News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा कुशल मल्लको अविजित ९० रनको मद्दतमा बागमतीले दिएको २०९ रनको लक्ष्य ७ विकेटको क्षतिमा पूरा गर्यो।
- कुशल मल्लले अन्तिम २ ओभरमा ३५ रन आवश्यक हुँदा ५ छक्का प्रहार गरी आर्मीको जित सुनिश्चित गरे।
- बागमतीले ४ खेलमा तेस्रो हार बेहोरेको छ भने आर्मीले ४ खेलमा ३ जित र एक खेल नतिजाविहीन खेलेको छ।
१५ चैत, काठमाडौं । कुशल मल्लको शानदार ब्याटिङ मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ ।
२८ ओभरमा घटाइएको खेलमा बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले एक बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
मल्लले ५८ बलमा ३ चौका र ८ छक्कासहित अविजित ९० रन बनाए । ओपनर तृतराज दासले ५४ अनि नरेन साउदले २६ रन बनाए ।
बलियो लक्ष्य पछ्याउने क्रममा ११८-५ को अवस्थामा पुगेको आर्मीका लागि मल्लले उत्कृष्ट प्रदर्शन गरे । अन्तिम २ ओभरमा ३५ रन आवश्यक हुँदा मल्लले एक्लै ५ छक्कासहित ३३ रन बनाए । एक रन वाइड अनि एक रन शाहबले जोडे ।
२७औं ओभरमा सन्दीप लामिछानेलाई ३ छक्कासहित २२ रन प्रहार गरेका कुशलले त्यसपछिको ओभरमा रिजन ढकाललाई एक चौका र एक छक्का प्रहार गर्दा २ रन जोडे । १ रन वाइड र १ रन शाहबले जोडे ।
सन्दीपले कुशलको इनिङको प्रंशसा गरे । ‘कुशल नेपालको उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनको आजको इनिङ तारिफयोग्य छ’ सन्दीपले भने ।
आफूले गरेको २७औं ओभर नै खेलको निर्णायक ओभर बनेको सन्दीपको भनाइ थियो । ‘विपक्षी टिमलाई रन चाहिएको थियो, टप एजमा विकेट निकाल्न सकिन्छ कि भनेर गूग्ली बल फाल्ने प्रयास गरेको थिएँ, सफल भएनौं । कुशल धेरै राम्रो खेले’ सन्दीपले थपे ।
बागमतीका लागि इशान पान्डे र बिबेक मगरले २-२ विकेट लिए भने रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो ।
आशुतोष घिरैयाले सर्वाधिक ३८ रन बनाए भने पवन थापाले ३५, बिबेक मगर र सोनु देवकोटाले समान ३० रन बनाए ।
आर्मीका लागि नरेन साउदले ४ विकेट लिए भने शाहब आलम, दुर्गेश गुप्ता र बसिर अहमदले १-१ विकेट लिए ।
प्रतियोगितामा आर्मीले ४ खेल खेल्दा ३ जित निकालेको छ भने एपीएफसँगकोएक खेल नतिजाविहीन भएर अंक बाँडेको थियो ।
बागमतीले भने ४ खेल खेल्दा तेस्रो हार बेहोरेको छ ।
प्रतिक्रिया 4