Comments Add Comment

विप्लवका नेता भन्छन्- बम हान्दा मरेकालाई राहत दिन्छौं, प्रहरी भन्छ- बोल्न सक्दैनौं !

१३ फागुन, काठमाडौं । शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम बिस्फोटनमा एकजना निर्दोष नागरिकको मृत्यु भयो, दुईजना घाइते बने । यो घटनामा कसको संलग्नता छ भनेर प्रहरीले खोजिरहेकै बेला आइतबार बीबीबी नेपाली सेवामा अडियो वार्ता प्रसारण भयो, जसमा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले बम विस्फोट जिम्मा लिँदै बटुवाको मृत्यु भएको स्वीकार गरे ।

गृहमन्त्रालयमा बसेको उच्चस्तरीय सुरक्षा बैठकले यो घटनालाई विप्लव समूहले राजनीतिक आवरणमा हिंसात्मक गतिविधि गर्न थालेको निष्कर्षका रुपमा विश्लेषण गर्‍यो । त्यसलगत्तै गृहमन्त्रालयको निर्देशनअनुसार प्रहरीले विभिन्न जिल्लाबाट २६ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लियो ।

भलै नख्खुमा निर्दोष व्यक्तिको ज्यान जाने गरी विस्फोट गराउने व्यक्तिको गिरफ्तारीबारे प्रहरीले अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन । एनसेलका दुई कर्मचारीलाई पक्रेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसका अतिरिक्त प्रहरीले देशैभरिबाट विप्लव समूहका कार्यकर्तालाई गिरफ्तार गर्ने अभियान चलाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदी भन्छन्, ‘विभिन्न जिल्लाका सम्बन्धित जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिएका व्यक्तिहरुमाथि सोधपुछ गरिरहेको छ ।’

प्रहरी स्रोतका अनुसार अहिले नेपाल प्रहरीको केन्द्रदेखि सबै प्रदेश र ७७ वटै जिल्लामा रहेका प्रहरी कार्यालयहरुले विप्लव समूहका नेता-कार्यकर्ता खोजी, अनुसन्धान तथा निगरानी थालेका छन् ।

विप्लव समूहका केही नेताले सञ्चार माध्यमसँग कुराकानी गर्दै घटनाको जिम्मेवारी लिइसकेका छन् । तर, प्रहरी अधिकारीहरु भने त्यसैका आधारमा विप्लव समूहको संलग्नता पुष्टि गर्न तयार छैन ।

आम जनमानसमा सघन प्रश्न के उठिरहेको छ भने नख्खुमा गराइएको बम बिस्फोटनमा भएको मानवीय हताहतीबारे सरकारले विप्लव समूहमाथि कस्तो कानुनी कारवाही चलाउला ? कि यो घटनालाई ‘राजनीतिक’ ठानेर सरकारले उन्मुक्ति दिन्छ ?

गृहमन्त्री रामबहादुर थापा बादल ‘अपराधीहरुलाई कानुनको कठघरामा ल्याइन्छ’ भनिरहेका छन् । नख्खुको घटनामा गृहमन्त्री थापा स्वयम्ले आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सामानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले नख्खु घटना घटाएको दाबी गरेका छन् ।

उता विप्लव समूहका नेता हेमन्तप्रकाश वलीले भने बीबीसीको अन्तरवार्तामा गृहमन्त्री बादललाई नै ठाडै चुनौती दिँदै भनेका छन्, ‘प्रचण्ड, बाबुराम र बादलहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्, तिनीहरुलाई सजायँ हुनुपर्छ ।

यसै सन्दर्भमा नख्खु बिस्फोटनको जिम्मेवारी विप्लव समूहले लिइसकेको अवस्थामा अब प्रहरीले उनीहरुमाथि कस्तो कारवाही चलाउँछ भनेर हामीले नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग चासो राख्यौं ।

यो पनि पढ्नुहोस नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम

हामी यसै बोल्न सक्दैनौं : प्रहरी

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले नख्खु घटनामा संलग्नहरुको पहिचान भइसकेको दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘घटनामा संलग्न भएकाहरुको पहिचान भइसकेको छ । तथ्यले प्रमाणित गरेर योजनाकारदेखि सबैलाई नियन्त्रणमा लिन्छौं र सार्वजनिक गर्छाैं ।’

प्रहरीका अर्का एकअधिकारी चाहिँ सञ्चार माध्यममा आएको कुराले मात्रै आधिकारिकता प्रमाणित नहुने तर्क गर्छन् । ती अधिकारी भन्छन्, ‘घटनाको जिम्मेवारी लिएको कुरा त सञ्चार माध्यममा आएका छन् । तर, सुरक्षा निकायले त्यसलाई आधिकारिक मान्दैन । कि त आधिकारिक विज्ञप्ति नै आउनुपर्‍यो । नत्र, प्रमाणले पुष्टि नगरेसम्म हामी यसै बोल्न सक्दैनौं ।’

पार्टीका नेताले अडियोसहित मिडियामा घटनाको जिम्मा लिइसक्दा समेत ती प्रहरी अधिकारी नख्खु घटनामा विप्लव समूहको संलग्नता पुष्टि हुने बलियो सबुत अझै फेला परि नसकेको बताउँछन् । उनी भन्छन्- ‘पक्राउ परेका एनसेलका दुई कर्मचारीको भूमिका संदेहात्मक त देखिन्छ, तर, उनीहरुको विप्लव समूहका अधिकारीहरुसँग लिंक भेटिएको छैन । हामीले यसमाथि प्राविधिक पाटोबाट पनि अनुसन्धानलाई जारी राखेका छौं ।’

यो पनि पढ्नुहोस बम बिष्फोटका घाइतेलाई गृहमन्त्रीले भेटे, सरकारले निःशुल्क उपचार गरिदिने

विप्लव माओवादी भन्छ- मृतकका परिवारलाई राहत दिन्छौं !

यसैवीच विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीले बीवीसी नेपाली सेवालाई आइतबार दिएको अन्तरवार्तामा नख्खुको बम बिस्फोटनको जिम्मा लिएका छन् । बाटो हिँड्दै गरेका मानिसलाई बमले लागेकोका दुःख प्रकट गर्दै उनले मृतकका परिवारलाई आफ्नो तर्फबाट राहत दिने वलीले बताएका छन् ।

वलीले बीबीसीसँगको फोन वार्तामा भनेका छन्- ‘अब यस्तो, क्रान्तिका दौरानमा सानातिना घटनाहरु हुन्छन् । …जुन बटुवा, त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं ।’

बीबीसी र हेमन्तप्रकाशवीचको कुराकानी जस्ताको त्यस्तै-

 

बीबीसी- एउटा बटुवा बाटो हिँडिराख्दा, घर जान लागेको मान्छे, घर पुगेन, ज्यान गुमायो अनाहकमा । यसलाई सानोतिनो घटना भन्न मिल्छ ?

हेमन्तप्रकाश– हैन, हामीले त्यस्तो भनेकै छैनौं ।

बीबीसी- अहिले भर्खर तपाईले सानोतिनो घटना हुन जान्छ भन्नुभयो ।

हेमन्तप्रकाश- यस्तोचाहिँ घटनाहरु हुन सक्छन्, हैन ? तर, चाहिँ हामीले यो कुनै निशाना हैन । जुन, बटुवा, जो मानिसचाहिँ त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं ।

बीबीसी- यसरी दुःख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त हेमन्तजी ?

हेमन्तप्रकाश- त्यसो त तपाईको चाहिँ सिरियाका लाखौं जनताको त ज्यान र्फकँदैन नि ।

बीबीसी- हेमन्तजी, तपाईकै शब्द सापटी लिनुपर्दा कुनै कम्पनीले लुटेको छ भने राज्यका विभिन्न निकायहरु छन्, न्यायपालिका छ । यहाँभित्र दबाव दिने अथवा त्यसरी बम बिस्फोट गराएर अनि त्यो के फर्किन्छ ? त्यसरी तपाईले भनेको उद्देश्य या ध्येय प्राप्त हुन्छ ?

हेमन्तप्रकाश- तपाईले के बुझ्नोस् भने न्याय पालिका अथवा सरकारका कुनै पनि निकायले त्यसप्रति ध्यानै दिएनन् । स्वयं न्यायालय नै त्यसबाट प्रभावित हुने….

बीबीसी- यहीँनेर रोक्न खोजें हेमन्तजी, त्यसो भए एउटा पार्टी नै राज्य, व्यक्ति नै न्यायपालिका हुन पाउँछ ?

हेमन्तप्रकाश- हैन, यो राज्य अन्यायपूर्ण छ भनेर हामीले त्यसका विरुद्ध वैकल्पिक र प्यारालाल राज्यकै घोषणा गरिसकेका छौं ।

बीबीसी- सरकारले तपाईहरुले भनेकै शब्लमा यो वैकल्पिक राज्यले अनाहकमा ज्यान लियो नागरिकको, ठाउँठाउँमा विस्फोट गरायो, यसको चाहिँ कडाभन्दा कडा कारवाही गर्छौं भनेर भनेको छ राज्यले । अब त्यो कारवाहीका लागि तयार हुनुहुन्छ तपाईहरु ?

हेमन्तप्रकाश- यसरी सरकारले चाहिँ फेरि न्यायपूर्ण कार्यलाई अन्यायपूर्ण तरिकाले चाहिँ आउन थाल्यो भने नेपाली जनताले चाहिँ नराम्रोसित प्रतिरोध गर्नेछन् । यसको साथसाथै राज्यसत्ताबाटै लखेटेर नयाँ राज्यसत्ता पूर्णरुपमा स्थापित गर्नेछन् ।

बीबीसी- तपाईले कुन नेपाली जनताको कुरा गर्नुभयो ? त्यो विस्फोटको सर्वत्र निन्दा र भत्सर्ना हुँदैछ, ती चत्सर्ना गर्ने नेपाली जनता हैनन् ?

हेमन्तप्रकाश- हैन, हामीले त भनिसक्यौं त, हामीले मुख्य काम जे गर्न खोजेका थियौं, त्यसमा चाहिँ केही त्रुटीहरु हुन गए । ती जुन नेपालीले ज्यान गुमाए, त्यसप्रति चाहिँ दुख प्रकट गर्दै उहाँको परिवारको राहतका लागि हामी आफ्नो तर्फबाट कदम अगाडि बढाउने छौं ।

बीबीसी- अब अन्त्यमा हेमन्तजी, तपाईहरुले भन्ने गरेको यो क्रान्तिका लागि अझ कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ ? र, जसको बलिदानीको उपलब्धीमा टेकेर तपाईहरुले राजनीतिक स्वार्थ पूरा गर्नुहुन्छ…

हेमन्तप्रकाश- हैन, योचाहिँ कुरा हामीले आज प्रचण्ड र बाबुरामहरुलाई पनि सोध्नुपर्छ । बादलहरुलाई पनि सोध्नुपर्छ । किनभने उनीहरुले चाहिँ अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्, तिनीहरुलाई सजायँ हुनुपर्छ । र, हामीचाहिँ यस्ता कमी कमजोरीहरु हुन नदिनका लागि पूर्णरुपले सचेत हुनेछौं ।

बीबीसी- तपाईहरुले वार्ताको कुरा पनि गर्नुभएको छ, यो वार्ता चाहिँ सरकारलाई अल्झाउने खेल त होइन नि ।

हेमन्तप्रकाश- हामीले वार्ताको कुरा गरेका हैनौं, उनीहरुले गरेको वार्ताको कुराको जवाफ कहिलेकाहिँ दिने गरेका छौं ।

बीबीसी- तपाईहरु शान्तिपूर्ण तरिकाले समस्याको समाधान होस् तपाईहरुका माग सम्वोधन होस् भन्ने पक्षमा हुनुहुन्न ?

हेमन्तप्रकाश- हैन, हामी समस्याको समाधान होस् भनेर पर्खिराखेका छौं । तर, पनि कुनै समस्याको समाधान हामीले नदेखेपछि अगाडि बढ्नुको विकल्प छैन ।

बीबीसी- ए, त्यो पर्खिँदै गर्दा यता विस्फोट पनि गराइहाल्नुभो, वार्ताबाट निकास निस्कोस् भन्ने त्यतिसम्म कुर्न सक्नुभएन ।

हेमन्तप्रकाश- हैन, वार्ता गर्नै चाहँदैन सरकारचाहिँ । वार्ताको कुनै विषयवस्तु नै क्लियर छैन । अब हामीले वार्ता केमा गर्छौं भने १७ हजार मानिसले संसदीय व्यवस्थाका विरुद्ध बन्दूक उठाएर त्यहीँ काँधमा काँध मिलाउन जाने भनेका थिएनन् । त्यस्तै किसिमले हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौं, त्यो चाहिँ यथावत रहनुपर्दछ । हामीसित ४० हजार जनमुक्ति सेना बनेको थियो, त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्दछ । त्यो किसिमले वार्ता गर्ने भएचाहिँ हामी तयार छौं ।

बीबीसी- विगतको नेतृत्वले गल्ती गर्‍यो भनेर आफैंले भन्नुभयो । र विगतको नेतृत्वले जुन काम गर्‍यो, जुन बाटोमा हिँड्यो, त्यही बाटो तपाईहरु अपनाउँदै हुनुहुन्छ, तीभन्दा तपाईहरु कसरी फरक हुनुभयो ?

हेमन्तप्रकाश- जुन बाटोमा हामी अघि बढिराखेका थियौं, आमूल परिवर्तनको बाटोमा, क्रान्तिको बाटोमा, वर्ग संघर्ष छाडेर वर्ग समन्वयनतिर लाग्यो र प्रतिक्रियावादीहरुसित साँठगाँठ गरेर चाहिँ सत्तामा पुगेको छ ।

बीबीसी- कतिपयले त के भन्ने गरेका छन् भने तपाईहरुले केही चन्दा माग्नुहुन्छ, मोटो रकम माग्नुहुन्छ, त्यो रकम नपाएपछि तपाईहरुले बिस्फोट गराउने गर्नुहुन्छ । तपाईहरुको यो कुनचाहिँ वाद हो ?

हेमन्तप्रकाश- अब हामीले के बुझौं भन्दाखेरि योचाहिँ भ्रमतिर कोही पनि लाग्न हुँदैन कि हामी कसैबाट मोटो रकम लिनका लागि यस्तोखालको क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिराखेका छौं । योचाहिँ असाध्यै भ्रमपूर्ण कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment