Comments Add Comment

मुक्त हलिया पुनः हलिया बस्न बाध्य

७ पुस, दार्चुला । सुदूर र मध्यपश्चिममा हलिया प्रथाको अन्त्यको घोषणा गरेको छ वर्ष बितेका छन् तर मुक्त हलियाको अवस्था कष्टप्रद रहेको छ । उनीहरू पुनः हलिया बस्न बाध्य हुने गरेको यहाँ पाइएको छ ।

सरकारले छ वर्ष पहिले २०६५ साल भदौ २१ गते सुदूरपश्चिम र मध्यपश्चिमका १९ हजार ५९ हलियालाई बँधुवा मजदुर प्रथाबाट मुक्त भएको घोषणा गरेको थियो ।

सरकारले मुक्त गरेपछि पनि कतिपय मुक्त हलियाको अवस्था अझ दर्दनाक बनेको छ । उनीहरूको न त आफ्नो जमिन छ, न आफू बसेका झोपडी नै आफ्ना हुन सकेका छन् । उनीहरूका साना झोपडी पनि साहुको जमिनमा बनाइएका छन् ।

सरकारले हलियाको नाममा रहेको ऋण जिल्ला प्रशासनबाट ऋण खारेजी गरी मुक्त गराए पनि परिवारको बिचल्ली हुने अवस्था आएपछि पुनः उही साहुको घरमा गएर पुरानै ऋणमा हलिया बस्नु परेको डडेलधुरा कैलपालमाडौँ-१ मोइका मुक्त हलिया टीकाराम टमटा बताउनुहुन्छ । आफू १७ वर्षदेखि २० हजार रुपैयाँको ब्याजमा हलिया बस्दै आएको उहाँले बताउनुभयो ।

मुक्त हुनुअघि साहुबाट परिवारका लागि दसैँतिहार र नयाँ वर्षमा लुगाफाटो र सिजनअनुसार धान, गहुँ, चामल पाउँथे तर मुक्त भएपछि आफूलाई दैनिक हातमुख जोर्नसमेत धौधौ परेकाले आफू स्वेच्छाले पुरानै ऋणको ब्याजमा हलिया बस्दै आएको उहाँले बताउनुभयो ।

उहाँले वर्षमा दुई महिना हलिया बस्ने र त्यसपछिका आठ महिना वैदेशिक रोजगारीका लागि भारत जाने बताउनुभयो । फेरि खेती लगाउने समयमा हलो जोत्न साहुको घर र्फकने गरको उहाँले बताउनुभयो ।

टमाटाले भन्नुभयो- साहुले दिने गरेको अन्नले परिवार पाल्न हुने र आफूले भारतबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्यमा सहयोग पुग्छ ।

मुक्त भएका कतिपय हलिया पछिल्लो समय पुनः हलिया बस्न बाध्य भएका छन् अथवा रोजगारीको सिलसिलामा भारततिर जानेक्रम बढेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment