Comments Add Comment

नदेखिएको चाँदीको घेराः विकसित पोखराको साक्षी गाउँ

९ चैत, पोखरा । शिवलाल पराजुली चापाकोटको डाँडाबाट पोखरा नियाल्छन् र गम खान्छन्, ‘परिस्थिति क्या उल्टो बन्यो ।’ त्यो असुरो, टाप्रेघारी र झाडी महलै महलको घारी बन्छ भन्ने के थाहा ?’ उनी सम्झन्छन्, जतिबेला पोखरा प्रायः सुनसान र गाउँ गुल्जार थियो ।

शिवराज फेवातालको किनारै-किनार बाबुआमाका हातका औंला समाएर किनमेल गर्न झर्दा पोखराले विकासको हात समाएकै थिएन । अहिलेको व्यस्त र मुख्य बजार क्षेत्र रहेको पोखराको ताल किनारमा घुमाउने र झुप्रा घर थिए । कतिकति टिनले छाएका । मान्छेको चहलपहल हुँदैनथ्यो । महेन्द्रपुल, नालाको मुख लगायत क्षेत्रमा किनमेल गर्न शिवराज बुबाआमासँग पुग्थे ।

शिवराज २० को दशकको पोखरा सम्झन्छन्, ‘त्योबेला गाउँमा मान्छे पोखरा जान रुचाउँदैनथे । छोरी दिनसमेत चाहँदैनथे । औलोको डर हुन्छ भन्थे । कतिकति घर, कताकति खेती । धेरै त झाडी नै झाडी ।’

सबैखाले सुविधाले छुँदै गएपछि पोखराले बिस्तारै रुप फेर्दै गयो । मान्छे जान डराउने झाडी पनि हेर्दाहेर्दै कंक्रिटको घारी बन्यो । फेवाको पानी खाएर हुर्किने र बस्नेहरुका दिन आए । फेवाताल बचाउने चापाकोटको काखबाट बग्ने हर्पन खोला किनारकाले विकासको स्वाद चाख्नै पाएनन् । फेवातालको तल्लो तटीय किनारमा आकास ताकेर महल ठडिए ।

पोखरालाई उपत्यका बनाउने डाँडाँमध्येको एक हो, चापाकोट । आँखा जुधाएर बसेको पल्लो डाँडा सराङकोटले रुप फेर्‍यो । हावामा कावा खाँदै प्याराग्लाइडिङ उडाउने सराङकोट समृद्ध भयो, हुलका हुल पाहुना भित्रायो । सँगै कुम जोडेर बसेको पुम्दीभुम्दी डाँडो टेक्न संसारभरिबाट आउन थाले । शान्तिस्तुप बनेपछि पुग्दीभुम्दी कोटले पनि रुप फेर्दै गयो । विकासको भोक मेट्न नपाएको चापाकोट पोखराको विकासको साक्षी बनिरहृयो ।

शीरमा पञ्चासे, काखमा फेवाताल राखेको चापाकोट आफैं भने रित्तिँदै गयो । सुविधा, पूर्वाधार र जनसंख्यालगायत सबै कुराले पोखरा भरिँदै र चापाकोट रित्तिँदै गर्दा शिवराज जिब्रो टोक्छन् । ‘पोखराभन्दा यहीँ ठीक छ भन्ने चापाकोटेहरुको दुख कसले बुझ्ने ?’ पूर्व प्रधानपञ्च तथा गाविस अध्यक्षसमेत रहेका शिवराज सुनाउँछन्, ‘म झन्डै ७० वर्ष पुगें । तर, थोरै समयले नै मान्छेको भाग्य रेखा बदल्दो रहेछ ।’

शिवराजकै नेतृत्वमा चापाकोटको फेदीमा स्कुल खुल्यो । गाउँका अगुवाहरुको नेतृत्वमा ०५० सालमै बाटो खनियो । तर, त्यही बाटो भएर गाउँ छाड्नेहरु हिँडे, विकास पुगेन । चापाकोट बादलमा नदेखिएको चाँदीको घेराजस्तो बनिरहृयो । फेवाताल तल्लो तटीय क्षेत्र हुँदै किनारैकिनार हर्पन खोला शीरतिर उक्लिँदै गरेको विकास एक पटक चापाकोट उक्लन्छ भन्ने विश्वासमा स्थानीय छन् ।

