Comments Add Comment

डोजरमै सुते, स्थानीयलाई प्रतिकारमा उतारे

अवैध संरचना हटाउन पोखरामा सकस

११ चैत, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङमा पर्ती जग्गा ओगटेर बनाएको युवराज खतिवडाको घरमा स्थानीय जनप्रतिनिधिले डोजर लगाएका छन् ।

सार्वजनिक जग्गामा बनेको संरचना हटाउन पटक–पटक आग्रह गर्दा पनि नमानेपछि महानगरपालिकाका जनप्रतिनिधि सोमबार डोजर लिएर पुगेका थिए । टोली पुग्नु अघि नै खतिवडाले घर अगाडि ट्याक्टर र गाडी तेर्स्याएर राखेका थिए भने स्थानीयबासी जम्मा भइसकेका थिए । स्थानीय खतिवडाको पक्षमा उभिए । संरचना हटाउन पुगेको टोलीलाई अवरोध गरे, डोजरमा सुते ।

खतिवडाको घर भत्काउने हो भने पोखरामा बनेका सबै अवैध संरचना भत्काउनु पर्ने स्थानीयको शर्त थियो । ब्यक्तिगत विवादमा घर भत्काइएको उनीहरुको दाबी छ ।

लामो चर्काचर्कीपछि प्रहरीलाई प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको आदेश आयो, ‘वडाध्यक्षले भने बमोजिक गर्नु, पछि नहट्नू ।’ तर, खतिवडा र स्थानीयले संरचना भत्काउन नदिन हदैसम्मको हत्कण्डा अपनाएका थिए । उनीहरुले प्रहरीको प्रतिवादमात्रै गरेनन्, वडा नम्बर ५ की सदस्य अञ्जु केसीमाथि आक्रमण गरे ।

अन्तत प्रहरीले बल प्रयोग गरेर अवैध संरचनामा डोजर लगाएको छ । साथै घरधनी खतिवडाको परिवार र केही स्थानीयलाई नियन्त्रणमै लिइएको प्रहरीले जनाएको छ ।

खतिवडाले उक्त टोलमा सडक ढलान र अरु बाटो पनि पिच गर्ने स्थानीयलाई बताएका थिए ।

महानगरका अनुसार खतिवडाले २ आनाभन्दा बढी सार्वजानिक जग्गा हडपेको पाइएको छ । एक महिनाअघि अवैध संरचना भत्काउन सूचना जारी गरिएको थियो । खतिवडाले निषेधाज्ञा माग गर्दै अदालतमा गरे । अदालत उनको पक्षमा आदेश दिएन ।
त्यसपछि वडाध्यक्ष धनबहादुर नेपालीको नेतृत्वमा महानगरको टोली अवैध संरचना भत्काउन पुगेको थियो ।

खतिवडाले भने १३ गते अदालतमा पेशी रहेको भन्दै त्यतिन्जेल पर्खन आग्रह गरेका थिए । तर, महानगरका अनुसार एक महिनाअघि खतिवडा घर छेवैको संरचनामा डोजर लगाउँदा आफैं भत्काउने आश्वासन दिँदै समय मागेका थिए ।

वडा सदस्य अञ्जु केसीको मानहानी गरेको र मिडियामा गलत प्रचार गरेको जाहेरी परेपछि खतिवडा प्रक्राउ परेका उनले फागुन १० गते माफी माग्नुका साथै आफैं संरचना हटाउने सहमति गरेर प्रहरी हिरासतबाट छुटेका थिए ।

तर, बाचा पूरा नगरेको वडाध्यक्ष नेपालीले बताए । ‘उसले मिचेको छ, मैले मिच्न किन नपाउने भन्ने तर्क गरेर उन्मुक्ति पाइँदैन । अटेरी र कानुनविपरीत गर्नेविरुद्ध कारबाही हुनैपर्छ,’ उनले भने, ‘हामी अवैध संरचना हटाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment