+

बगरबाट ‘मेस्सी’ बन्ने सपना

२०७५ चैत  ९ गते १४:१३ २०७५ चैत ९ गते १४:१३
बगरबाट ‘मेस्सी’ बन्ने सपना

९ चैत, पोखरा । सेती नदी किनारमा ठूलो सुकुम्बासी बस्ती । बस्तीको गल्ली छिचोल्दै जाँदा सबैभन्दा पुछारमा देखिन्छ, एउटा ४ कोठे घर । त्यही घरभित्र ५ जनाको परिवार । त्यो परिवार सेतीसँग जिस्किँदै बसेको पनि २५ वर्षबेसी भइसकेको छ ।

एक त खोला किनारमा घर । कुन समयमा बाढी पस्छ र जीवन सोहोरेर लैजान्छ भन्ने थाहा छैन । त्यसमाथि न त उभिएको जमीन आˆनो हो न त घामपानी छेकेको त्यो सानो छानो हकदाबी गर्ने कुनै प्रमाण नै छ । त्यही घरको एउटा छोरो भने ‘नेपालको मिस्सी’ बन्ने सपना हुर्काइरहेको छ ।

त्यो घरको मुख्य आयस्रोत भने त्यही सेती बगर हो । जीवनै उठाएर लैजान्छ कि भन्ने भयमा पनि आश्रय दिइरहेको छ । बाबु बिहानै खोलामा माछा मार्न जान्छन्, आमा र हजुरआमा बालुवा चाल्न । १२ वर्षीय क्रिजल (विनय) तामाङ सेती बगरमै सानो भाइसँग दिनभर  खेलेर बस्छन्, लात्ते भकुन्डो ।

बगरमा फुटबल खेल्दाखेल्दै क्रिजल जापान जान पाउने भएका छन् । उनी १२ वर्ष मुनिका जापानमा हुन लागेको जुनियर कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न चैत ११ मा त्यता उड्न लागेका हुन् । त्यतिबेला उनीमात्रै उड्ने छैनन्, उनीसँगै सिंगो उनको सपना उड्ने छ । त्यो एउटा स्वणिर्म सपनाको उडान हुनेछ । प्रतियोगितामा जापान, नेपाल, ब्राजिल, जर्मनीलगायत विभिन्न ४० राष्ट्रको सहभागिता रहनेछ ।

जापानी भूमिमा क्रिजलले नेपालको तर्फबाट पहिलो खेल मार्च २९ मा खेल्नेछन् । मिडफिल्डर पोजिसनमा उभिन तयार उनलाई जितेरै आउन मन छ । भन्छन्, ‘मेस्सीले गोल गर्‍या देख्याछु । त्यस्तै गरी जितेर आउने हो ।’ उनीहरुलाई अहिले प्रशिक्षक सम्भू केसीले प्रशिक्षण दिइरहेका छन् ।

पहिलेपहिले क्रिजलकी आमालाई लाग्थ्यो, ‘दुख गरेर छोरालाई पढाउन स्कुल भर्ना गरियो । छोरो नपढेर फुटबल खेलेर बस्छ ।’ तर अचेल उनको त्यो विचार फेरिएको छ । उनी आफैं समय मिलाएर छोरोलाई फुटबल खेल्न दिइरहेकी छिन् । आफू नखाएर भएपनि छोरोलाई खेल्न चाहिने सरसामान जुटाइरहेकी छिन् ।

विदेशको नाममा इन्डिया पनि नदेखेको परिवारको छोरो जापान जाने तयारी गर्दैछ ।  यतिबेला परिवारलाई खुसीले झ्वाम्मै अंगालो हालेको छ । क्रिजलका आफन्त भन्छन्, ‘फुटबल खेलेर यति सानै उमेरमा विदेशसम्म पुग्छ भन्ने लागेकै थिएन । अब देशको नाम राखोस् । हामीलाई सुख देओस् ।’

०००

क्रिजल स्वयंलाई थाहा छैन कहिलेदेखि बगरमा लाते भकुन्डो हिर्काउन थाले । तर उनलाई यत्ति थाहा छ, ‘फुटबल खेल्न खेल्न पाए सबै पुग्छ ।’ उनी झिसमिसेमै उठ्छन् र ‘दाइहरु’ले दिएको पुरानो फुटबल खुत्तामा नचाउन पुगिहाल्छन् ।

घरछेउमा सेतीले कटानपछि छोडेको सानो थुम्को छ । त्यही थुम्का क्रिजलका लागि रंगशाला भइदियो । त्यही थुम्कामा साथीभाइ मिलेर कयौं पटक ‘म्याच’ खेलेका छन् । घरनजिकको थुम्का देखाउँदै भन्छन्, ‘पैलेदेखि हृयैं खेलेको हुम् । पछि दाइहरुसँग माथि खेल्न गएँ ।’

उक्त ठाउँमा २ वर्ष पहिले त्रिवेणी फुटबल एकाडेमी खुल्यो । स्कुलमा पढ्दापढ्दै त्यही एकाडेमीमा पुगे । त्यहाँ पुगेपछि क्रिजलको खेलमा सुधारमात्रै आएन, खेलेर पनि विदेश जान पाइने रहेछ भन्ने लाग्यो । ‘सुरुदेखि नै हाम्रो नजरमा परेको थियो । अहिले उसले आफैं प्रमाणित गरेर देखाइदियो,’ उनलाई प्रशिक्षण दिइरहका अञ्जन देवकोटा भन्छन् ।

क्रिजल भानुभक्त विद्यालयमा कक्षा ७ मा पढ्छन् । उनलाई उत्तिसारो खेलाडीको नाम पनि थाहा छैन । तर उनले बार्सिलोनाका लियोनल मेस्सी भने चिनेका छन् । भन्छन्, ‘ठूलो भएर म पनि मिस्सी जस्तै खेलाडी हुन्छु ।’ उनलाई नेपालका खेलाडी विमल घर्तीमगरको नाम भने कण्ठै छ ।

०००

क्रिजलका बाबु बमबहादुर तामाङको मुख्य पेसा भन्नु नै माछा मार्नु हो । उनी बिहानै उठ्छन् र जाली समाएर पोखराका खोलाखोला डौडिहाल्छन् । एकदिन माछा नमारे छाक नटर्ने अर्को आपत आइलाग्छ ।

क्रिजलकी आमा र हजुरआमाको पनि त्यही कथा छ । उनीहरुले पहिले सेती खोलामै ढुंगा कुटेर गिटी बनाउँथे । तर आजभोली कुटेको गिटी कसैले नकिन्दा त्यो व्यवसाय नै छोडिदिएको उनीहरु बताउँछन् । उनकी हजुरआमा भन्छिन्, ‘पहिले पो कुटेको गिटी बिक्थ्यो, अहिले त त्यो पनि हरायो । बिहानै उठेर बालुवा चाल्नुपर्छ ।’

छोरो, नाती खेलेर देशको नाम राखोस् भन्ने चाहना उनीहरुको छ । ‘बिहानबेलुकै खेल्छु भन्छ । साँझ ढिलोसम्म पढ्छ । समय नै पाउँदैन । आजभोलि बिहान खेल्न पठाइराखेका छौं,’ आमा भन्छिन्, ‘भोलि केही गरेर ठूलो मान्छे भयो भने हामीले पनि बगरमै ज्यान गुमाउनुपर्ने थिएन ।’

लेखक
विकास रोकामगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय