्यस्त हुन्थ्यौं ।

अहिले विकासका कुराहरु, संविधान अनुसार बनाउनुपर्ने कानुनहरुका विषयमा बहस हुन्छ । जनताले पनि पहिले संविभान लेख्न पठाएको भनेर विकासका कुरामा धेरै प्रेसर गर्दैनथे ।

तर, अहिले यो ठाउँमा बाटो चाहियो, पुल चाहियो, विकासका परियोजना चाहियो भनिरहनुभएको हुन्छ । परिणामको कुरालाई थाती राखेर हेर्ने हो भने, स्थानीय सरकार र प्रदेश सरकारले पनि विकासकै कुरामा जोड दिइरहेका छन् ।

समानुपातिक कोटामा बेतिथि

आर्यनकी श्रीमती जनजाति, जनजातिकी श्रीमती आर्यन छन् । तर, दुबैतर्फबाट जनजाति कोटामा समानुपातिक सांसद भएका आएका छन् । यसमा चित्त बुझ्दैन ।
जनजातिको कोटामा आउनुहुन्छ तर, जनजातिको कुरा उठायो भने रिसाउनुहुन्छ । ‘खाली जनजाति भन्नुहुन्छ तपाईहरु के छ र त्यस्तो ?’ भन्छन् । तपाइर्ं जनजाति कोटामा आउनुभएको, जनजातिको विषयमा बोल्नुस् न भन्दा ‘कति बोल्ने ? म जनजाति कहाँ हुँ र’ भन्छन् ।

जनजाति महिलाले गैरजाजातिसँग बिहे गरेको छ । ऊ खुल्लाबाट आउँछ र जनजातिको मात्रै कुरा गर्छ । तपाई किन जनजातिको मात्रै कुरा गर्नुहुन्छ ? तपाइर्ं जनजाति भए पनि बाहुनको कोटामा आउनुभएको छ’ भन्दा कहाँ छोड्न सकिन्छ र भन्नुहुन्छ ।

त्यसैले समानुपातिकको यस्तो बेथतिलाई आगामी दिनमा परिमार्जन गर्नुपर्ने देखिन्छ ।

महिला अधिकारका कुरा

आदिवासी जनजातिलाई संविधानले धेरै कुरा दिएको छ । मधेसले पनि पाएको छ । दलितले पनि पाएको छ । तर, सबैतिर समानुपातिक ढङ्गले प्रतिनिधित्व भइसकेको छैन । तर, मलाई के लाग्छ भने यो विकासक्रममा पनि हुँदै जाने विषय हुन्छ ।

नेतृत्व कसरी गर्ने ? क्षमता कसरी बढाउने भन्ने विषय बाँकी छन् । महिलाको विषयमा भने हाम्रो सोचमा पनि केही समस्या भएको जस्तो लाग्छ । स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एक महिला हुनुपर्ने भनियो । धेरैतिर प्रमुख पुरुष र उपप्रमुख महिला छन् । यो नियम जस्तो पो भयो ।

महिलाले प्रमुख भएर काम गर्न नसक्ने त होइन नि । जनताले पनि पुरुष नेताहरुलाई नै बढी महत्व दिन्छन् कि जस्तो लाग्ने कहिलेकाँकी । उहाँहरु रातभर बस्ने, ग्याङ बनाउने ।

म आफैँ पनि ०७० को चुनावमा १२ मतले हारें । पुरुष नेताहरु रातभर बस्थे । म भने साँझ परेपछि घर आउनुपर्ने हुन्थ्यो । रातभरि तिम्रो के काम हुन्छ र भन्ने पनि आउँथ्यो । महिलाले घर, परिवार र राजनीति सबै सम्हाल्न सजिलो हुन्न ।

महिला र पुरुष नेताहरुमा पनि रोजाइमा पुरुष नै पहिला आउँछन । कुनै कार्यक्रममा म भन्दा तल्लो स्तरका पुरुष नेताहरु हुनुभयो भने पनि पहिला उहाँलाई आशन ग्रहण गराउने अनि ए प्रमिला दिदी पनि हुनुहुन्छ, आशनग्रहण गरिदिनुस् भन्ने । जिल्लामा मेरो सक्रियता हेर्नुभयो भने म कति भाइहरु भन्दा अगाडि छु । तर, त्यहाँनेर स्थान दिनेबेलामा पछाडि हुने । त्यसकारण महिला र पुरुष बराबर हौं भन्ने मात्रै छ ।

तथापि, उपप्रमुख भए पनि महिला हुनु यो उपलब्धि हो । संविधानले बाध्य गरेका कारणले यो भयो । महिला उठेको ठाउँमा महिला नै उठाउने भनेर पनि संविधान निर्माणका क्रममा उठाएका थियौं । तर, यसरी आयो । संविधानले नबाँधेको अवस्थामा महिलाको सहभागिता अनिवार्यता गरिँदैन ।

(अनलाइनखबरकर्मी ररघुनाथ बजगाईंसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?