छोटो र रोमाञ्चक गन्तव्य

एक स्पेनिस् नागरिक हप्ता दिनदेखि चापाकोट घडेरीमा डेरा जमाएर बसिरहेका छन् । त्यहाँबाट प्रकृतिलाई मनैदेखि महसुस गर्नु र गाउँलेसँगै रमाउनु उनको दैनिकी बनिरहेको छ । आफ्नो देशमा कुक पेशा गरेर पैसा बचाउँदै उनी नेपाल आए । उनी उपयुक्त गन्तव्यको खोजि गर्दै चापाकोट घडेरी आइपुगे र रोमाञ्चक बनिरहेका छन् ।

एक हप्तासम्म बसिरहेका यी पर्यटकमात्रै होइन, पोखरादेखि एक हुल युवा शुक्रबार चापाकोटको भ्यू प्वइन्टसम्म पुगे । उनीहरु हाइकिङमा गएका हुन् । चापाकोट लामो समय बस्नेदेखि कम समय भएका तर रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य बनाउन चापाकोट पर्यटन विकास समिति लागि परिरहेको छ ।

ठूलाखेत, ओखलढुंगा, घडेरी हुँदै भ्यू प्वाइन्टसम्म पुग्दा पर्यटन क्षेत्रका क्रियाशील र हाइकिङमा रुचि राख्ने युवा पनि रोमाञ्चक बने । उहिलेको चिहान डाँडालाई अहिले भ्यू प्वाइन्ट भन्न थालिएको छ ।

चापाकोटभरि अहिले एक गाउँ पनि गुरुङ छैनन् । त्यहाँबाट सबै गुरुङहरु मार्की भन्ने ठाउँमा बसाईं सरे । अहिले त्यही चिहानडाँडालाई गाउँलेले भ्यू प्वाइन्ट नाम दिएर पर्यटक बोलाइरहेका छन् । जहाँबाट पोखरा, ताल, हिमाल र प्रकृतिको स्पर्शमा रोमाञ्चक हुन पाइन्छ ।

आँखाभरि अटाउने फेवाताल र पोखरा । उत्तरतर्फ चिसो हम्कने हिमाल र जन्मँदै गरेको बिहानको सूर्य हेर्न चापाकोट उत्कृष्ठ गन्तव्य भएको पर्यटन बोर्डका प्रवन्धक सूर्य थपलियाको भनाइ छ । हाइकिङ र पोखरादेखि जम्मा १२ किलोमिटरको दूरीमा रहेको चापाकोट छोटो र रोमाञ्चक गन्तव्य भएको उनको भनाइ थियो ।

‘कम समय भएका, हिँड्न मन पराउने, प्रकृति र स्थानीय संस्कृतिको स्वाद लिन चाहनुहुन्छ भने चापाकोट आउनुस्,’ पर्यटन विकास समितिका अध्यक्ष भीम पराजुली निम्तो बाँड्छन् । पोखरादेखि ७ किलोमिटर गाडी गएर हर्पन खोलामा बनेको नयाँ पुल हुँदै चापाकोटका गाउँहरु पुग्न सकिन्छ ।

पर्यटक बोलाउन समिति र होमस्टे

चापाकोटको विकास र पर्यटन प्रवर्द्धन गर्न युवादेखि बुढाबुढीसम्म लागि परेका छन् । ओखलढुंगा, रैकर, घडेरी र मगर गाउँ लगायतलाई जोडेर पर्यटन विकास गर्न गाउँले संगठित भएर चापाकोट पर्यटन विकास समिति गठन गरेका छन् भने ४ गाउँलाई समेटेर होमस्टे चलाएका छन् ।

युवा भीम पराजुलीको नेतृत्वमा गठन भएको समितिले चापाकोटको विकासमा नेतृत्व गरिरहेको छ । गाउँका होमस्टेमा पर्यटन जान थालेपछि स्थानीयको आशा र विश्वास पनि बढेको छ । गाउँसम्म पर्यटन लैजाने, पर्यटनका क्षेत्रमा सहभागिता जनाउने र विकास तथा पूर्वाधार निर्माणमा नेतृत्व गर्ने काम समितिले गरिरहेको छ । गाउँमा पुगेका पर्यटकलाई गाउँको स्वाद पस्किएर स्वागत गर्ने काम होमस्टेले गरिरहेको चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विष्णु पराजुलीले बताए । अहिले १२ घरमा होमस्टे सञ्चालित छ ।

शान्तिस्तुपा, भुम्दीकोट हुँदै पनि जान सकिने, पामे वा ठूला खेत हुँदै पनि पुग्न सकिने र पञ्चासे रुटमा पनि पर्ने भएकाले यहाँको होमस्टेको सम्भावना धेरै रहेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीका निवर्तमान अध्यक्ष तारानाथ पहारीले बताए ।

होमस्टे चलाउनु एकातिर राम्रो भए पनि जोगाइराख्न र टिकाइराख्न भने चुनौतिपूर्ण रहेको पर्यटन बोर्डका प्रवन्धक थपलियाको भनाइ छ । ‘पोखराको पर्यटनसँग यहाँको उत्पादन जोड्नुहोला । होमस्टेका नाममा लैनो भैंसी बेचेर होमस्टेका कोठा चाहिँ नबनाउनुहोला । गाउँको अर्गानिक चिज खान पर्यटक आउँछन्,’ थपलियाको सुझाव छ ।

रिसोर्ट र ठूलो लगानीको सम्भावना

चापाकोट नजिकैको डाँडाखर्कमा एउटा पुरानो घर छ । पर्यटन व्यवसायी डम्बर पुनले पुरानो शैलीको घरलाई परिमार्जन गरेका छैनन् र नाम दिएका छन्, ‘ब्याक टु नेचर’ । बस्ने, खाने र योगालाई समेत जोडेर उनले ब्याक टु नेचर चलाइरहेका छन् र त्यो पर्यटकको आकर्षण बनेको छ ।

आकर्षण र लगानीको सम्भावना रहेको यस्तै ठाउँ हो, चापाकोट । युनिटी इको भिलेज, विभिन्न कटेज चापाकोट क्षेत्रमा बन्न थालेका छन् । तर, चापाकोट पर्यटन विकास समितिले रिसोर्टलगायत ठूला लगानीकर्तालाई बोलाइरहेको छ । ‘अब पोखराले मात्रै धान्न सक्दैन । अबको पर्यटकको रोजाइ गाउँ हो । यदि गाउँगाउँको विकास गर्ने हो भने यस्ता क्षेत्रमा लगानी हुनुपर्छ भनेर वातावरण बनाइरहेका छौं,’ समितिको अध्यक्ष भीम पराजुलीले भने ।

पोखराभन्दा बाहिर प्रकृति र संस्कृतिसँग रमाउने पर्यटकलाई लक्षित गरेर रिर्सोटमा लगानी हुने सम्भावना गाउँ चापाकोट भएको सांसद राजीव पहारी बताउँछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चापाकोटजस्ता डाँडाँ-डाँडामा रिर्सोट खोल्न आहृवान गर्दै आएका छन् ।

गण्डकी प्रदेश सभा सदस्य पहारीले अब फेवातालको माथिल्लो तटीय क्षेत्रमा विकास चाहिएको बताए । फेवाताल बचाउनका निम्ति पनि माथिल्लो तटीय क्षेत्रमा लगानी र विकास चाहिएको पहारीको भनाइ छ । ‘पहिले स्याल कराउने पोखरा लेकसाइड अहिले दशौं गुना बढेको छ । अब त्यसलाई के विकास गर्नुपर्‍यो,’ पहारीले भने, ‘फेवाताल जोगाउन लेकसाइडको विकास गरेर हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment