Comments Add Comment

हेमन्तप्रकाशका दुई समस्या : चिनीरोग र यौन !

तेस्रोपटकमा प्रहरीको फन्दा परेका हेमन्तप्रकाश वली को हुन् ?

९ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका शीर्षनेता हेमन्तप्रकाश वली उर्फ सुदर्शन प्रहरीको तेस्रो प्रयासपछि फन्दामा परेका छन् । उनलाई शनिबार बिहान विशेष ब्यूरो र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो ।

अपरेसनमा खटिएका एक प्रहरी अधिकारीका अनुसार हाल सुदर्शनलाई काभ्रेबाट काठमाडौंतर्फ ल्याइँदैछ । ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी १० फागुनमा भएको विष्फोटलगत्तै वलीले घटनाको जिम्मेवारी लिएका थिए ।

वलीले बीबीसी नेपाली सेवासँग अन्तरवार्ता दिँदै बम विस्फोट आफूहरुले गराएको स्वकिार गरेका थिए । उनले बम हान्दा मृत्यु भएकालाई राहत दिनेसमेत दाबी गरेका थिए ।

बम बिस्फोटनको जिम्मासमेत लिइसकेको अवस्थामा अब प्रहरीले सोही प्रमाणका आधारमा वलीविरुद्ध विष्फोटक पदार्थ र ज्यान सम्बन्धी कसुर अन्तरगत मुद्दा चलाउनेछ । व्यक्तिको ज्यानै जाने गरी भएको बिस्फोटनको जिम्मा वलीले बीबीसीमा लिइसकेकाले सोही प्रमाणका आधारमा जेल पठाउन सजिलो हुने सरकारी सूत्रको दाबी छ ।

नख्खुमा शक्तिशाली रिमोट कन्ट्रोल प्रेसर कुकर बम पड्काइएको नेपाली सेनाको पोस्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले गरेको अनुसन्धानबाट खुलेको छ । त्यो बम एनसेल मुख्यालयभित्र पड्किएको भए झन् ठूलो क्षति हुने निष्कर्ष सेनाको टोलीले निकालेको थियो ।

पहिलोपटक उपत्यका छाडेका कारण बचे

एनसेल विष्फोटलगत्तै प्रहरीले दुईजना सुरक्षागार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसपछि प्रहरीले सीसी टीभीमा देखिएको मोटरसाइकललाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

एकातिर घटनामा विप्लव समूहको संलग्नता हुन सक्ने आशंकासहित प्रहरीले अनुसन्धान गरिरहेकै थियो भने अर्कातिर विप्लव समूहको तर्फबाट धारणा सार्वजनिक गर्दै सुदर्शन सञ्चारमाध्यममा झुल्किइरहेका थिए । उनले घटनाको जिम्मेवारीसमेत लिए । त्यसबेलासम्म नख्खु घटनामा महत्वपूर्ण सुराक हात नलागेर अल्मलिरहेको प्रहरीको निशानामा वली परे ।

वलीलाई पक्राउ गर्नका लागि लोकेसन ट्रेस गरेर टोली मुभ भए पनि उनी उपत्यकाबाहिर रहेको सूचना मिलेपछि तत्कालका लागि उनी जोगिएका थिए । वली जोगिएपछि प्रहरीले विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेललाई पक्राउ गरेको थियो ।

यद्यपि, प्रहरीले वलीको खोजीलाई पनि जारी राखेकै थियो । वलीलाई पक्राउ गर्न उनको एउटै कमजोरीका कारण प्रहरीलाई सहज थियो । वली उच्च रक्तचाप र चिनीरोग (डाइबिटिज) का बिरामी थिए । दिनमा ३ पटक उनले औषधि लिनुपर्थ्यो । यसका लागि उनी कि त आफैं मेडिकल धाउनुपर्थ्यो, कि त कार्यकर्तालाई पठाउनुपर्थ्यो । यही कमजोरीका कारण प्रहरी उनको नजिक पुगेको हो । वली भने आफू पक्राउ पर्न सक्ने थाहा हुँदाहुँदै पनि औषधिको नजिक रहन बाध्य थिए ।

दोस्रोचोटि चश्मा र औषधिमात्रै भेटियो

सोमबार प्रहरीको सुराकीले अनुसन्धान टोलीलाई एउटा महत्वपूर्ण सूचना दियो, ‘मध्य कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश वलीलगायतका लागि आवश्यक सामाग्री खरिद गर्न एक कार्यकर्ता बालाजु आएका छन् ।’

सूचनापछि त्यसतर्फ दौडिएको प्रहरी टोलीले मोटरसाइकलसहित डिकेन्ऽ राईलाई पक्राउ गर्‍यो । तर, उनी पहिलो पटक मोटरसाइकलमा देखिएका व्यक्ति थिएनन् ।

सुदर्शनका निकट सहयोगी नुमबहादुर विक पहिले त्यो मोटरसाइकल लिएर आएको खुल्यो । दिउँसो उनी पनि समातिए ।

मंगलबार तिनै दुईजनाको सहायतामा प्रहरी टोली सुदर्शनलाई समात्ने योजनासहित काभ्रेतर्फ हानिएको थियो । तर, काभ्रेको कुन ठाउँमा सदुर्शन बसेका छन् भन्ने उनीहरुलाई पनि थाहा थिएन । प्रहरी टोलीसँग गएका विकको शुदर्शनसँग फोनमा कुराकानी भने भइरहेको थियो ।

उनले चण्डीगाउँ-५ मा रहेको ग्रामोत्थान प्राविमा विकलाई बोलाए । तर, त्यहाँ उनी नआएपछि प्रहरी टोली अघि बढ्ने क्रममा अन्य दुईजना पक्राउ परे ।

विद्यालयबाट उकालो लाग्नेवित्तिकै आएको एउटा शंकास्पद मोटरसाइकलमाथि केरकार गर्ने क्रममा सिन्धुपाल्चोकका विशाल तामाङ पक्राउ परे । त्यसको केहीवेरमै झापाका शिव धिमाल पनि पक्राउ परे ।

धिमाललाई पक्राउ गर्ने क्रममा समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको पनि दाबी गरिएको थियो । तर, विप्लव समूहले भने त्यसलाई नकार्दै आएको छ

राति प्रहरी टोली सुदर्शन बसेको भनिएको वीरबहादुर लामाको घरमा पुग्यो । तर, त्यहाँ घरमुली वीरबहादुर लामा र उनकी श्रीमती मात्रै थिए । बरु त्यहाँ सोधपुछका क्रममा सुदर्शन दुई दिनदेखि बसिरहेको भन्ने खुल्यो । र, उनको चश्मा र डाइबिटिजको दुई पत्ता औषधि बरामद भयो ।

तेस्रोचोटि समातिए

प्रहरी आएको चाल पाउनेवित्तिकै वीरबहादुर लामाको घरबाट सुदर्शन फरार भइसकेका रहेछन् । प्रहरीले भने उनीमाथि नजर राखिरहेकै थियो ।

त्यसक्रममा शनिबार बिहान उनी काभ्रेबाटै समातिए । ‘भौगोलिक विकटता र रोगका कारण उनी भागेर टाढा जान सक्ने स्थिति थिएन’, प्रहरी स्रोत भन्छ, ‘त्यसकै कारण उनी हाम्रो फन्दामा परे ।’

प्रहरीले वलीसहित ८ जना कार्यकर्तालाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपमा काठमाडौंतिर आउँदै गर्दा खानीखोला-७, मिल्चेबाट पक्राउ परेको दाबी गरेको छ ।

तर, समूह स्रोत भने उनलाई काभ्रेको एकगाउँको घरबाट पक्राउ गरिएको बताउँछ ।

भूमिगत भएर गाउँ पसेका विप्लव समूहका नेताहरुले पैदल हिँड्नुको साटो अहिले पनि चार पाङ्रे गाडी छाडेका छैनन् भने उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई सजिलो हुनु स्वाभाविकै हो ।

‘प्रचण्डपथ’ का प्रयोगकर्ता !

हाल विप्लव समूहको मध्य कमाण्डका इञ्चार्ज रहेका हेमन्तप्रकाश वली आफूलाई दार्शनिक नेता भन्न रुचाउँछन् । किताव र लेखहरु लेखिरहने उनी सरल जीवनशैलीका सोझा तर अध्ययनशील नेता मानिन्छन् ।

माओवादी सशस्त्र द्वन्द्वका समयमा उनी पार्टीको पोलिटब्यूरो सदस्यका साथै राप्ती ब्यूरो इञ्चार्जसमेत भए । जनयुद्धकालीन ३५ सीसीएममध्ये उनी पनि एक हुन् । उनी ०५४ सालदेखि माओवादीको केन्द्रीय कमिटीमा पुगेका हुन् । माओवादीले जनयुद्ध सुरु गर्दा उनी रुकुमको पार्टी प्रमुख (सचिव) थिए ।

हेमन्तप्रकाश माओवादीका युवा पुस्ताका सिनियर नेतामध्येका एक हुन् । जनार्दन शर्मा, नन्दकिशोर पुन पासाङ, लोकेन्द्र विष्ट, देवेन्द्र पौडेल, वर्षमान पुन, टोपबहादुर रायमाझी र नेत्रविक्रम चन्दकै समकालीन नेता मानिन्छन् हेमन्तप्रकाश ।

यो पनि पढ्नुहोस ‘काफलडाँडा’ अपरेशन: हेमन्तप्रकाशलाई समाउन खोज्दा चश्मा र औषधिमात्रै भेटियो (तस्वीरसहित)

त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका वलीले माओवादी शान्ति प्रक्रियामा आएपछि संविधानसभा चुनावमा भाग लिएनन् । नेत्रविक्रम चन्द विप्लव, देवेन्द्र पौडेल र उनी ०६४ सालको चुनावमा छुटे । जसका कारण मूलधारको राजनीतिमा उनी जनार्दनहरुको तुलनामा पछि परे ।

रुकुमको धौलाबाङमा विसं. ०२२ सालमा जन्मेका वलीले ०३६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनले कम्युनिष्ट पार्टीको सदस्यता ०४० साल माघमा वालकृष्ण केसीबाट लिएका थिए । सोही सालदेखि उनी होलटाइमर बने । ०५१ सालमा उनी पार्टीको रुकुम जिल्ला सचिव भए । त्यसको तीन वर्षपछि केन्द्रीय कमिटीमा पुगेका सुदर्शनको प्रचण्डसँगको पहिलो भेट ०४६ सालमा भएको हो ।

माओवादी शान्ति प्रक्रियामा आउँदासम्म राप्तीको इञ्चार्ज भएर काम गरेका वलीले ३ वैशाख ०७२ मा तत्कालीन एमाओवादीको पोलिटब्युरो सदस्यबाट राजीनामा दिए । एमाओवादी पार्टीले भने त्यसबेला उनमा यौन विचलन देखिएको भन्दै कारवाहीको घोषणा गरेको थियो ।

प्रचण्ड नेतृत्वको एमाओवादीबाट राजीनामा दिएपछि केही समय ‘कम्युनिष्ट न्युक्लियस नेपाल’ नामक पार्टी गठन गरेका सुदर्शनले डेढ वर्षअघि मात्रै विप्लव समूहसँग एकता गरेका थिए । एकतापछि उनले आफ्ना पुराना सहयोद्धा लोकेन्द्र विष्टलाई पनि विप्लव समूहमा लैजानका लागि फकाएका थिए । तर, विष्ट राजनीतिबाटै निश्त्रिmय बनेर कृषि पेशामा लागेका छन् । अर्का पूर्वमाओवादी गोपाल किरातीले पनि विप्लव समूहको सशस्त्र गतिविधिप्रति असहमति राख्दै बेग्लै समूह बनाएर अघि बढिरहेका छन् । त्यस्तै मोहन वैद्यको पनि बेग्लै समूह क्रियाशील छ ।

पञ्चायतकालदेखि पटक-पटक पक्राउ पर्दै आएका सुदर्शनले जनयुद्धका बेला ०५५ सालमा पक्राउ परेर बाजुरा कारागारमा केही समय जेल जीवन बिताएका थिए । त्यसबेला आफूले ‘कूटनीतिक तरिकाले जेल ब्रेक गरेको’ उनले बताउने गरेका छन् ।

रुकुमका स्थायी घर भएका सुदर्शन कुनै समय हालका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका प्रशंसक थिए । तर, पछि उनी प्रचण्ड समूहमा मात्रै लागेनन्, उनले आफूलाई ‘प्रचण्डपथको प्रयोगकर्ता’ समेत बताए । यतिसम्म कि प्रचण्ड नेतृत्वको एमाओवादीबाट बाहिरिँदासम्म पनि उनले ‘प्रचण्डपथ’ को वकालत गर्न छाडेका थिएनन् । प्रचण्डले ‘प्रचण्डपथ’ छाडेको तर, आफूले त्यसलाई समातेर अघि बढ्ने उनले बताउने गरेका थिए ।

वलीको अर्को कमजोरी -‘सेक्स’

वलीले राजनीतिमा सक्रिय हुँदा शरीरलाई पर्याप्त ध्यान दिन पाएनन् । उमेरले ५३ वर्षमा हिँडिरहेका वलीलाई अहिले ब्लड प्रेसर र डायबिटिजका बिरामी हुन् । एकातिर सशस्त्र बाटोमा लाग्ने क्रान्तिकारी विचार अनि अर्कोतर्फ औषधि खाइरहनुपर्ने रोगी शरीरवीचको अन्तरविरोधको शिकार बन्न पुगेका छन् उनी । र, यही शारीरिक कमजोरीकै कारण उनी सहजै प्रहरीको फन्दामा परेका छन् ।

रोगी शरीर हेमन्तप्रकाशको एउटा कमजोरी हो भने उनको अर्को कमजोरीचाहिँ यौन अर्थात सेक्स हो ।

यो पनि पढ्नुहोस विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

यौनकाण्डमा नमुछिएका भए पार्टीमा उनको स्टाटस कमजोर हुने थिएन । पार्टीभित्र उनी दुईपटक यौनविवादमा मुछिए र कारवाहीको भागिदारसमेत बने । यद्यपि उनले माओवादी पार्टीभित्र ‘प्रेम-यौन-विवाहवारे हिन्दु-मुस्लिम ढोंगी दृष्टिकोण रहेकाले’ आफूमाथि आरोप लाग्ने गरेको बताउँदै आएका छन् ।

जनयुद्धकालमै एक सामान्य महिलासँग यौनकाण्डमा मुछिएपछि उनलाई सांस्कृतिक विचलनको आरोपमा स्पष्टीकरण सोधिएको थियो । सेल्टरमा बस्दा असाध्यै जाडो भएकाले ती महिलासँग सुत्न बाध्य बनेको उनले त्यसबेला  पार्टीमा स्पष्टीकरण दिएको माओवादी स्रोत बताउँछ । र, सो घटनापछि उनी थप कारवाहीमा नपरियोस् भनेर प्रचण्डसँग अझ बढी नजिकिएको र पार्टीभित्र प्रचण्डपथको चर्को स्वरमा वकालत गर्न थालेको माओवादी स्रोतको दाबी छ ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि उनी यौन विवादमा मुछिए । शान्ति प्रक्रियामा आएपछि उनी एकजना रेडियोकर्मीसँग लहसिए । र, त्यही कारण उनले पार्टीबाट कारवाही भोग्नुपर्‍यो ।

तथापि वलीले भने प्रचण्डमा विचलन आएकाले आफूले पार्टीबाट राजीनामा दिएको बताउँदै आएका छन् । त्यसबेलाको राजीनामा पत्रमा उनले ‘प्रेम-यौन-विवाहवारे हिन्दु-मुस्लिम ढोंगी दृष्टिकोण रहेकाले सांस्कृतिक कमजोरी देखाएर विना छानविन कारवाही गरिएको’ दाबी गरेका छन् । र, आफूले विद्रोहात्मक राजीनामा दिएको उनले दाबी गरेका छन् ।

तत्कालीन एमाओवादी पार्टीले आफूलाई विना छानविन आरोप लगाएको वलीले दाबी गरेता पनि उनले जेठी घरमा श्रीमती हुँदाहुँदै तिनै रेडियोकर्मीलाई कान्छी श्रीमतीका रुपमा स्वीकार गरेका छन् र हाल उनीहरुका तर्फबाट एक सन्तानसमेत छन् ।

वलीले जेठी श्रीमती वीरमाली खड्कालाई पनि अंश दिएर मिलाएर राखेका छन् । वीरमालीसँग सुदर्शनको विवाह ०३९ सालमा भएको थियो । उनीहरुबाट जन्मेकी छोरीले जनयुद्धका क्रममा सहादत पाइन् ।

सुदर्शनको पक्राउले विप्लव समूहलाई के असर गर्ला ?

विप्लव समूहको तेस्रो वरियताका नेता पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलताका रुपमा लिएको छ । यसले उनीहरु कति कमजोर छन् भन्ने स्पष्ट बनाएको प्रहरी अधिकारीहरु अनौपचारिक कुराकानीमा बताउँछन् । ‘समूहमा वैचारिक नेताको छवि बनाएका उनी पक्राउ परेपछि विप्लव समूह अब झन् धरासयी बनेको छ’, प्रहरी अधिकारी भन्छन् ।

यो पनि पढ्नुहोस विप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

तर, विप्लव समूहका नेताहरु भने उनको गिरफ्तारीले पार्टीको आन्दोलनमा खासै फरक नपर्ने दाबी गर्छन् । ‘एकतामा आएपछि उहाँलाई महत्वपूर्ण भूमिका दिइएको हो’, विप्लव समूह स्रोत भन्छ, ‘वलीको गिरफ्तारीले हाम्रो लडाइँमा खासै प्रभाव पर्दैन ।’

यद्यपि, समूहका एकजना शीर्षनेता पक्राउ पर्नुले विप्लव समूहलाई मनोवैज्ञानिक असर भने पक्कै पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment